इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

 जेठ ७, २०७८ शुक्रबार ५:५१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ । 

११ दिन लामो हिंसात्मक गतिविधिपछि दुवै पक्षले युद्धविरामको सहमति गरेका बीबीसीले जनाएको छ । इजरायलको मन्त्रिपरिषद्ले बिनासर्त आपसी समझदारी गर्न अनुमती दिएपछि हमासको तर्फबाट पनि युद्धविराम भएको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधवार इजरायली प्रधानमन्त्रीलाई फोन गरेर युद्धविरामको पहल गर्न अनुरोध गर्नुभएको थियो भने इजिप्ट, कतार र संयुक्त राष्ट्रसङ्घले पनि गाजामा शासन गर्ने हमास र इजरायलबीच युद्धविरामका लागि पहल गरेका थिए ।

युद्धविराम आज बिहानदेखि नै लागू भएको छ । ११ दिन चलेको हिंसात्मक द्वन्द्वमा कम्तीमा एक सय जना बालबालिका र महिलासहित दुई सय ३२ जना प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् । इजरायलतर्फ १२ जनाको ज्यान गएको छ । 

युद्धको अवधिमा प्यालेस्टाइनको तर्फबाट चार हजारभन्दा धेरै रकेट प्रहार भएका छन् भने इजरायलले पनि गाजा क्षेत्रमा सयौँ हवाई आक्रमण गरेको छ । युद्धविरामपछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस र अमेरिकी राष्ट्रपति बाइडेनले स्वागत गर्नुभएको छ । 

युद्धविराम घोषणा भएपछि जेरुसेलम शान्त देखिएको र गाजामा प्यालेस्टिनी नागरिकले खुसीयाली मनाएका बीबीसीले जनाएको छ । गाजा क्षेत्रमा भड्किएको हिंसा सन् २०१४ यताकै गम्भीर हो । जेरुसेलममा रहेको अल अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टाइनका नागरिक आक्रोशित भएका थिए । यो मस्जिदलाई इस्लाममा तेस्रो पवित्र स्थान मानिन्छ ।

यो यहुदीहरुको पनि पवित्र धार्मिक स्थलमा रुपमा रहेको छ । हमासले अल अक्सा र शेख जराह मस्जिदबाट प्रहरी हटाउन पहिलेदेखि नै इजरायलसँग आग्रह गर्दै आएको थियो । उसले दिएको समयसीमा सकिएपछि रकेट प्रहार गरेको बताएको छ ।

 सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । इजरायलले जेरुसेलमलाई आफ्नो राजधानी दाबी गरे पनि प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई आफ्नो दाबी गर्दै आएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया