काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा मौसम आंशिक बदली
मंसिर १२, २०८१ बुधबार
इलाम - इलामका दुई पालिकाले रासायनिक विषादीको विकल्पमा प्रयोग गरेको जिवातु नामको जैविक झोलले कतै बाली सप्रिएको छ भने कतै सखाप भएको छ । जिवातुको प्रयोगले जिल्लाका इलाम नगरपालिकामा बाली सखाप भएको हो भने सूर्योदय नगरपालिकामा बाली सप्रिएको हो ।
दुई पालिकाले आठ लाख आर्थिक लगानी गर्दै जिवातु नामको जैविक झोल बनाउने तालिम सञ्चालन गरेको पालिकाले जनाएको छ । इलाम नगरपालिकाले पाँच र सूर्योदय नगरपालिकाले तीन लाख रुपैयाँ गरी आठ लाख रुपैयाँमा किसानलाई एक महिना तालिम दिएको थियो ।
सिङ्गो पालिका र वडालाई नै अर्गानिक बनाउन दुई पालिकाका किसानलाई पहिलो पटक नयाँ प्रविधि प्रवर्द्धन गर्दै जैविक झोल बनाउन र यसको प्रयोग गर्न तालिमको आयोजना गरिएको हो ।सूर्योदयमा भने पालिकाको १४ वटै वडाका किसानलाई स्थलगत अभ्यास गराएको नगरपालिकाको आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘नगरको अर्गानिक अभियान सफल बनाउन जिवातुको परीक्षण सुरु गरेका थियौँ, सफल भयौँ, अझै पनि यसको प्रभाव यथावत् छ ।’ सूर्योदयका २ सय ५२ वटा टोल विकास संस्थामा नार्कका पूर्ववरिष्ठ कृषि वैज्ञानिक खड्गभक्त पौड्यालको टोली नै लगेर तालिम दिइएको संयोजक शर्माले जानकारी दिनु भयो ।
सूर्योदयका ११ र १२ वडाले भने पूर्णरुपमा यही जैविक झोलको प्रयोग गरेरै व्यवसायिक खेती गरिरहेका छन् । अन्य वडाका किसानले भने आंशिक रुपमा मात्रै प्रयोगमा ल्याइरहेको संयोजक शर्माको भनाइ छ ।
प्रयोगको मात्रा र मिसावटको मात्रा नमिलेमा खेती सप्रिने नभएर मर्ने समस्या हुने बताउनु हुन्छ ‘आठघरे नमुना कृषि फार्म’ का प्रोप्राइटर मिलन राई । उहाँकाअनुसार, नगदेबाली काँक्रा, खोर्सानी, फलफूल, तरकारी र मकैमा प्रयोगमा ल्याएकोमा सबैभन्दा राम्रो खोर्सानी र काँक्रालाई भएको छ । राईले यो जैविक झोलको प्रयोग गर्न थालेको साढे दुई वर्षभन्दा बढी भएको छ ।
विषादी मुक्त नगरपालिका घोषित यस पालिकाले २०७५ चैतमा पहिलो पटक नयाँ प्रविधि प्रवर्द्धन गर्दै जैविक झोलको प्रयोग गरेको थियो । यसपछि इलाम नगरपालिकाको वडा नम्बर ५ ले पनि तालिमकै आयोजना गरी झोल उत्पादन र प्रयोगलाई महत्वकासाथ अघि बढाएको हो । इलाम नगरपालिकाको वडा नम्बर ५ मा भने वडाका सबै किसानलाई १४ सेन्टरमा विभाजन गर्दै तालिम दिइएको थियो । प्रति सेन्टरमा ३० जना किसान सहभागी भएका थिए ।
रासायनिक विषादीको प्रयोगलाई हटाउँदै सिङ्गो वडा नै अर्गानिक बनाउने योजना हो तर प्रभावकारी नभएपछि अभ्यासमै सीमित भएको वडाका वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले भन्नुभयो । उहाँ भन्नुहुन्छ, ‘एक त यसको प्रयोग झन्झटिलो छ, किसानबाट काँक्रा सबै मर्यो भन्ने गुनासो आए । यसैले गर्दा अभ्यास मात्रै भयो । दीर्घकालिन भने बनाउन सकेनौँ ।’
तालिमबाट सिकेको जैविक झोल आफैँ बनाएर सुन्तला, मकै, काँक्रा अलैँचीलगायतका बालीमा प्रयोग गरेको इलाम नगरपालिका-५ का किसान साम्वेद चापागाईँले बताउनुभयो । यी बालीमध्ये काँक्रा भने सखाब नै भएको किसान चापागाईँको गुनासो छ । प्रयोगसम्बन्धी प्राविधिक ज्ञान नभएको खण्डमा पनि बाली सप्रिनको साटो मर्ने गरेको नेप्लिज फार्मिङ इन्स्टिच्यूटका प्रमुख वैज्ञानिकसमेत रहेका पौड्यालको भनाइ छ ।
रासायनिक मलखादको माध्यमबाट अर्बौं रुपैयाँ विदेशिनबाट रोक्न यो नयाँ प्रविधि उपयोगी हुने विज्ञहरु बताउँछन् । विज्ञहरुको टोलीले ३० वर्षको अनुसन्धानपछि जिवातु लाभदायक प्रमाणित भएको पत्ता लगाएको थियो ।
बाली लगाउने समयमा रासायनिक मल नपाउने समस्या, रासायनिक मलका कारण माटोमा बढी रहेको अम्लियपन, रासायनिक मल र विषादीले ल्याएका स्वास्थ्य समस्या, उत्पादन र उत्पादकत्वमा भइरहेको ह्रास घटाउनुका साथै तरकारी उत्पादनमा वृद्धि ल्याउने पौड्यालको भनाइ छ ।
जिवातुको प्रयोगले तरकारी, अन्न, फलफूल, मसला, चिया, कफी, अलैँची, फूल र जडिबुटी आदिमा लाग्ने रोग र किरा नियन्त्रण हुनुका साथै विरुवालाई चाहिने सबै पोषण समेत पुर्याउन सकिन्छ ।
बजारमा प्रतिलिटर १५० रुपैयाँमा पाइने जिवातुबाट २१ दिनमा एक सय लिटर ‘जिवातु एक’ नामको जैविक विषादी बनाउने विधि र प्रयोगका तरिका किसानमा हस्तान्तरण गरेको सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गादेवी भट्टराईले बताउनु भयो ।
उहाँकाअनुसार, किसानलाई गाईको गोबर मल, पानी र एक लिटर जिवातु मिसाएर बनाएको मलकोबारेमा पनि सिकाइएको थियो । जीवातुले माटोमाथि र माटो मुनिको रोग र किरा नियन्त्रण गर्ने काम गर्छ ।
जिवातु (जैविक झोल मल) कसरी बनाउने :
झोलमल १
१७ किलो गोठमल, १६ लिटर गाईभैँसीकाे मुत्र, १६ लिटर पानी र १ लिटर जिवातुको मिश्रण बनाउने । यसले माटोमुनीको किरा नियन्त्रण र मलको काम गर्छ ।
झोलमल २
२४.५ लिटर मुत्र, २४.५ लिटर पानी, १ लिटर जिवातुको मिश्रण । यो जाडोमा १५ दिन र गर्मीको बेला एक हप्तामा तयार हुन्छ । यसले ढुसी, विभिन्न रोग र किरा नियन्त्रण गर्छ ।
झोलमल ३
सिस्नु, तीतेपाती, वनमारा, खिरो, मेवाको पात जस्ता पिरो, टर्रो खालका विरुवाको पात तथा डाँठहरू, १ लिटर जिवातु, गाईभैँसीकाे मुत्र र पानी एक ड्रम गरी मिश्रण बनाउने । यसको प्रयोगले किरा, झुसिलकिरा, पात खाने किरा नियन्त्रण गर्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।