राष्ट्रपतिले गरेका काममाथि कुनै उजुरी लाग्दैन : प्रधानमन्त्री ओली

 जेठ ९, २०७८ आइतबार १६:३०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताउनुभएको छ । आइतवार सरकारी निवास बालुवाटारमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले नै गरेको भन्दै उहाँले गरेका काममाथि कुनै उजुरी नलाग्ने बताउनुभएको हो । राष्ट्रपतिले गरेको निर्णयविरुद्ध मोर्चाबन्दी गरेर मुद्दा हाल्ने प्रयास भइरहेको खबर आफूले सुनेको भन्दै उहाँले जति जनाले मुद्दा राखे पनि त्यसको अर्थ नरहने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मोर्चा कसेर मुद्दा हाल्ने रे ? सच्चाइका लागि एक जनाले हाले पनि, धेरैले मोर्चा कसेर हाले पनि त्यही हो । सच्चाइ–सच्चाइ नै हो । न्याय प्राप्त गर्ने कुरामा मोर्चा कस्नुकाे कुनै अर्थ हुँदैन । राष्ट्रपतिको स्वविवेकीय अधिकारको प्रयोग गर्ने ठाउँ हो, त्यसमा कुनै उजुरी लाग्दैन ।’ 

नेपाली कांग्रेसका सभापति देउवाले आफू प्रधानमन्त्री बन्न अरू दलका सांसदको र्किते हस्ताक्षर गरेर लगेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो । उहाँले भन्नुभयो, र्किते नाम लिएर राष्ट्रपतिकोमा जानु, प्रधानमन्त्री बन्नका लागि अरू पार्टी बागी विद्रोही सिर्जना गर्नु । नेकपा एमालेका केही मानिसलाई उकासेर । धेरैले आफूले हस्ताक्षर नगरेको भनेर विज्ञप्ति निकालेका छन् । लोकतन्त्र भनेको अनुशासित प्रणाली हो । अराजकता होइन । अनुशासनहिनता होइन । जसपाबाट ३२ जना सांसद भएको ठाउँमा १२ जनालाई हस्ताक्षर गराएर, पार्टी अनुशासन तोडाएर, विभिन्न खालका अनुचित हत्कण्डा प्रयोग गरेर । यो परिपाटी बसाउँदै जाने हो भने हामी कहाँ पुग्छौँ ?

उहाँले संसदीय गणितमा फोहाेरी खेल भएको र सांसद किन्ने र बिक्री हुने प्रवृत्ति छताछुल्ल भएको हुँदा पनि आफू भने संसद् विघटन नहोस् भनेर जसपाको र आफ्नो (नेकपा एमालेको) पत्र लिएर प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपतिकोमा पुगेको बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘संसद्को मौजुदा गणित फोहाेरी खेलको माध्यम भयो । देशको आवश्यकता र संसदको मौजुदा गणित भिन्न भयो । दलीय अनुशासनको कुनै अर्थ छैन । बिकेर विपक्षी दलको प्रधानमन्त्री बनाउने भनेर कुदेको छ । पवित्र गौ दान गर्न कुदेको होला ? संसदमा गणित अशक्त र भद्रगाेल भइसकेको अहिलेकै स्थितिले देखाएको छ । आफ्नो र महन्थ ठाकुर र राजेन्द्र महत्त्वको हस्ताक्षरसहितको समर्थनमा एक सय ५३ सिटको दाबी लिएर म राष्ट्रपतिकाेमा गएँ । संसद् विघटन नहोस्, वैकल्पिक सरकार दिन सकियोस् भनेर ।’

वैकल्पिक सरकारका लागि कहीँ कतै अवरोध नभएको र दुवै पक्षले तोकिएको समयमा आफ्नो दाबी गरेको भन्दै उहाँले समयलाई लिएर आलोचना गर्नु आलोचनाका लागि आलोचना मात्रै भएको बताउनुभयो ।

पर्सनल डान्स गर्ने छुट छैन

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार बन्न नदिने प्रयासमा फर्जी हस्ताक्षर लिएर, दूषित अभ्यास गरी, दूषित कागज राष्ट्रपति कार्यालयमा बुझाएको टिप्पणी गर्नुभयो । आफूले मैले दाबी गरेका ठाउँबाट पनि केही मान्छेको हस्ताक्षर सभापति देउवाले पनि लिएर गएपछि राष्ट्रपतिले आफ्नो दाबी प्रति पनि विश्वास नगर्नुभएको प्रधानमन्त्री ओलीले बताउनुभयो । उनीहरूले कन्फ्युजन सिर्जना गरेकाले आफ्नो दाबीलाई राष्ट्रपतिले विश्वास गर्न नसकेको उहाँको तर्क थियो ।

ओलीले लोकतान्त्रिक व्यवस्थामा दलीय अनुशासन हुनुपर्ने भन्दै दलीय अनुशासनभन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गर्नुभयो । लोकतन्त्र अनुशासित , मर्यादित र सामूहिक व्यवस्था भएको भन्दै उहाँले वुद्धि र प्रतिष्ठाको मिस युज गरेर बुद्धिजीवीले पूर्वाग्रहका साथ संविधानको अपव्याख्या गरी संविधानमाथिको निष्ठामा आँच पुराउने काम गरेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दलीय अनुशासन तोडेर व्यक्तिगत नाच नाच्ने व्यवस्था होइन दलीय व्यवस्था । पर्सनल डान्सको कुनै अर्थ छैन ।’   

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया