आईएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आईएमई ग्रु...
पुस १३, २०८१ शनिबार
काठमाण्डौ - पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बद्ली भएको छ । धेरैजसो हिमाली जिल्लामा हिमपात भएको छ । दार्चुला, मुगु, हुम्ला, जिरीलगायतका ठाउँमा हिमपात भइरहेको मौसमविद्ले बताएका छन् ।
दार्चुलाको व्यास, अपी हिमाल, नौगाड, दुहुँ र मार्मा गाउँपालिकाको उच्च भू-भागमा हिमपात भएको छ । यस्तै, हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिजो बिहानदेखि नै हिमपात हुँदा घरबाहिर निस्कनसमेत कठिनाइ भएको छ ।
हिमपातका कारण चिसो बढेपछि बाहिर निस्कन र दैनिक कामकाज गर्न समेत नसकेको हिल्सा सीमा सुरक्षामा खटिएका हिल्सा बीओपीका इन्चार्ज सुरज केसीले जानकारी दिनुभयो।हिमपातका कारण दार्चुलाको सञ्चार सेवा समेत बन्द भएको छ । घाम नलाग्दा सौर्य उर्जाबाट सञ्चालित टावरमा ब्याट्री चार्ज हुन नपाउँदा टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।
यस्तै, पश्चिमी वायुको प्रभावकै कारण केही ठाउँमा वर्षासमेत भएको छ । गएको २४ घण्टामा सबैभन्दा धेरै गण्डकी प्रदेशको म्याग्दीमा वर्षा भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार म्याग्दीमा ७ दशमलव ४ मिलीमिटर पानी परेको छ । अन्य जिल्ला प्यूठान, दाङ, गुल्मी, काभ्रे, दोलखा, भोजपुर, उदयपुरमा पनि पानी परेको छ ।
आज पनि हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।
यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही ठाउँमा र लुम्बिनी, वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । अहिले काठमाण्डाै उपत्यकाका केही ठाउँमा फाट्टफुट्ट पानी परिरहेकाे छ । हिमपात र वर्षाको सम्भावना रहेकाले पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
पश्चिमी वायुको प्रभाव पर्सिसम्म नै रहने मौसमविद्ले बताएका छन् । यो प्रणाली हटेपछि देशभरकै अधिकतम र न्यूनतम तापक्रम घटी चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट जोगिन पनि मौसमविद्ले सुझाव दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।