लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव

 वैशाख २३, २०७८ बिहीबार ११:५२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही - रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ ।

बिरामीले भरिएको अस्पतालमा अक्सिजन अभाव भएपछि अस्पतालका स्वास्थ्यकर्मी, बिरामी र आफन्त अत्तालिएका छन् । बितेको २४ घण्टादेखि प्रयास गर्दा पनि अक्सिजन उपलब्ध नभएको अस्पतालले जनाएको छ ।

सङ्क्रमितको सङ्ख्यासँगै अक्सिजनको खपत बढ्दा अक्सिजन अभाव भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो । दिउँसोसम्म अक्सिजन आपूर्ति नभएमा अवस्था नियन्त्रण बाहिर जाने उहाँले बताउनुभयो। अस्पतालमा दैनिक दुई सय सिलिण्डर अक्सिजन आवश्यक पर्नेमा दैनिक ८० देखि एक सय सिलिण्डर मात्रै आपूर्ति भइरहेको छ ।

अस्पतालले नेपालगञ्जबाट अक्सिजन आपूर्ति गरिरहेको छ । अरु जिल्लामा पनि अक्सिजनको माग बढी भएकाले सप्लायर्सले नियमितभन्दा धेरै आपूर्ति गर्न नसक्ने बताएपछि समस्या आएको अस्पतालले जनाएको छ । अस्पतालले अरु आपूर्तिको पहल गरे पनि अहिलेसम्म कुनै सप्लायर्ससँग सम्झौता हुन सकेको छैन ।

अस्पतालकै अक्सिजन प्लान्ट मर्मत गरी सञ्चालनमा ल्याइए पनि अपुग भएको छ । प्रादेशिक अस्पताल मातहत रहेको धागो कारखानामा रहेकाे कोरोना विशेष अस्पतालमा दैनिक एक सय ५० सिलिण्डरको खपत हुँदै आएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र खनालले नागरिक हेल्प डेस्कबाट दैनिक चार सय देखि पाँच सय सिलिण्डर अक्सिजन आपूर्ति गरिदिन सामाजिक सञ्जालमार्फत याचना गर्नुभएको छ ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया