भारतले आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गर्दै

 माघ ३, २०७७ शनिबार ६:४८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले कोरोनाविरुद्धको खोप आजदेखि सर्वसाधारणलाई लगाउन सुरु गर्दैछ ।

स्थानीय समयअनुसार बिहान साढे १० बजे खोप अभियानको सुरुवात गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खोप अभियानको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने छ।

अभियान उद्घाटन लगत्तै प्रधानमन्त्री मोदीले स्वास्थ्यकर्मीसँग कुराकानी गर्ने कार्यक्रम छ । भर्चुअल रुपमा हुने कुराकानीमा देशभरका तीन हजार छ वटा खोप केन्द्रका स्वास्थ्यकर्मी सहभागी हुन सक्नेछन् ।

अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ ।  भारतले पहिलो प्राथमिकतामा ३० करोड मानिसलाई जुलाईसम्ममा खोप दिने बताएको छ । 

खोपका लागि सात सय जिल्लामा झण्डै एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । भारतको राष्ट्रिय खोप इन्स्टिच्युटका प्रमुख सत्यजित राठले बालबालिकालाई खोप लगाउनुभन्दा कोरोनाविरुद्धको खोप लगाउनु निकै जटिल र चुनौतीपूर्ण रहेकाले सावधानीपूर्वक तयारी गरेको बताउनुभयो ।

भारतले प्रयोगमा ल्याउन लागेका खोपमा अस्ट्राजेनिकाले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेका छन् । अभियानको लागि भारत सरकारले एक करोड १० लाख डोज ‘कोभिसिल्ड’ र ५५ लाख डोज ‘कोभ्याक्सिन’ खरिद गरेको छ ।

भारत बायोटेकको ‘कोभ्याक्सिनले दोस्रो चरणको परीक्षण पूरा गरेको छ । अहिले भारतभरका २५ वटा केन्द्रमा तेस्रो चरणको परीक्षण चलिरहेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका हरेक व्यक्तिले २८ दिनको अन्तरालमा दुई डोज खोप लिनुपर्ने जनाएको छ ।

खोपको प्रभाव १४ दिनभित्र देखिने स्वास्थ्यकर्मीले बताएका छन् । ‘कोभिसिल्ड’ प्रतिडोज दुई सय र ‘कोभ्याक्सिन’ प्रतिडोज दुई सय ६ भारतीय रुपैयाँ मूल्य परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरका ३७ वटा खोप भण्डारण केन्द्र तयार पारेको छ ।

भारतमा अहिलेसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा एक लाख ५२ हजार ९४ जनाको ज्यान गइसकेको छ । 
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया