प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष द्विवेदीबीच भेटवार्ता हुँदै
मंसिर ७, २०८१ शुक्रबार
लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका ७ को छिनखोलाका बिर्खबहादुर तामाङ अहिले अलैँची टिप्न र सुकाउन व्यस्त हुनुहुन्छ । बारीमा लगाइएका अलैँची पाक्न थालेसँगै उहाँ अलैँची टिप्न व्यस्त हुनुभएको हो ।
दोर्दी गाउँपालिका ८ को खिन्चोकका मनबहादुर तामाङलाई पनि अलैँची टिप्न भ्याइनभ्याइ छ ।
उहाँहरुलाई झैँ लमजुङका विभिन्न ठाउँका किसानहरुलाई अहिले अलैँची टिप्ने र सुकाउने चटारो छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका ७ को छिनखोला, लुदी, दोर्दी गाउँपालिका ८ को खिन्चोक, क्वहोलासोँथर गाउँपालिका ८ को घाम्राङलगायतका ठाउँका किसानहरु धमाधम अलैँची टिप्न र टिपेका अलैँची सुकाउनमा व्यस्त रहेको नेपाल अलैँची व्यवसायकी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताउनुभयो ।
‘किसानलाई अलैँची टिप्न र सुकाउन भ्याइनभ्याइ छ,’ उहाँले भन्नुभयो, ‘अलैँची बारी र अलैँची भट्टीमा अहिले किसानको दिनरात बित्ने गरेको छ ।’
उहाँका अनुसार लमजुङका १६ सयदेखी २२ सय मिटर उचाइसम्ममा लगाइएका अलैँची पाक्न थालेसँगै किसानहरु अलैँची टिप्न जुटिरहेका हुन् ।
त्यस क्षेत्रका अलैँची उत्पादक किसानहरुले असोज मसान्तदेखि अलैँची टिप्न सुरु गर्छन् भने मङ्सिर पहिलो हप्तासम्म अलैँची टिपिसक्छन् ।
दशैँमा पनि अलैँची बारीमै व्यस्त किसान
पाकेका अलैँची समय टिप्न र सुकाउन नसके अलैँचीको गुणस्तरमा ह्रास आउनुका साथै किसानलाई नोक्सानी पुग्ने अध्यक्ष तामाङले बताउनुभयो ।
दशैँको बेला पनि अलैँची उत्पादक किसानहरु अलैँची टिप्न र सुकाउनमै व्यस्त हुने गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अलैँची खेती सुरु भएसँगै यहाँका अलैँची उत्पादक किसानहरु दशैँको रौनकसमेत भुलेर अलैँची टिप्न र सुकाउनमै व्यस्त हुने गरेका छन् ।’
तामाङका अनुसार सकेसम्म अलैँची टिपेको एक/दुई दिनभित्रै अलैँची भट्टीमा सुकाइ सक्नुपर्छ । ‘यसो गर्न नसकिए अलैँचीको रङ्ग उड्न सक्छ । अलैँचीको गुणस्तर घट्छ’, उहाँले थप्नुभयो ।
नपाकेको अलैँचीलाई भने दाना छोड्याएर केही दिन गुम्स्याएर राख्नुपर्छ र अलैँची भट्टीमा सुकाउनुपर्छ । टिपेका अलैँची सुधारिएको अलैँची भट्टीमा कम्तीमा पनि १२ देखी १४ घण्टासम्म निरन्तर सुकाउनुपर्छ ।
‘टिपेपछि छोड्याइएको अलैँची दाना आगोको रापअनुसार भट्टीमा सुकाउनुपर्छ’, अलैँची उत्पादक किसानसमेत रहनुभएका तामाङले भन्नुभयो ।
तीन सय अलैँची भट्टी
उहाँका अनुसार लमजुङमा विभिन्न सङ्घ संस्थाको सहयोगमा झण्डै तीन सयको हाराहारीमा सुधारिएको अलैँची भट्टी राखिएको छ । अलैँची भट्टी अलैँची समूहलाई दिइएको र किसानले पालैपालो अलैँची भट्टीमा अलैँची सुकाउँदै आएका छन् ।
गएको वर्ष लमजुङमा दुई सय मेट्रिक टन अलैँची उत्पादन भएकोमा अलैँची बिक्रीबाट १३ करोड रुपैयाँ जिल्ला भित्रिएको थियो ।
यस वर्ष अलैँची उत्पादन बढ्ने अनुमान
यस वर्ष अलैँची खेती थप विस्तार भएकाले उत्पादन बढ्ने अनुमान रहेको नेपाल अलैँची व्यवसायकी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताउनुभयो ।
उहाँका अनुसार यस वर्ष लमजुङमा १५ सय हेक्टर क्षेत्रफलमा अलैँची खेती विस्तार भइसकेको छ । यहाँ झण्डै २५ हजार किसानहरु यस खेतीमा लागेका छन् ।
‘यस वर्ष लमजुङमा दुई सय ५० मेट्रिक टन अलैँची उत्पादन हुने अपेक्षा गरिएको छ,’ उहाँले भन्नुभयो ।
यहाँका किसानहरुले रामसाइ, गोलसाइ, डम्बरसाइ, साउने, जिर्मले, भर्लाङ्गे जातको अलैँची लगाउँदै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।