ओली अहंकारको बहिर्गमन र नीरस देउवाको आगमन

 असार २९, २०७८ मंगलबार १४:१५:२४ | मिलन तिमिल्सिना
unn.prixa.net

अन्ततः मेरो विकल्प मै हुँ भन्ने शैलीमा संविधानको सबै धाराबाट आफूमात्र सरकार चलाउने केपी शर्मा ओलीको महत्वाकाङ्क्षा माटोको हाँडी झैँ फुटेको छ । आफ्नै कार्यशैली र अहंकारका कारण हुँदाखाँदाको प्रधानमन्त्री पद गुमेको छ । ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा कार्यान्वयन गरेर इतिहास बनाउने सुनौलो अवसर खेर गएको छ । पहिलोपटक प्रधानमन्त्री हुँदाको नाम र जस दोस्रोपटक प्रधानमन्त्रीको हुँदाको कार्यशैलीले झण्डैझण्डै धुलिसात बनाएको छ । 

सत्य के पनि हो भने, २०७४ को आमचुनावको जनादेशले ओलीकै लागि  प्रधानमन्त्रीको पद तोकेको थियो, तर ओलीका लागि त्यो नपाउनेले पाएको केरा सरह भै दियो । पाँच वर्ष सरकार चलाउन दिएको जनादेशलाई ओलीले सदुपयोग गर्न जानेनन्, सिकेनन् र सकेनन् । फलस्वरुप परमादेशबाट देउवालाई प्रधानमन्त्रीको ‘उपहार’ मिल्यो । परमादेश पालना गर्ने विकल्पको बहाना नपाएर मात्रै ओलीले देउवालाई बालुुवाटार पस्ने बाटो खोलेका हुन् । प्रतिपक्षमा बस्ने जनादेश पाएका देउवा अदालतले दिएको चकलेट चाट्न पाएर गद्‌गद् छन्, तर आम नागरिकका लागि ओली जानु र देउवा आउनु कागलाई बेल पाके जस्तो मात्रै हो । 

झण्डै दुई तिहाइको सरकार चलाउने जनादेश पाएका ओलीले न समयलाई चिने, न इतिहासको गति बुझे । चुनावी भाषण र घोषणापत्रमा उल्लेख गरिएका रेल, पानीजहाज, घरघरमा ग्याँस पाइप, आफ्नै देशमा तेल उत्खनन्, सबैलाई रोजगारी, सुशासन लगायतका काम थाल्न बाधा र व्यवधान थिएन । जे गर्न खोज्यो, त्यही गर्न सक्ने सम्भावना थियो । तर ४० महिनाभन्दा बढी समय सरकारमा बिताएका ओलीको कार्यकाल आसेपासे पोस्नमा बित्यो ।

पार्टीको आन्तरिक विवादलाई देखाएर प्रतिनिधि सभामा प्रहार गरे । संवैधानिक राष्ट्रपतिलाई विवादित बनाउने काम गरे । संवैधानिक निकायको मर्यादा र निष्पक्षतामाथि जोकोहीले प्रश्न उठाउने अवस्था सिर्जना गरे । कोराेनाले उत्पन्न गरेको आर्थिक सङ्कटतिर आँखा लाएनन्, कोरोनालाई मजाक बनाउँदा सयौँ नागरिकले अनाहकमा ज्यान गुमाए । सरकारको नेतृत्वमा बसेर देश र नागरिकको हितमा काम गर्नुपर्ने बेला पार्टीभित्रको अन्तरकलहमै धेरै समय खर्च गरे । 

यस्तै कार्यशैली र घटना क्रमले ओलीले गरेका राम्रा कामसमेत छायाँमा पारेको छ । भारतीय कब्जामा रहेको नेपाली भूमी समेटेर चुच्चे नक्सा, मेलम्चीको पानी, ऐतिहासिक धरहरा र रानीपोखरी पुनर्निर्माण गर्न, सडक, बिजुली, विमानस्थल लगायतका क्षेत्रमा भएका आशालाग्दा उपलब्धिभन्दा ओलीको कार्यशैली र सत्ता बहिर्गमनलाई इतिहासले बढी सम्झनेछ ।

ओली हटेर देउवा प्रधानमन्त्री बन्न लाग्दा नागरिक झन् निराश छन् । देश र नागरिकका लागि केही गर्न सकिन्छ भनेर पुष्पकमल र माधव नेपालले ओलीको ठाउँमा देउवालाई अघि सारेका पनि होइनन् । आम नागरिकलाई झैँ देउवाका प्रस्तावक दाहाल र नेपाललाई पनि थाहा छ, देउवा र ओली एउटै सिक्काका दुईटा पाटा मात्र हुन् ।

ओलीले पहिलोपटक प्रतिनिधि सभा विघटन गर्दा देउवा चुनावकै पक्षमा थिए । तर आफ्नै पार्टी, माओवादी र चोइटो एमालेको समर्थन पाएपछि मात्र उनी मध्यावधि चुनावको विपक्षमा लागेका हुन् । अहिले पनि झण्डै डेढ वर्ष कार्यकालको प्रधानमन्त्री बन्न उनलाई भित्रैदेखि मन थिएन । तर प्रचण्ड र माधव नेपालले जोडबल गरेपछि उनले नाइँ भन्न सकेनन् । त्यसमाथि ज्योतिषीले भनेको ७ पल्ट प्रधानमन्त्री हुने भविष्यवाणी पूरा गर्ने रहर त पहिलेदेखि नै छँदै थियो ।  प्रधानमन्त्री बन्ने बाटो खुले पनि सत्ता चलाउन देउवालाई सजिलो छैन ।

पहिलो कुरा त देउवा आश मरेका र अभरिला नेता हुन । यसअघि चारपटक प्रधानमन्त्री हुँदा उनले पनि ओलीले झैँ लोकतन्त्रको हत्या गरेकै थिए । दरबारमा प्रजातन्त्र बुझाएको आरोप त इतिहासले देउवालाई लगाइसकेकै छ । 
दोस्रो, उनी चोइटो एमालेको दयामा बनेका प्रधानमन्त्री हुन पुगेका छन् । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४६ सांसदमध्ये २३ जना एमालेका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । विभीषणको रुप धारण गरि ओलीलाई सिंहासनबाट फ्याकेपछि माधव नेपाल आफ्नो टाउकोमा फेरि एमालेको प्वाँख सिउरिन प्रयासमा छन् । उनको प्वाँख कसैले नझारेसम्म वा आफैँ नझरेसम्म न त देउवाले बहुमत पाउँछन्, न त बहुमत नपाएको ७६ (५) को प्रधानमन्त्रीले पाउने चुनाव नै गराउन सक्छन् । 

त्यसमाथि भाडभैलो मच्चाउन नाम कमाएका प्रचण्ड जस्ता र अराजकतामा रमाउने बाबुराम र उपेन्द्र जस्ता नेताहरुले देउवाको काँधमा बन्दुक राखेर आफ्नो निशाना लगाउने पनि प्रस्टै छ । त्यसैले, देउवा आउनु र ओली जानुले नागरिकले भोगिरहेका कोरोना कहर, बाढी पहिरो जस्ता समस्या समाधानमा कुनै तात्विक असर पर्ने छैन । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • Saroz Khatiwada

    July 13, 2021, 2:59 p.m.

    अनि तिम्रा बाउ आए अब आरती उतार अब नेपाल लाई स्विजर्ल्यान्ड बनाउछन अब त सरकार को बिरोध गर्दैनौ होला।।

  •  0 Reply

तपाईको प्रतिक्रिया