अब रक्सी खाएर माछा मार्न नपाइने

 साउन २९, २०७५ मंगलबार १९:३२:२१ | चन्द्र थापा
unn.prixa.net

अछाम – अछाम जिल्लाको रामारोशन गाउँपालिकाले असला माछा संरक्षणका लागि कैलाशखोला र आसपासका शाखा खोलाहरुमा माछा मार्नका लागि नियम बनाएको छ ।

खोलामा हुने अवैध माछा मार्ने कार्यलाई निरुत्साहित गर्न तथा असला माछा संरक्षणका लागि गाउँ कार्यपालिका बैठकबाट नियम बनाई कार्यान्वयनमा ल्याइएको हो । गाउँपालिकाको नियम अनुसार ८४ गेडी भएको जाल बाहेक अन्य जुनसुकै प्रक्रियाबाट माछा मारेमा अवैध ठहर गरिने छ र उसलाई कारबाही हुनेछ ।

असला जातको माछा घट्दै गएको र खोलाहरुमा अवैध रुपमा माछा मार्ने क्रम बढेको अवस्थामा गाउँपालिकाले नयाँ नियम नै बनाएर माछा मार्ने कार्यलाई व्यवस्थित गर्न लागेको गाउँपालिका अध्यक्ष झंकर साउद भास्कले बताउनुभयो ।

गाउँपालिकाले नियम पारित गरिसकेको र सूचना निकालेरै जाल दर्ता र माछा मार्ने अनुमति पत्रका लागि दरखास्त आह्वान समेत गरिसकेको अध्यक्ष साउदको भनाई छ । जाल दर्ता तथा माछा मार्ने अनुमतिका लागि स्थानीयले श्रावण २५ देखि भाद्र ८ गतेसम्म आवेदन दिन सक्ने गाउँपालिकाका सूचना प्रविधि अधिकृत बुद्धिबहादुर साउदले बताउनुभयो ।

अबका दिनहरुमा जाल दर्ता गरेका स्थानीयले र माछा मार्ने अनुमति लिएका स्थानीयले मात्रै माछा मार्न पाउने र खोलाहरुमा कुनै पनि विषादी, जैविक विषादी, करेण्ट गोला आदी प्रयोग गरेर माछा मार्न नपाइने गाउँपालिकाले जनाएको छ । नियम विपरित माछा मारेको पाइएमा गाउँपालिकाको नियमअनुसार कारबाहि गरिने समेत गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले माछा मार्नेको योग्यता पनि तोकेको छ । गाउँपालिकाले निकालेको सूचना अनुसार १८ वर्ष देखि ६० वर्ष ननाघेकाले मात्रै माछा मार्न पाउनेछन् । 
त्यस्तै माछा मार्ने व्यक्ति शारिरीक तथा मानसिक रुपमा स्वस्थ हुनुपर्ने छ । गाउँपालिकाले रक्सी खाने लत लागेका व्यक्तिले माछा मार्न नपाउने जनाएको छ ।

नियममा जाल दर्ता नगरी र अनुमति नलिइ माछा मारेको पाइएमा पहिलो पटक पाँच सय रुपैयाँ जरिवाना गराइने र त्यसपछि पनि अवैध रुपमा माछा मारेको पाइएमा प्रत्यक पटक दोब्बर जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया