‘दोहोरो कर नागरिकले तिर्नु पर्देन, यदि त्यस्तो छ भने सरकारले हटाउँछ’

 साउन २७, २०७५ आइतबार १४:२९:१८ | उज्यालो सहकर्मी

भक्तपुर – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले नागरिकलाई दोहोरो कर नलगाउने बताउनुभएको छ ।

रफत संचार क्लबले भक्तपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नागरिकलाई सहजता हुने गरी सरकारले काम गर्ने बताउनुभएको हो । मन्त्री ज्ञवालीले भन्नुभयो, ‘दोहोर कर नागरिकले तिर्नु पर्दैन, त्यस्तो कर छ भने सरकारले हटाउँछ, करको दायरामा नआएकालाई दायरामा ल्याउन खोज्दा कतिपय समस्या आउँछन्, यद्यपी दोहोरो करकोबारेमा सरकारले रिपोर्ट संकलन गरिरहेको छ, त्यस्तो पाइएमा त्यस्ता कर हटाउछ ।’

पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रतिपक्षले सरकारकाविरुद्ध कथाकथित अधिनायकवादको कृतिम हल्ला गरी भ्रम फैलाउने कार्य भइरहेको बताउनुभएको छ । उहाँले तातो चियाको बाफ उडे जस्तै कृतिम हल्ला उडेको टिप्पणी गर्दै यस्ता हल्लाले सरकारलाई असर नपर्ने बताउनुभयो । 

उहाँले सरकार लोकतन्त्रप्रति प्रतिबद्ध रहेको प्रष्ट्याउँदै देशमा शान्ति सुरक्षा कायम गर्न, सुशासनको प्रत्याभूति दिन र देशलाई समृद्धितर्फ लैजान सरकार प्रतिबद्ध रहेको बताउउनुभयोे । 

सरकारको काममा ढिलाई भन्दै गरिएको आलोचनालाई सरकारले सुझावको रुपमा लिएको बताउँदै मन्त्री ज्ञवालीले भन्नुभयो, ‘अघिल्लो सरकारले ल्याएको बजेट र समस्यालाई समाधान गर्नै सरकारलाई ५ महिना लाग्यो, अनि कसरी देखियोस सरकारका प्रभावकारी कामहरु ?, अब सरकारले नयाँ बजेट अनुसार काम सुरु गरेको छ, अब काम प्रभावकारी रुपमा अगाडि बढ्छ ।’

प्रतिपक्षको रुपमा नेपाली कांग्रेसले विरोधका लागि विरोध मात्रै गरेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘सत्ताबाट बाहिरिनु परेको, पार्टी खुम्चेको पीडाले स–साना कुरामा पनि विरोध गरेर प्रतिपक्ष चर्चामा आउन खोजेको छ ।’ उहाँले कांग्रेसलाई विरोधभन्दा पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । 
सरकारले प्रभावकारी रुपमा कुटनीतिक प्रयास गरिरहेको बताउँदै उहाँले भारतसँग विश्वासको आधार निर्माण गरिसकेको, चीनसँग बृहत्तर विकास साझेदारीको खाका तयार पार्न सफल भएको उहाँको भनाई थियो । 

परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको व्यापार घाटा घटाएर सन्तुलित बनाउन र वैदेशिक लगानी अभिवृद्ध गर्न, आयातमा कर छुट गर्न र नेपालमा पर्यटक भित्र्याउन आफ्नो पहल भइरहेको बताउँदै अहिले परिपक्क, अनुकुल र राम्रो बाह्य सम्बन्ध विस्तार गरेको बताउनुभयो ।  

अघिल्लो सरकारले गरेको नियुक्ती बदर गर्दै प्रतिशोध साध्ने काम सरकारले नगरेको भन्दै  परराष्ट्र मन्त्री ज्ञवालीले भन्नुभयो, ‘वर्तमान सरकारले देउवा सरकारले गरेको नियुक्ती बदर गरेको होइन, देउवा सरकारले माओवादीका मन्त्रीहरुलाइ बिना विभागिय बनाएर सत्ताको दुरुपयोग गरी निर्वाचन आचार संहिता विरुद्ध निर्वाचनलाई नै प्रभावित पार्ने गरी काम गरेको नियुक्ती बदर गर्न खोजेको हो ।’

सरकारले गरेको बदरलाई सर्वोच्च अदालतले अन्तरिम आदेशबाट उल्टाउने प्रयास गरे पनि अन्तत: अन्तिम फैसलामा सरकारको निर्णयलाई सर्वोच्चले सदर गर्नेमा सरकार विश्वस्त रहेको ज्ञवालीले बताउनुभयो । 
 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया