बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
मैले यस्तो जरुर भन्ने गर्थेँ कि बरु मेरो प्राण निस्केला तर उनी निस्किन्थिइनन् । जब उहाँले मलाई पिट्नुहुन्थ्यो, बच्नका लागि मैले केही चिज प्रयोग गर्थिनँ ।
म पर्खालजस्तै आँगनमै ठिङ्ग उभिन्थेँ । लाग्थ्यो मलाई कसैले हल्लाउनै सक्दैन । म कुनै देवता र अस्त्र पनि थिइनँ कि उहाँको गाली र लट्ठीको जवाफ दिन सकूँ । ती कुरा मेरो शरीर र आत्मामा नआउने त होइन, तर लुकेर बस्थे ।
म आँखा पूरा खोलेरै उभिन्थेँ । म एकपटक पनि आँखा झिमिक्क गर्न चाहन्नथेँ । म एउटा दृश्य पनि नगुमोस् भन्ने चाहन्थेँ । जब उनीहरु थाक्थे, म भन्ने गर्थेँ कि म मर्छु कि क्या हो । तब म शान्त हुन्थेँ कि मलाई ठिकैसँग कुटिएको रहेछ । उनीहरुले मलाई छोडिदिन्थे र आमाको कोठाको ढोका खोलिदिन्थे । आमा रोइरहेकी हुन्थिन् । लाग्थ्यो उनी आफ्नै गल्तीको प्रायश्चित गर्दैछिन् । तब म हाँसिरहेको हुन्थे । उनीसँग कुरा पनि गर्दिनथेँ ।
मलाई ठिकसँग थाहा छैन, मैले पहिलो पटक आमालाई कहिले देखेँ । जुन दृश्य मलाई सम्झना छ, त्यो नुहाउँदाको हो । त्यो दृश्य मलाई ठिकसँग त थाहा छैन तर म आफू तावामा बसेको र उनी नुहाइरहेको हो जस्तो लाग्छ । मलाई यो भने पूरै सम्झना छ कि त्यो बाथरुमको अगाडिको भित्तामा दुई ठाउँमा इँटा झरेको थियो । उनले टीका र झुम्का उतारेर राख्छिन् । म त्यसलाई खाउँला जस्तो कोशिष गर्छु । उनले मलाई लड्नबाट बचाउँछिन् । त्यसपछि मैले भनिहाले नि बत्ती निभ्थ्यो ।
त्यो एउटा खेल थियो । म कोठाबाहिरको कुर्सीमा बस्ने गर्थे । जुन कोठाको ढोकामा अलि ठूलै टकटकटकटक आवाज आउने घडी झुण्ड्याइएको थियो । त्यतिबेला म समय अनुमान लगाउनै सक्थिनँ । तर अब भने लाग्छ कम से कम दैनिक एक डेढ घण्टा समय त बित्थ्यो होला । उनी मेरी सानिमा थिइन् । जो केही समयपछि मेरो बुवासँगै बाहिर निस्कन्थिइन् । कुनै शुभकार्य नै गरेजस्तै । मानौँ कि उनीहरुले भर्खरै भित्र दुनियाँ बनाउन सिकेका छन् । त्यसपछि बुवाले मलाई एक घण्टा कोठाबाहिरै बसेको एक रुपैयाँ दिनुहुन्थ्यो । अनि उहाँ पलङमा पल्टनुहुन्थ्यो ।
सानिमा भान्छाकोठामा जान्थिन् । कुनै गीत गुनगुनाउँदै उनी चिया पकाउँथिन् । खाली एउटै गीत गाएको सुनेर मलाई अति झर्को लाग्थ्यो । कम से कम एक महिनासम्म पनि एउटै गीत । अनि कसलाई पो झर्को नलागोस् । त्यो गीत पूरै त मलाई सम्झना छैन । तर गीतमा पायल शब्द भने अवश्य आउँथ्यो । पछि मेरो कक्षामा पायल नामकी एउटी केटी थिइ । उसलाई म एकदमै घृणा गर्थेँ । एकपटक मैले उसलाई बेस्सरी हान्ने प्रयास पनि गरेँ ।
सानिमा मेरी आमाकी बहिनी थिइन् । यो कुरा थाहा पाउन मलाई धेरै समय लाग्यो । मलाई त उनी मेरो बुवाको कोही खास लाग्थ्यो । उनी जब आएकी थिइन्, मेरा लागि भाइ वा बहिनी ल्याउनका लागि एउटा कोठामा गएकी थिइन् । उनले भाइबहिनी ल्याउन त सकिनन् नै आफू पनि त्यही कोठामा एक वर्षसम्म बसिरहिन् । सानिमालाई हेर्दा यस्तो लाग्थ्यो कि उनले जे छुन्छिन्, त्यही चिज पग्लिन्छ । उनी चारवटा रोटी, सलाद र दही खाइसकेकी हुन्थिन् तर पनि उनी भोकै भएजस्ती देख्निथिइन् र रोलिन् जस्तै पनि ।
फेरि अचानक एक दिन घडीवाला ढोका भएको कोठाभित्र मैले बुवाको हात उनको कुर्ताभित्र देखेँ । बुवाले मलाई देख्नुभयो । उहाँ म भएतिरै दौडिँदै आउनुभयो । म भागेँ, मानौँ कि मैेले चोरी गरेको छु । तर घर ठूलो थिएन, घरबाट बाहिर जान मलाई खै मनै लागेन । बुवाले मलाई समात्नुभयो र दनादन दनक दिन थाल्नुभयो । उहाँले मलाई बाथरुममा बन्द गर्दिनुभयो । बुवाले मलाई मुक्का हान्दै हुनुहुन्थ्यो । म यताउता दौडिन खोज्थेँ । आमा भने ओछ्यानबाट मलाई हेर्दै रोइरहनुभएको थियो । यो नै उहाँका लागि सजिलो थियो । कहिले सिरकबाट टाउको निकालेर त कहिले सिरकले टाउको छोपेर ।
तपाईँलाई थाहै छ कि म बाथरुममा कतिबेर बन्द भएँ, मलाई कुनै अनुमान छैन । तर म सम्झन्छु कि जब म निस्केँ, सानिमा खाना बनाइरहेकी थिइन् । उनले मलाई काखमा लिएर चुमिन् ।
अर्को दिन स्कुलबाट फर्केर मैले बुवासँग सरी भनेँ । त्यसपछि उहाँले मलाई एक रुपैयाँ दिनुभयो र भन्नुभयो कि अब हरेक दिन उहाँ सानिमासँग बाहिर ननिस्केसम्म म बाहिरै बसूँ । कोही पनि भित्र नजाओस् भन्ने कुराको पनि हेक्का राख्न मलाई भनियो । कोही आइहाल्यो भने सिठ्ठी बजाएर इशारा गर्न बुवाले मलाई सिकाउनुभयो । मैले सिठ्ठी बजाउन जान्दिनँ भनेँ । बुवाले सानिमासँग कुनै अरु नै इशाराले काम गर्छ कि भनेर सोध्नुभयो । सानिमाले मैले ढोका बजाउँदा हुन्छ भन्नुभयो ।
यसरी मैले डेढ सय रुपैयाँ कमाएँ । त्यतिबेलासम्म आमालाई अलि ठिक भैसकेको थियो । उहाँ घरको काम गर्न सक्ने भैसक्नुभएको थियो । त्यसलै सानिमाको अलिअलि बेइज्जत गर्दै घर फर्काइदिनुभयो । मलाई यति चाहिँ सम्झना छ कि आमाले आफ्नो रामजस्तै श्रीमानलाई सानिमाले जालमा फसाएको आरोप लगाउनुभयो । बुवा त्यसदिन सबै थाहा पाएरै पनि बाहिर जानु भएको थियो ।
सानिमालाई बसपार्कसम्म छोड्ने पनि कोही भएन । उनी मलाई अँगालो हालेर रोहिरहिन् । उनले गर्मी बिदामा मलाई भेट्न आउने वाचा गरिन् । त्यसपछि उनी गइन् । एक्लै, आफ्नो झोला उठाएर । म अचानक यति उदास भएँ कि आफ्नो ब्याट उठाएर त्यो कोठाको झ्याल फुटाइदिएँ । जुन कोठाबाहिर म सधैँ एक रुपैयाँ लिएर बसिरहन्थेँ । फेरि म सानिमालाई बसपार्कसम्म पुर्याउन गएँ । झोलाको एउटा तना सानिमाले समातिन्, एउटा मैले । उनको ओठ कुहिरोमा हराएको जस्तै थियो । उनको वाक्य फुट्दै फुटेन ।
सानिमालाई बसपार्कसम्म पुर्याएर म घर फर्केँ । आमा रिसले चुर हुनुहुन्थ्यो, चप्पलले मलाई हान्नुसम्म हान्नुभयो । घरको भित्तामा सानिमाका जति पनि तस्बिर थिए, सबै निकालेर फाल्दिनुभयो । बैठक कोठाको ढोकामा ‘वेलकम’ लेखेको एउटा पोस्टर थियो । जुन पोस्टरमा एउटी महिला दुवै हातमा फूल लिएर कसैको स्वागतसत्कारका लागि तमतयार भएर बसेकी थिइन् ।
आमाले फेरि बुवाको ख्याल गर्न थाल्नुभयो । जब म स्कुलबाट फर्किन्थेँ, ढोकाबाहिरबाट दुवैको हाँसोको फोहोरा सुन्थेँ । मलाई त आफ्नो पुनर्जन्म नै भएजस्तो लाग्थ्यो । बुवाआमाले मेरा लागि नयाँ नयाँ कपडा ल्याइदिन थाल्नुभयो । मलाई बजार घुमाउन लैजानुहुन्थ्यो । पूरै शहरका लागि हामी ‘सानो परिवार, सुखी परिवार’ का रुपमा चिनिएका थियौँ ।
सानिमा कहिल्यै फर्केर आइनन् । आमाले मलाई ठूला मान्छेको आदर गर्नुपर्छ भन्दै बुवासँग मुखमुखै नलाग्न भन्नुभयो । केही महिनापछि ‘वेलकम’ वाला पोस्टर निकालेर उहाँले आफ्नो विवाहको फोटो ढोकामा राख्नुभयो । त्यही बेला मैले एउटा पुस्तकमा पढेको थिएँ कि बाल्यकालको सम्झना अस्थायी हुन्छ र ठूलो भएपछि बाल्यकालका धेरैजसो कुरा बिर्सिइन्छ ।
एक साँझ खेलेर घर आइपुगेको थिएँ, बुवा हुनुहुन्थेन । आमा भान्छामा हुनुहुन्थ्यो । उहाँ एकदमै खुशी हुनुहुन्थ्यो । उहाँले मसँग भन्नुभयो, ‘बुवा कति असल हुनुहुन्छ है ?’ मैले भने, ‘हो नि ।’ म कोठाभित्र गएँ । कुर्सीनजिकै राखिएको सन्दूकमा चढेँ म । सन्दूकमाथि एउटा खाम थियो । त्यो निकालेँ मैले । त्यसभित्र एउटा प्याकेट थियो जसमा लेखिएको थियो, ‘बालबालिकाको पहुँचबाट टाढा राख्नुहोस् ।’ त्यो मुसा मार्ने औषधि थियो । मैले त्यो खल्तीमा हालेँ, अनि तल ओर्लिएँ । जब म बाहिर आएँ, बुवा आँगनको बीचमा कुर्सीमा बसिरहनुभएको थियो । सायद आज उहाँले म्यानेजरको गाली खाएर आउनुभएको थियो । मलाई देख्नेबित्तिकै कराउनुभयो, ‘कहिलेकाहीँ त पढ् । जतिखेर पनि मुसाझैँ घुमिरहन्छ ।’
यसरी उहाँ आफ्नो मृत्युको लागि आफै जिम्मेवार हुनुहुन्छ । यदि मलाई गाली गर्दा ‘मुसा’ शब्द प्रयोग नगरेको भए मैले उहाँको दूधमा मुसा मार्ने औषधि मिसाउँदिनथेँ । तर खेती स्याहारिसकेपछि चराहरु पछुताएर हुँदैन ।
अर्को दिन बिहान बुवाको पोस्टमार्टम तथा तथा शोक छाएको थियो । डाक्टरहरुले बुवाको ज्यान लिएको विष पत्ता लगाए । तर विष कसले पिलायो भन्ने कुरा थाहा पाउन भने एउटा बाबाकोमा जानुपर्यो । बाबाले कुनै बालकको औँलाको नङमा घटनाको पूरै भिडियो देखाइदिन्थे । बाबाले पहिले आफ्नो मुठ्ठीमा बालुवा लिन्थे । त्यसपछि त्यसलाई आफ्नो मुखनजिकै लगेर मन्त्र फतफताउँथे । अनि उनले कुनै बालकलाई अगाडि ल्याएर राख्न इशारा गर्थे ।
आमा लगातार रोइरहनुभएको थियो । उहाँलाई इशारा त थाहा भएन । मेरो काकाले काखमा उठाउँदै ती बाबाको अगाडि लगेर मलाई राखिदिनुभयो । ममाथि बाबाले बालुवा फ्ँयाके । त्यसपछि मेरो आँखामा आफ्नो हात राखेर केही मन्त्र पढे । अनि मेरो हत्केला अगाडि तान्दै सोधे कि मैले आफ्ना औँलाको नङमा के देखिरहेको छु ।
मैले सबै अँधेरो मात्रै देखेको बताएँ । हो, अब उज्यालो भयो । कुन ठाउँ हो ? क्यामेरा किन यही स्टीलको डिब्बामा मात्रै केन्द्रित छ ? अरे, यो त गुँडवाला डिब्बा हो, यो त हाम्रो भान्छाकोठा हो । म रोक्किरोक्की आफ्ना नङ हेरिरहेँ । त्यसपछि मैले आँखा बन्द गरेँ । सबैले मलाई नै हेरिरहेका थिए । उनीहरु मैले बोल्नेबित्तिकै हत्यारा फाँसीको फन्दामा पुग्छजस्तै गरेका थिए ।
मैले भनेँ, मैले जे देखेँ म भन्न सक्दिनँ । त्यसपछि सबैले पटक–पटक सोधे । आमा मेरो खुट्टामा लटपटिँदै, काकाले गाला मुसार्दै । त्यसपछि मैले भनेँः डिब्बाबाट गुँड निकालिसकेपछि आमाले डिब्बामुनि आलमारीबाट अखबारले बेरिएको एउटा प्याकेट निकाल्नुभयो । प्याकेट हरियो रंगको थियो, जसमा लेखिएको थियो, ‘बालबालिकाको पहुँचबाट टाढा राख्नुहोस् ।’ त्यसपछि आमाले प्याकेट खोल्नुभयो, स्टोभमाथि राखिएको दूधको गिलासमा उहाँले त्यो मिसाउनुभयो । त्यसपछि दूध र गुँडको डल्लो लिएर आमा भान्छाघरबाट बाहिर आउनुभयो । जहाँ बुवा हुनुहुन्थ्यो, बुवाले जुत्ता फुकाल्नुभएको थियो, मोजा चाहिँ थिएन ।
त्यसपछि म चुप लागेँ । आमाले बाबाको गर्दन समात्नुभयो । बाबाका चेलाहरुले आमालाई पिट्दै बाबालाई छुटाए । सबै फर्केर आए । नङमा देखिएको भिडियो अदालतमा प्रमाणका रुपमा पेस गर्न त सकिँदैनथ्यो । केही दिनपछि मैले पहिला प्रहरीमा अनि अदालतमा बयान दिएँ । बयानमा मैले आमाले दूधमा त्यो प्याकेटबाट पाउडर निकालेर मिसाएको देखेको थिएँ भनेँ । न्यायाधीशले सोधे, ‘तिम्रो बुवाआमा झगडा पनि गर्थे ?’ मैले भने, ‘अलिअलि । तर अंकल त्यो प्याकेटमा के थियो ?’
-नोभेम्बर २०११, आउटलुक हिन्दीमा प्रकाशित ‘बच्चों की पहुँच से दूर रखें’
अनुवाद : उपेन्द्रराज पाण्डेय
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
इञ्जिनियरिङका विद्यार्थी गौरव सोलंकीको कविता संग्रह सौ साल फिदाले नवलेखन पुरस्कार प्राप्त गर्नुका साथै राजस्थान पत्रिकाको सिर्जनात्मक पुरस्कार प्राप्त गरेका छन् । ग्यारहवीं ए के लड्के उनको निकै नै चर्चित कृति हो । कथा, कविता रचनाका अलावा उनले हिन्दी सिनेमाका लागि गीतहरु पनि लेख्ने गर्छन् ।