हमासले आज तीन इजरायली र पाँच थाईसहित आठ जना बन्दीलाई रिहा ...
माघ १७, २०८१ बिहिबार
काठमाण्डौ – पेरुका क्रान्तिकारी नेता अबिमाइल गुजम्यानको ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँलाई चेयरम्यान गोन्जालोको नामले विश्वभर चिनिन्छ ।
सन् १९९२ देखि आतङ्कवाद र देशद्रोहको अभियोगमा आजीवन कारावासको सजाय भोगिरहनुभएका गोन्जालोको जेल परेको २९ वर्षपछि पेरुको एक सैन्य अस्पतालमा छालाको क्यान्सरबाट निधन भएको हो ।
उहाँको स्वास्थमा समस्या देखिएपछि गएको जुलाईमा अस्पतालमा उपचारका लागि लगिएको थियो । उहाँको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्ड लगायत नेपालका थुप्रै नेताले दुःख प्रकट गरेका छन् ।
को हुन् गोन्जालो ?
गोन्जालो दक्षिणी तटीय क्षेत्रमा रहेको मोलेन्दो बजार नजिकै सन् १९३४ को डिसेम्बर ३ मा जन्मिनुभएको थियो ।
अरेक्विपामा रहेको सन अगस्टिन नेशनल युनिभर्सिटीबाट दर्शनशास्त्र र कानुन विषयमा स्नातक तहसम्मको अध्ययनपछि उहाँ सन् १९६२ मा सन क्रिस्टोबल अफ ह्युयोमांगा विश्वविद्यालयमा दर्शनशास्त्रका प्रोफेसरसमेत रहनुभएको थियो ।
मार्क्ससिज्म र माओ जेदोङबाट प्रभावित गोन्जालोले सन् १९६९ मा कम्युनिस्ट पार्टी अफ पेरु–साइनिङ पाथको स्थापना गरी आन्तरिक सङ्घर्षको सुरुवात गर्नुभएको थियो । पेरुको सरकारविरुद्धको आन्तरिक सङ्घर्षकै क्रममा उहाँ सन् १९७० को मध्यमा भूमिगत हुनुभएको थियो ।
क्रान्तिकारी नेता गोन्जालो साइनिङ पाथका संस्थापक तथा माओवादी गुरिल्ला समूहको समेत नेतृत्वकर्ता हुनुहुन्थ्यो । सन् १९८० को मे महिनामा द आर्म्ड स्ट्रगल अर्थात् पिपुल्स वारको नामबाट उहाँको नेतृत्वमा रहेको साइनिङ पाथले युद्धको सुरुवात गरेको थियो ।
पेरुमा सन् १९८० देखि २००० सम्म माओवादी गुरिल्ला समूह र पेरुको सुरक्षाकर्मीबीच चलेको एक दशक लामो युद्धका क्रममा झन्डै ७० हजार मानिस मारिएका वा बेपत्ता भएका थिए ।
साइनिङ पाथले पेरुको राजधानी लिमामा गरेको घातक आक्रमणको दुई महिनापछि उहाँ नियन्त्रणमा पर्नुभएको थियो । उहाँ सन् १९९२ को सेप्टेम्बरमा लिमामा रहेको एक सुरक्षित घरबाट पक्राउ पर्नुभएको थियो ।
त्यस आक्रमणमा २५ जनाको ज्यान गएको थियो भने एक सय ५० जनाभन्दा धेरै घाइते भएका थिए । उहाँले आजीवन कारावासकै क्रममा सन् २०१० मा ऐलेना इपरागुइरेसँग दोस्रो विवाह गर्नुभएको थियो । इपरागुइरे पनि सन् १९९२ मा पक्राउ पर्नुभएको थियो ।
गुजम्यान पक्राउ परेपछि साइनिङ पाथलाई गम्भीर धक्का लागेको थियो । तर अझै पनि त्यस समूहका केही सदस्य सक्रिय रहेका छन् ।
उहाँलाई क्रान्तिकारी नेता कार्ल मार्क्स, भ्लादिमिर लेनिन, माओ जेन्डोङ (माओत्सेतुङ) को धार पछ्याउने चौथो ठूलो क्रान्तिकारी नेताको रूपमा लिइन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।