सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अङ्ग...
मंसिर १०, २०८१ सोमबार
लमजुङ – जिल्ला प्रशासन कार्यालय लमजुङले असिना र हावाहुरीबाट प्रभावित घरपरिवारलाई राहत प्रदान गरेको छ ।
कार्यालयले गएको वैशाख २५ गते आएको हावाहुरी र असिनाले क्षति पुर्याएको घरपरिवारलाई राहत प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार असिना र हावाहुरीबाट क्षति पुगेका जिल्लाको दोर्दी गाउँपालिका–८, का ३७ घरपरिवारलाई प्रतिघरधुरी १५ हजार रुपैयाँ राहतस्वरुप प्रदान गरिएको हो ।
हावाहुरी र असिनाबाट क्षति पुगेको घरको छाना छाउन जस्तापाता वा अन्य निर्माण सामाग्री खरिदमा राहत रकमले प्रभावितलाई सहयोग पुग्ने छ । ‘प्रभावित परिवारलाई बेसीशहरसम्म आउँदा–जाँदा बढी खर्च लाग्नुका साथै खेतीपातीको समयमा किसानहरुको काममा समेत बाधा पुग्ने देखिएकोले सम्बन्धित ठाउँमै पुगेर राहत रकम हस्तान्तरण गरिएको हो,’ प्रजिअ ढकालले भन्नुभयो ।
जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार जिल्ला दैवी प्रकोप उद्धार समितिको सिफारिसमा गृह मन्त्रालयको २०७५ जेठ ४ गतेको पत्रबाट प्राप्त निर्देशानुसार काम अघि बढाइएको थियो । सोही अनुसार सम्बन्धित ठाउँमै पुगेर प्रभावितलाई राहत रकम प्रदान गरिएको हो ।
घरदैलोमै राहत पाउँदा दुखेको घाउमा मलमपट्टी लागेको अनुभूति भएको भन्दै प्रभावितहरुले खुशी व्यक्त गरेका छन् । ‘राहत लिन सदरमुकामसम्म धाउनु परेन । घरदैलामै राहत पाइयो । हामी प्रभावित निकै खुशी छौँ,’ हावाहुरीबाट प्रभावित दोर्दी गाउँपालिका–८, की चिनमाया मगरले खुशी मुद्रामा भन्नुभयो ।
स्थानीयका अनुसार वैशाख महिनामा परेको असिनाले गाउँका घरका टिनको छानामा प्वाल पारेको थियो । राहत पाइने÷नपाइने बारेमा जानकारी नभएका कारण आफूहरुले ढिलो गरी जिल्ला प्रशासन कार्यालयमा यसबारे जानकारी गराएको स्थानीय प्रभावित बताउँछन् ।
प्रभावितबाट जानकारी प्राप्त हुने बित्तिक्कै जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय लमजुङ र स्थानीय सरकारलाई क्षतिको यथार्थ व्यहोरा खुल्ने गरी मुचुल्का, सिफारिसलगायतका कार्यका लागि अनुरोध गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।