आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – अफगानिस्तान अहिले युद्धको चपेटामा छ । त्यहाँको लगभग पूरै भूभागमा बिद्रोही तालिबानले कब्जा जमाइसकेको छ । बिबीसीको पछिल्लो खबर अनुसार तालिबान काबुलमा पनि प्रवेश गरिसकेको छ ।
अमेरिकाले आफ्ना सेना फिर्ता लगेको तीन हप्ता नबित्दै अफगानिस्तानलाई तालिबानले आफ्नो कब्जामा पार्दै गएको हो । तालिबानले कब्जा जमाउँदै लगेपछि त्यहाँका नागरिकसँगै त्यहाँ रहेका अरु देशका नागरिक पनि जोखिममा छन् । अफगानिस्तानमा कार्यरत नेपाली र नेपालमा रहेका उनीहरुका परिवारजनमा त्रास छाएको छ ।
परराष्ट्र मन्त्रालयको तथ्याँकअनुसार लगभग एकहजारको हाराहारीमा नेपालीहरु अफगानिस्तानमा कार्यरत छन् । यो श्रम स्वीकृति लिएर गएकाहरुको तथ्याँक हो । अवैधानिक रुपमा, भारतको बाटो हुँदै गएकाहरुको तथ्याँक उपलब्ध नभएको मन्त्रालयले जनाएको छ । राम्रो कमाइ हुने र भूतपूर्व नेपाली सेना तथा प्रहरीहरुलाई सुरक्षा गार्डको रुपमा राम्रो काम पाइने भएकाले नेपालीहरु रोजगारीको लागि अफगानिस्तान जाने गरेका छन् ।
वैदेशिक रोजगार विभागको तथ्याँकअनुसार गएको आर्थिक वर्षमा मात्र एक हजार ७३ जनाले अफगानिस्तानमा रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । यस्तै आर्थिक वर्ष २०७६–७७ मा ९ सय २४ जना नेपाली रोजगारीको लागि अफगानिस्तान गएका छन् । अफगानिस्तानमा रोजगारीमा जानेहरुलाई दुई वर्षको करार अवधि तोकिएको हुन्छ । धेरै व्यक्तिगत रुपमा र केही मात्र म्यानपावरमार्फत जाने गरेको विभागको तथ्याँकमा उल्लेख छ ।
अफगानिस्तानमा तनाव छाएसँगै विभिन्न देशहरु त्यहाँ रहेका आफ्ना नागरिकको उद्धारमा लागिरहेका छन् । अमेरिका, बेलायत, जर्मनी, भारतले आफ्ना देशका नागरिकलाई उद्धार गरेर स्वदेश ल्याएका छन् । तर नेपालले भने अहिलेसम्म उद्धारको लागि कुनै ठोस निर्णय गरेको छैन ।
‘हामीले अफगानिस्तानमा रहेका अमेरिका, बेलायत, भारत लगायतका दूतावास तथा ईयू सम्बद्ध निकायहरुसँग फोन सम्पर्क गरेका छौँ’, परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भन्नुभयो, ‘आफ्ना नागरिकको उद्धार गर्ने क्रममा त्यहाँ कार्यरत नेपालीहरुलाई पनि उद्धार गर्न हामीले आग्रह गरेका छौँ, उहाँहरुले पनि सक्दो सहयोग गर्ने जनाउनुभएको छ ।’
विदेशी भूमिमा रहेका नेपालीहरुलाई आपतकालीन रुपमा स्वदेश फिर्ती गर्न परराष्ट्र मन्त्रालयले तुरुन्त पहल गर्नुपर्ने हो । यस्तै श्रम स्वीकृति लिएर रोजगारीको लागि विदेशमा गएका नेपाली श्रमिकलाई उद्धार गर्ने जिम्मेवार निकाय श्रम मन्त्रालय हो । तर अहिले दुवै मन्त्रालय अभिभावकविहीन छन् । अर्थात मन्त्रालयमा मन्त्री छैनन् । मन्त्री नहुँदा ठोस कूटनीतिक प्रयास गर्न समस्या भएको छ ।
तर अफगानिस्तानमा नेपालीहरु सुरक्षित अवस्थामा रहेको र त्यहाँ रहेका नेपाली तथा नेपालमा रहेका उनका परिवारको तर्फबाट अहिलेसम्म उद्धारको लागि कुनै माग नभएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताउनुभयो ।
‘उद्धार गर्नुपर्यो भनेर हामीलाई कतैबाट कसैले भनेको छैन, सुरक्षित भएर नै होला’ उहाँले भन्नुभयो ।
अफगानिस्तानमा नेपाली दूतावास छैन । भारतमा रहेको नेपाली दूतावासले नै अफगानिस्तानलाई हेर्ने गरेको छ । भारतमा रहेको नेपाली दूतावाससँग आफूहरु नियमित सम्पर्कमा रहेको र के गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको प्रवक्ता लम्सालको भनाइ छ ।
भारतमा रहेको नेपाली दूतावासले अफगानिस्तानमा छरिएर रहेका नेपालीहरु काबुलमा आइसकेको जनाएको छ ।
नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेशन नेटो फोर्स अफगानिस्तानबाट निस्किने भइसकेपछि नेपालीको अवस्थालाई ‘मनिटर’ गर्न खोजेको भारतमा रहेको नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले बताउनुभयो ।
‘विभिन्न ठाउँमा छरिएका नेपालीहरु काबुलमा आइसक्नुभएको छ । अहिले हामीसँग त्यहाँ एक हजारको हाराहारीमा नेपालीहरु भएको जानकारी छ’, उहाँले भन्नुभयो, ‘कतिपय फर्किने क्रममा हुनुहुन्छ । कतिपय टिकट बुक गर्दै हुनुहुन्छ । कतिपयको उडानको मिति आइसकेको छ ।’
उहाँका अनुसार अहिले आत्तिहाल्नुपर्ने अवस्था छैन । त्यहाँ नेपालीहरु विभिन्न देशका दूतावासमा कार्यरत रहेको हुनाले उनीहरुको सुरक्षा दूतावासको सुरक्षा संयन्त्रबाटै हुने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।
‘यहाँ नेपालीहरु विभिन्न देशका दूतावास, यूएन कार्यालय, ईयू सम्बद्ध कार्यालय लगायतमा सुरक्षा गार्ड तथा अन्य काममा कार्यरत हुनुहुन्छ’, उहाँले भन्नुभयो, ‘सुरक्षा गार्डको रुपमा रहनुभएकाहरु त अन्तिम सयमसम्म बस्नुपर्ने हुन्छ । सुरक्षाबाहेकका क्षेत्रमा रहनुभएकाहरु धेरै नेपाली फर्किसक्नुभयो बाँकी फर्किने तयारीमा हुनुहुन्छ ।’
सुरक्षा गार्डको रुपमा काम गर्नेहरु पनि सुरक्षाको घेराभित्र रहेकाले डराइहाल्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।
उहाँका अनुसार आजसम्म त्यहाँ रहेका सबै नेपाली सुरक्षित छन् । तालिबानले त्यहाँका नागरिक र विदेशी मिसनमा खटिएकाहरु आफ्नो निशानामा नभएको बताएको छ । त्यसो हुँदा नेपालीहरु निशानामा पर्दैनन् भन्ने अपेक्षा भएको तर ढुक्क भएर बस्न सक्ने अवस्था पनि नभएको सुवेदीले बताउनुभयो ।
यस्तै अफगानिस्तानमा रहेका सबै नेपालीहरुसँग सम्पर्क गर्ने प्रयास भैरहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार नेपालबाट रोजगारीमा पठाउने र अफगानिस्तानमा पनि रोजगारीमा लगाउने मध्यस्थकर्ताहरुसँग सम्पर्क भैरहेको छ । तत्कालै चार्टड विमानमार्फत नेपाल सरकारले उद्धार गर्ने विषयमा भने अहिले सोचिहाल्ने अवस्था नभएको सुवेदीले बताउनुभयो ।
‘त्यसरी उद्धार गरिहाल्न हामीले भनेजस्तो सजिलो छैन’, उहाँले भन्नुभयो, ‘अहिले संकटको समय हो, शान्त रहन र विस्तारै स्वदेश फर्किन हामीले आग्रह गरिरहेका छौं ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।