भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावितलाई राहत रकमको घोषणा गर्नुभएको छ ।
प्रभावित क्षेत्रको स्थलगत अवलोकन पश्चात प्रधानमन्त्री मोदीले निधन भएकाको परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँको दरले राहत रकम दिने घोषणा गर्नुभएको हो ।
उहाँले बाढी पहिरोमा परी घाइते भएकालाई उपचारका लागि ५० हजार रुपैयाँ भारु उपलब्ध गराउने पनि बताउनुभएको छ । उनीहरुलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषमार्फत् रकम उपलब्ध गराउने व्यवस्था गरिएको मोदीको भनाइ छ ।
प्रधानमन्त्री मोदीले केरलाका लागि पाँच सय करोड सहायता रकमको घोषणा यसअघि नै गरिसक्नु भएको थियो । केरलाका मुख्यमन्त्री पिनारायी भिजायनलगायतका उच्च पदस्थ व्यक्तिसँगको समिक्षा बैठकमा प्रधानमन्त्री मोदीले आफ्नोतर्फबाट त्यस्ताे सहायता रकम दिने घोषणा गर्नुभएको हो ।
केरलाका केही जिल्लामा परेको अबिरल वर्षापछिको बाढी र पहिरोको कारण कम्तीमा तीन सयभन्दा बढीको ज्यान गएकाे छ । शताब्दीकै खराब भनिएको बाढीका कारण केरलाका १३ ओटा जिल्ला अझै पनि खतराको स्थितिमा रहेको अधिकारीले जानकारी दिएका छन् ।
उद्धारका लागि सैनिक, नौसेना, तटीय गार्डलगायत थप मानवीय शक्ति र हेलिकोप्टरको पनि बन्दोबस्त गरिएको उनीहरुको भनाइ छ । उद्धारकर्ताले स्थानीय बासिन्दालाई जोगाउनका लागि मुसलधारे पानीको सामना गरिरहेका छन् ।
बाढी पहिरोका कारण केरला राज्यमा अहिलेसम्म दुई लाख मानिस आफ्नो घर छोडेर शिविरमा बसिरहेका छन् । एएफपी समाचार संस्थाका अनुसार उद्धार प्रयासमा सघाउन तीन सयभन्दा बढी डुङ्गा पनि त्यहाँ प्रयोग गरिएका छन् ।
भारतको गृह मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्षको वर्षायाम सुरु भएदेखि अहिले सम्म देशभर नौ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
अन्तिम अपडेट: मंसिर १५, २०८१
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।