प्राधिकरण नै भन्छ– ‘जुम्लामा दैनिक साढे ७ घण्टा मात्रै बिजुली दिन सकिन्छ’

 माघ ५, २०७७ सोमबार १८:१२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले जुम्लामा दैनिक साढे सात घण्टासम्म मात्रै बिजुली दिन सकिने प्रस्ट पारेको छ । जुम्लामा लोडशेडिङ भएको खबर सार्वजनिक भएपछि नेपाल विद्युत् प्राधिकरणले जुम्लामा दैनिक सातदेखि साढे सात घण्टासम्म विद्युत् दिने गरी नयाँ समय तालिका तय गरेको जनाएको छ ।

राष्ट्रिय प्रसारण ग्रिड नपुगेको जुम्लामा यसअघि एक दिन बिराएर विद्युत् आपूर्ति गर्दै आएको प्राधिकरणले अहिले दैनिक सातदेखि साढे सात घण्टासम्म विद्युत् उपलब्ध गराउने तालिका सार्वजनिक गरेको दाबी गरेको हो । प्राधिकरणले एउटा समूहबाट दैनिक सात र अर्कोबाट साढे सात घण्टा विद्युत् आपूर्ति हुने गरी नयाँ तालिका तय गरेको हो । 

प्राधिकरणले ११०/११० किलोवाट जडित क्षमता भएका दुई वटा युनिट रहेको लघु जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी जुम्ला सदरमुकाम र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको छ ।

हिउँदमा खोलामा पानी घट्ने भएकाले अहिले आयोजनाबाट १३० देखि १४५ किलोवाटसम्म मात्रै विद्युत् उत्पादन हुन्छ । विद्युत् माग र आपूर्तिको सन्तुलन मिलाइ उपभोक्ताले दैनिकरूपमा विद्युत् प्रयोग गर्न पाउने गरी नयाँ व्यवस्था गरिएको प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउनुभयो । 

‘प्राधिकरणले जुम्लामा लोडशेडिङ गरेको भन्दै चर्चा भयो तर वास्तविकता त्यस्तो हैन, एक दिन बिराएर विद्युत् आपूर्ति हुँदै आएकामा अब दैनिकरूपमा विद्युत् आपूर्ति हुने व्यवस्था गरिएको हो, यसबाट स्थानीय खुसी भएको जानकारी पाएका छौँ’, उहाँले भन्नुभयो ।  

बेलुुकी ६ बजेपछि विद्युत् गृह सञ्चालन गरि राति २ बजेसम्म विद्युत् आपूर्तिको व्यवस्था गरिएको प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले जानकारी दिनुभयो । 

कर्णाली प्रदेशका कालीकोट, हुम्ला, डोल्पा, जुम्ला र मुगुमा राष्ट्रिय प्रसारण ग्रिडमार्फत विद्युत् पुर्‍याउन दैलेखबाट कालीकोटसम्म ३३ केभी प्रसारण लाइन निर्माणाधीन छ ।  

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया