बुद्ध जन्मस्थलबारे कतिपय देशका पाठ्यक्रममा भएका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह

 जेठ १२, २०७८ बुधबार ७:५१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मस्थलबारे कतिपय देशका पाठ्यक्रममा भएका त्रुटि सच्याउन आग्रह गर्नु भएको छ । २५६५ औँ बुद्धजयन्ती र बुद्ध महापरिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय देशका पाठ्यक्रममा यसबारे गलत जानकारी रहेको भए सच्याउन आग्रह गर्नु भएको हो ।

उहाँले भन्नुभएको छ, ‘‘यस्ता कुराहरू नसच्चिएको भन्ने पनि सुनिन आएको छ । यस्ता त्रुटिहरू आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटिहरू नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै त्रुटिहरू पढाउनु वाञ्छनीय हुँदैन । त्यसकारण सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’’

मानव जातिकै कारणले खलबलिएको शान्तिलाई मानव जातिकै सचेतता र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र शान्तिलाई दिगो बनाउन सकिने भन्दै उहाँले बुद्धका शान्तितर्फका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेको बताउनुभएको छ ।

‘‘नेपाल बुद्धकै जन्मभूमि हो र बुद्धिज्मको, बुद्धवादको, बुद्ध दर्शनको उद्गमस्थल पनि हो र शान्तिको सन्देश छर्ने थलो पनि हो । विभिन्न धार्मिक असहिष्णुता जस्ता कुराहरू, धार्मिक संकीर्णता जस्ता कुराहरूले बुद्धदर्शनका विरुद्ध अनेक क्रियाकलाप भए र बुद्धका शान्तिका सन्देशलाई यस धर्तीबाटै मेटाउन खोजिए ।’’ सन्देशमा भनिएको छ, ‘‘तर बुद्धका उपदेशहरू, बुद्धको चिन्तन र बुद्धले देखाएको शान्तिको मार्ग र मानव जातिको सुखका निम्तिको उज्यालो मर्न सक्दैनथ्यो र मरेन । तसर्थ फेरि बुद्धको जन्मस्थानको खोजी हुने परिस्थिति बन्यो । बुद्धको जन्मस्थान किन खोज्नु पर्यो ? बुद्धका विभिन्न रिलिक्स(अस्तु) अथवा अवशेषहरू तिनीहरूको खोजीको महत्व र तिनको पवित्रताको बारेमा विश्वको ध्यान किन गयो ? यी सबै कुरा मानव जातिको आन्तरिक आकांक्षा अथवा शान्ति र सुखको आकांक्षाबाट खोजी हुन थाल्यो ।’’

उहाँले बुद्धको जन्म लुम्बिनीमा भएको र बुद्धवादको मुहान पनि त्यहीँ रहेको जनाउँदै जहाँबाट बुद्ध मानव जातिको जरामरण जस्ता कुराबाट मुक्ति कसरी हुन्छ भन्ने खोजीमा दरबार त्यागेर, सुखसयल त्यागेर बाहिर निस्कनुभएको थियो, त्यहीँबाट बुद्धका चिन्तनको मुहान शुरु हुन्छ भन्नुभयो । यसरी नेपाल बुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गमस्थल भएको तथा यी तथ्यसम्म पुर्याउन र लुम्बिनीलाई आजको स्थितिसम्म ल्याइपुर्याउन योगदान गर्ने इतिहासका सबै महान पात्र एवं लुम्बिनीको विकासका सम्बन्धमा गुरुयोजना बनाउने टाँंगेलगायत महानुभावप्रति आभार व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया