बझाङबाट भेडा/च्याङ्ग्रा चराउन चीनसम्म पुग्छन् गाेठाला

 कात्तिक १०, २०७७ सोमबार २०:५२:४६ | रासस
unn.prixa.net

फाइल फाेटाे

बझाङको हिमाली भेग साइपाल हिमाल क्षेत्रका पशुपालक किसानहरुको भेडा/च्याङ्ग्रा मासुका रुपमा खपत हुन थालेपछि दैनिकी नै परिर्वतन भएको छ ।

कुनै बेला खाद्यान्न ढुवानीमा बढी प्रयोग हुने च्याङ्ग्राहरु विगत पाँच वर्षयता काठमाण्डाै र पोखरा लगायतका शहरमा चाडपर्वका बेला बिक्री हुन थालेपछि बझाङको साइपाल गाउँपालिकामा व्यावसायिक रुपमा भेडा/च्याङ्ग्रा पालेर मनग्य आम्नादी गर्न थालेका छन् । दशैँका लागि ११२ वटा भेडा/च्याङ्ग्रा पोखरामा बिक्री गरेर फर्किने क्रममा धनगढी पुग्नुभएका साइपाल गाउँपालिका–१ धलनका उब्जन बोहराले यस पटक ३० लाख रुपैयाँको च्याङ्ग्राको कारोबार भएको बताउनुभयो ।

“साइपालबाट बिक्रीका लागि पोखरा पुगेका १२/१४ वटा ट्रक भेडा/च्याङ्ग्रा किनबेच भए”, बोहराले भन्नुभयो, “ यस पटक नयाँ व्यापारी पनि बझाङ्गबाट त्यहाँ पुगेको भेटिए ।”

उहाँले असार, साउन महिनामा आफूहरु भेडा/च्याङ्ग्रा चराउन साइपाल हिमालको पाटन हुँदै चीनको उरै भञ्ज्याङ नाका पारिसम्म वर्षौदेखि जाने गरेको बताउनुभयो ।

“उरै नाका वारितर्फ चीनको गोडोहाल्ना र बैँस भन्ने ठाउँमा हामीहरु हरेक वर्ष भेडा/च्याङ्ग्रा चराउन जान्छौं”, उहाँले भन्नुभयो, “ वर्षातपछि हिउँ पर्न सुरु भएपछि तल गाउँतिर झर्छौ ।”

साइपाल हिमालको पाटन र चीनको सीमावर्ती भूमिमा भेडा/च्याङ्ग्रा चराउँन जाँदा उतै टेन्टमा बास बस्ने गरेको उहाँले बताउनुभयो ।

“ चिनियाँहरु पनि अलि पहिलेसम्म हाम्रो क्षेत्रमा चौरीगाई चराउन आउथेँ ।” उहाँले चीनले उरैनाकासम्म आफ्नो भूमिमा यातायात सेवा विस्तार गरिसकेको बताउनुभयो ।

केही वर्षअघिसम्म डोटीको पेल्या लेकसम्म पनि बझाङ्गबाट भेडा/च्याङ्ग्रा चराउन आउने गरेको पशुपालक किसानहरुको भनाइ छ ।

“अहिले सो क्षेत्रमा रहेका सामुदायिक वनहरुले भेडा/च्याङ्ग्रा चराउन गएवापत प्रति भेडा एक सय रुपैयाँ राजश्व लिने गरेका छन्”, साइपाल गाउँपालिका–३ काँडाका मोहन बोहराले भन्नुभयो, “ भेडा/च्याङ्ग्रा पालनको व्यवसायमा लाग्ने कृषकलाई राज्यले पनि अनुदान र सहयोग गरेर प्रोत्साहन गर्नुपर्छ ।”

उहाँले आफू पनि ११० वटा भेडा/च्याङ्ग्रा पोखरामा बिक्री गरेर बझाङ्ग फर्किन लागेको बताउनुभयो । “पोखरामा बिक्री गर्न एक साता जति समय लाग्यो”, उहाँले भन्नुभयो, “ गाउँमा प्रायः स्थानीयको व्यवसाय भनेकै भेडा/च्याङ्ग्रा पालन गर्ने हो ।”

बझाङ्ग सदरमुकाम चैनपुरबाट साइपाल गाउँपालिका पुग्न दुई दिन पैदल हिड्नुपर्ने हुन्छ । त्यहाँसम्म पुग्न पैदल गोरेटो बाटो निर्माण भइसकेको साइपाल गाउँपालिकाले जनाएको छ ।

विगत चार वर्षदेखि चाडपर्वका बेला भेडा/च्याङ्ग्रा खरिद बिक्रीमा स्थानीयहरु सोही गोरेटो बाटो प्रयोग गर्ने गरेका छन । यस पटक स्थानीय किसानहरुले च्याङ्ग्राको तौल हेरेर १९ हजारदेखि २७ हजार रपैयाँसम्म खरिद गरेर पोखरामा ३० हजार रुपैयाँ भन्दा बढी मूल्यमा बिक्री वितरण भएको जनाएका छन ।

साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले त्यहाँका किसानहरुले वार्षिक रु डेढ देखि दुई करोडको भेडा/च्याङ्ग्रा बिक्री गर्ने गरेको बताउनुभयो । उहाँले भेडा/च्याङ्ग्रा पालनमा सक्रिय किसानहरुलाई संघ र प्रदेश सरकारबाट अनुदान वितरण गर्ने विषयमा कुराकानी भइरहेको बताउनुभयो । सो गाउँपालिकामा जडीबुटीको व्यापार चीनसित हुने गरेको छ ।

उहाँले चैनपुर–ताक्लोकोट सडक खण्ड निमार्णाधीन भएपनि कामको गति सुस्त भएको बताउनुभयो । “हाम्रो गाउँपालिकासित जोडिन अझै २/४ वर्ष लाग्ने देखिन्छ”, उहाँले भन्नुभयो, “ट्रयाक खोल्ने काम पुस, माघमा हिउँले र वर्षातमा पानीले प्रभावित हुन्छ ।”

उता चीनले भने उत्तरी नाकाको नेपाल–चीन सीमासम्म सडक सञ्जाल विस्तार गरिसकेको उहाँले बताउनुभयो । “पहिले नेपाल–चीन सीमाबाट तीन दिन हिडेर यो नाकाबाट कैलाश मानसरोवर तीर्थ यात्रामा जान्थे”, अध्यक्ष धामीले भन्नुभयो, “ चीनले सीमासम्म सडक ल्याएपछि एक दिनको यात्रामा पुगिन्छ ।” गाउँपालिकाबाट चीनसितको सीमानामा पुग्न तीन÷चार दिन लाग्छ ।

स्थानीयलाई मानसरोवर जान गाउँपालिकाको सिफारिसमा चीनले जान अनुमती दिने गरेको छ । “कोरोनाका कारण अहिले यो नाकाबाट आवागमन ठप्प छ”, धामीले भन्नुभयो, “ अरु बेला यहाँबाट वार्षिक २/३ हजार तीर्थ यात्रुहरु कैलाश मानसरोवर जाने गरेको रेकर्ड छ ।”

अन्तिम अपडेट: कात्तिक २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया