नेपाल–खनाल पक्षका सांसदद्वारा राजीनामाको तयारी, ओलीविरुद्ध जुनसुकै कदम चाल्न बाध्य रहेको भनाइ

 वैशाख २६, २०७८ आइतबार ७:१८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै –  नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको लागि कुनै पहल नगरेको र पार्टी फुटाउने नै मानसिकता राखेकोले राजीनामा दिनुको विकल्प नभएको नेपाल–खनाल पक्षका सांसदहरुको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सोमबार संसदबाट विश्वासको मत लिने सम्भावना छ, त्यसअघि नै सकभर सबै, नभए ओलीलाई विश्वासको मत नपुग्ने र अरु दलको सरकार बनाउन सांसद संख्या पुग्नेगरी राजीनामा दिने एक नेताले बताएका छन् ।

‘ओली जी सच्चिने संकेत गर्नुभएन, उहाँले न पार्टीलाई २०७५ सालको जेठ २ गतेको अवस्थमा फर्काउनुभयो न त स्वेच्छाचारी कदम सच्याउने र आत्मालोचना गर्ने काम नै गर्नुभएको छ, यस्तो अवस्थामा हामी जस्तोसुकै कदम चाल्न बाध्य छौँ’ नेता भीम रावलले उज्यालोसँग भन्नुभयो ।

सर्वोच्चको फैसला अनुसार ओलीले पार्टी चलाउने सम्भावना निकै कम रहेकाले आफूहरु योजनाबाट पछि हट्ने सम्भावना पनि नदेखिएको रावलको भनाइ छ । अध्यक्ष ओलीले माधव नेपालसहितका नेतालाई कारबाही गरिसक्नुभएको छ भने महाधिवेसनबाट निर्वाचित भएर आएका पदाधिकारी हटाइसक्नुभएको छ । माधव नेपाल समूहले पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउन माग गर्दै आएको छ ।

ओलीले कारबाही फिर्ता र पार्टीलाई पहिलेकै अवस्थामा फर्काउन अस्वीकार गर्दै आउनुभएको छ । माधव नेपाल समूहका सांसदले राजीनामा दिएमा सजिलै अर्को सरकार बन्ने सम्भावना देखिएको छ । अहिले प्रतिनिधिसभामा २ सय ६७ सांसद संख्या कायम छ । तीमध्ये नेपाल–खनाल समूहका २० जनाले मात्रै राजीनामा दिएमा पनि २ सय ४७ सदस्य कायम रहनेछ । त्यसपछि सरकार बन्न एक सय २४ जना सांसद भएपनि पुग्छ ।

नेपाली कांग्रेसका ६१ र माओवादी केन्द्रका ४८ गरेर १ सय ९ सांसद छन् । जसपाका पनि धेरैजसो सांसदले कांग्रेस–माओवादीलाई साथ दिने भएकाले नयाँ सरकार बन्ने सम्भावना बलियो भएको छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया