आफूले चढ्दै आएकाे गाडीलाई एम्बुलेन्स बनाउँदै जनप्रतिनिधि

 वैशाख २४, २०७८ शुक्रबार १५:०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमित तथा अरू बिरामीको उपचारका लागि स्रोत साधनको अभाव बढ्दै गएका बेला केही पालिकाका जनप्रतिनिधिले आफू चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका छन् । सङ्खुवासभाको चिचिला, डोटीको बोगटान फुड्सिल गाउँपालिका तथा डडेलधुराको अमरगढी र रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जनप्रतिनिधि चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका हुन् ।

प्रसुतिलगायतका बिरामीको उपचारका लागि अस्पताल पुग्न सहयोग पुगोस् भन्ने उद्देश्यले आफू चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न थालेको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले बताउनुभयो । चिचिला गाउँपालिकामा रहेको एउटा एम्बुलेन्सले भने कोरोना सङ्क्रमितलाई बोक्ने गरेको छ ।

यस्तै आफूले प्रयोग गर्ने गाडीलाई बिरामी बोक्न प्रयोग गर्ने निर्णय भएको डोटीको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले जानकारी दिनुभयो । गाउँपालिकामा एउटा एम्बुलेन्स रहेको र त्यसले मात्रै सुविधा दिन नसक्ने भएकाले गाउँपालिकाको गाडी नै प्रयोग गर्ने निष्कर्षमा पुगेको उहाँले बताउनुभयो ।

यस्तै डडेल्धुराको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझा र उपप्रमुख सङ्गीता भण्डारीले प्रयोग गर्दै आएको गाडी कोरोना सङ्क्रमितलाई अस्पतालसम्म पुर्‍याउन प्रयोगमा ल्याइने भएको छ ।नगरपालिकाको टिपरलाई शववाहन बनाउने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले आफू चढ्दै आएको गाडी कोरोना सङ्क्रमित बिरामी बोक्ने एम्बुलेन्सको रूपमा प्रयोग हुने भएको छ । दिनहुँ सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले अस्पताल लैजान एम्बुलेन्सको अभाव भएको र गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न थालिएको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया