चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
हेर छोरी, पढ है पढ, फलानाको छोराले त पोहोर साल यति प्रतिशत ल्याएको थियो, ढिस्कानाकी छोरीले उति प्रतिशत ल्याएकी थिइ । तिमीले त्यति नि ल्याउन सकिनौ, तिनलाई जित्न सकिनौ भने दुनियाँले के भन्ला ? जबदेखि अलिअलि कुरो बुझ्ने र ठम्याउन सक्ने भएँ, तबदेखि घरमा, समाजमा, जताततै ‘दुनियाँले के भन्ला’ भन्ने प्रश्नले सताउन थाल्यो । मलाई मात्र होइन, स्कुले साथीदेखि छरछिमेकका जोकसैलाई पनि यो ‘दुनियाँले के भन्ला’ भन्ने प्रश्नले बारम्बार सताइरहेको देखेकी छु मैले । यस्ता प्रश्नको सामना नगर्ने सायदै कोही होलान् । सायद मैले मात्र नभइ तपाईं, हामी सबैले जीवनमा बारम्बार सामना गरेको प्रश्न हुनुपर्छ-‘दुनियाँले के भन्ला ?’
मामू, म यो लुगा लगाऊँ ? छ्या ! दुनियाँले के भन्ला ! बाबा, म फेसबुकमा यस्तो फोटो हालूँ ? छिः ! दुनियाँले के भन्ला ! हामीले लगाउने लुगादेखि खानेकुरासम्म, जाने ठाउँ र समयदेखि पढ्ने विषयसम्म ‘दुनियाँले के भन्ला’ को सीमाभित्रै अल्झिरहेको हुन्छ । विदेशतिर यस्तो प्रश्न उठ्छ कि उठ्दैन थाहा भएन, तर देशभित्रको जति संसार मैले देखेकी छु, भोगेकी छु र अनुभूत गरेकी छु, यहाँ भने सबै उमेर र वर्गका ससाना बालबालिकादेखि वृद्धवृद्धालाई समेत यही ‘दुनियाँ’ को डर देखाइन्छ ।
हाम्रो समाजका हरेक घटनामा कतै न कतैबाट ठोक्किन आइपुग्ने यो ‘दुनियाँ’ पनि अचम्मकै छ । कसैका छोराछोरी पढाइमा कमजोर देखिए भने तिनलाई त्यही ‘दुनियाँले के भन्ला’ को भूत देखाएर तर्साइन्छ । कसैका छोराछोरीले झुक्किएर कतै कसैसँग मायापिरती गाँसेको थाहा भयो भने तिनीहरूमाथि पनि त्यही ‘दुनियाँ’कै डन्डा बर्साइन्छ ।
बिहेमा कुनै बेहुली नरोइकन हाँसीहाँसी बिदा हुन खोजी भने ‘दुनियाँले कस्ती उत्ताउली रैछे भन्दैनन् ?’ भन्दै रुन बाध्य पारिन्छ । त्यही बिहेमा बेहुली रोएको देखेर बेहुलाका आँखा रसाए भने प्रश्न गरिन्छ—‘छोरा मान्छे भएर पनि बिहेमा रुने हो ? दुनियाँले के भन्ला ?’
हेर त बिहे गरेकी केटीले सिन्दुर लाउनुपर्दैन ? हात पनि खाली छ, गलामा एउटा पोते पनि छैन, दुनियाँले के भन्ला नि बरै ! हेर, बिहे गरेर बुढी ल्याइसकेपछि पनि भान्छामा काम गर्छन् त ? दुनियाँले के भन्ला ? बिहे गरेको यत्रो समय भइसक्यो, अहिलेसम्म पनि बच्चाको सुरसार छैन । हामी त बुझ्छौँ, तर दुनियाँले के भन्ला ? हैन छोरो हुन्छ होला भनेको त छोरी पो भइ । अब दुनियाँले के भन्ने हो ? लौन नि ! यसपालि पनि छोरी नै भइ ? ओहो ! दुनियाँले के मात्र नभन्ला अब ?
हेर् न त्याँ, दुई वटी छोरीकी आमाको चर्तिकला ! त्यस्तो लुगा लाएर हिँड्या छ । दुनियाँले कति कुरा काट्दा हुन् बरै ! बिहे गरेर बुढालाई खुसी पार्न नि नसक्ने ! दुवै जना यस्तो तर्केर हिँड्छन्, दुनियाँले के भन्ला भन्ने चिन्ता पनि छैन यिनलाई ! कस्तो कुरकुरे बैँस चढेको यिनलाई ? कति टाँसिएर बसेका हेर न ! कसैको नभएका बुढाबुढी उनीहरूकै मात्र भएको जस्तो, छ्या ! लाज पचेकाहरु ! कस्तो दुनियाँले के भन्ला भन्ने डर पनि नभएको भन्या !
हेर न हेर, पिण्ड खाने बेलामा पनि टिकटक बनाएर बस्या छन् ! दुनियाँले के भन्ला भन्ने पनि ख्याल छैन यिनलाई ! हाम्रो समाजमा छोरीलाई उसको श्रीमान्ले मारेर फाल्ने वेला हुन्जेलसम्म पनि तिमी बुढासँग छुट्टिए दुनियाँले के भन्ला भनेर सास्ती सहन बाध्य पारिन्छ । छोरा, यस्तो कपाल किन पालेको ? तँ त हेर्दै गुन्डा जस्तो देखिन्छस् । झन् यस्तो जगल्टा देखे दुनियाँले के भन्ला ? यस्ता धम्की त कतिले पाउँछन्, कतिले !
६७ वर्षकी हजुरआमा २८/२९ वर्षको लाऊँलाऊँ खाऊँखाऊँको रहरिलो उमेरमै श्रीमान् गुमाएर एकल जिन्दगी बिताइरहनुभएको छ । आज पनि उहाँलाई समाजले एकल महिलाले गर्नु हुन्न भनेर साँधसिमाना लगाइदिएको कुनै काम गर्नुपर्ने अवस्था आयो भने दुनियाँले के भन्ला भनेर तर्किनुहुन्छ । हजुरबा बितेदेखि रातो रङ शरीरमा नहाल्नुभएकी हजुरआमालाई कर गरेर सुन्तला रङ्गको सारी किनिदिँदा पनि ‘यो त रातो भयो, दुनियाँले के भन्ला’ भनेर डराउँदै हुनुहुन्थ्यो ।
हामी, जो आफ्नो जिन्दगी आफ्नै तरिकाले बाँच्ने हो, अरुले जेसुकै सोचोस्, जेसुकै भनोस् र जेसुकै कुरा काटोस् भन्दै हिँड्छौँ र पनि साँच्चै दुनियाँले केही भन्ने त हैन नि भन्ने डरले भने खाइरहेकै हुन्छ । अनि, मेरी हजुरआमा दुनियाँदेखि नडराउनु पनि किन ?
दुनियाँले के भन्ला भन्दाभन्दै हाम्रा आफ्ना सपना मात्र मरेका छैनन्, ‘दुनियाँ’को डरमा खुम्चिएर धेरैका प्रतिभा, क्षमता र ऊर्जासमेत शिथिल भएका होलान् । फड्फडाएर उड्न तम्तयार भएका कयौँ पखेटा ‘दुनियाँ’सित तर्सेर त्यसै कुँजिएका होलान् ।
सबैका घरघरमा, टोल टोलमा, समाज समाजमा, जिल्ला जिल्लामा, प्रदेश प्रदेशमा या सिङ्गो देशभर यसरी सबैलाई अत्याउने, तर्साउने त्यो ‘दुनियाँ’ हुन चैँ कस्तो होला ? साना, ठूला, धनी, गरिब, शिक्षित, अशिक्षित, महिला, पुरुष जोकोहीलाई आफ्नो कथित मर्यादाको घेरो सम्झाउने, तर्साउने र अत्याउने यो दुनियाँ चाहिँ कसैसँग डराउँदो हो कि नाइँ ? यो दुनियाँ कुन काम गर्दो, कति कमाउँदो हो ? कसरी जिन्दगी गुजार्दो हो ? यहाँ आफूले आफ्नै बारेसमेत सोच्ने फुर्सद नभएको समयमा देशैभरिका जोकोहीको चासो राख्ने र सबैलाई यसो र उसो भनेर अत्याउने यो दुनियाँ छ चाहिँ कस्तो ? के ऊ चाहिँ सर्वगुण सम्पन्न होला ? कि उसलाई पनि दुनियाँको डर होला ? यो लेख पढिसकेपछि आखिर दुनियाँले के सोच्ला, के भन्ला हँ ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
देवराज नेपाल
July 3, 2021, 2:47 p.m.दुनियाँ ले केहि भन्दैन। हामीले दुनियाँ ले के भन्छ भनेर मात्र सोच्छौं। सकेसम्म दुनियाँ लाई आफ्नो वरिपरि नै दुनियाउने हो। छोरी लेख्दै जाऊ दुनियाँलाई आफ्नो सुकर्म बाट आफू हुनुमा गर्व गर्न लायक बनाऊ। बधाई छ ।