धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
जनादेशवालाले त्यसै पनि जनचाहनाअनुसार देश चलाउन सकेनन् । परमादेशवालाले परमात्माको पनि मन जित्ने गरी देश चलाउँछन् भन्ने धेरैलाई लागेको थियो । तर पराईको पेलाइले भन्दा आफ्नैका पिराइले परमादेशवाला पावर भएर पनि चाउरिएर बसेको छ । देश चलाउन प्रधानमन्त्री र मन्त्री चाहिँदैनन् भन्ने वास्तविकतालाई त परमादेशवालाले पुष्टि गरिसकेको छ। पशुपतिनाथले चलाउँछन् भन्नेमा पनि परमादेशवालालाई विश्वास हुन छाडेको छ । त्यसैले देशमा अध्यादेश शासनले राज गर्न थालेको छ ।
त्यसो त पहिलेका जनादेशवालालाई पनि अध्यादेश नै प्यारो थियो, अहिलेका परमादेशवालालाई पनि अध्यादेश प्यारो छ ! दुवैले उसैगरी पुल्पुल्याउन थालेपछि अध्यादेश त्यसैत्यसै भुईँमा खुट्टा टेक्न नमानेर फुरफुर छ । जनादेशवालालाई पनि जितेर परमादेशवालाले औधी भाउ दिएपछि अध्यादेशको फूर्ति बढ्ने नै भयो । नियम, कानुन र संविधानभन्दा पनि ठूलो भएँ भनेर अध्यादेश मख्ख छ ।
देशका मुख्य तीन अङ्गलाई कर्याप्पै च्यापेर कक्रक्क पारेर राख्ने हैसियतमा पुगेको अध्यादेशलाई अब देशमा सबैथोक चलाउन सक्छु भन्ने विश्वास बढेको छ । जादुलेझैँ देशमा चमत्कार गर्छु भन्ने नेता र साँच्चिकै जादु देखाउने जादुगरले भन्दा पनि बढी काम अध्यादेशले गर्न थालेपछि तपाईं हामीलाई अध्यादेशप्रति यसै पनि विश्वास बढ्ने नै भयो ।
सत्ताको खेलमा अध्यादेश ल्याएर पार्टी फुटाउन मिल्छ भने हाँडी फुटाउने खेलमा अध्यादेशबाट हाँडी फुटाउन किन मिल्दैन ? अध्यादेशले हाँडी फुटाउन सक्ने भएपछि आँखामा पट्टी बाँधेर किन लौरो उचालेर हाँडी ताक्दै तौलीतौली हिँड्नुपर्यो ? हाँडी फुटाउने खेल सुरु हुने बित्तिकै अध्यादेश ल्याउने, फुटाएपछि फिर्ता पठाउने ? तिहारमा ओखर फुटाउन र दशैँमा खसी भुत्ल्याउन पनि यसैगरी अध्यादेश ल्याएर फिर्ता गरे भइहाल्यो । ल्याउन पनि अन्त जानुपर्ने हैन, फिर्ता गर्न पनि अन्त धाउनुपर्ने हैन । ल्याएँ भन्ने ल्याउने, फिर्ता गरेँ भन्ने फिर्ता गर्ने !
आफूलाई चाहिँदा ल्याउने, काम सकेपछि फिर्ता गर्न मिल्ने अध्यादेशबाट के मात्र गर्न मिल्दैन ? अब सबैथोक मिल्छ भन्ने विश्वास बढ्दैछ । सबैभन्दा पहिले परीक्षाको तयारीमा रहेका विद्यार्थीको आत्मविश्वास बढेको छ । किताब, कापी, प्रश्नपत्रको सट्टा अध्यादेश तयार पार्ने । परीक्षामा आउन सक्ने सबै कुरा पहिल्यै थाहा पाउन मिल्ने अध्यादेश तयार गर्ने । त्यसैबाट परीक्षामा लेख्दै नलेखी पास हुने प्रबन्ध मिलाउने । परीक्षा सकेपछि र पास भएपछि अध्यादेश फिर्ता गर्ने !
विद्यार्थीलाई मात्र होइन किसानलाई पनि अध्यादेश काम लाग्छ । यसपालि धेरै पानी परेकाले किसानले तरकारी गतिलोसित फलाउन पाएनन् । तरकारी नफल्नुको कारण हो–किसानको चाहनाअनुसार हावापानी, बीउबिजन र खेतीको तौरतरिका मिलाउन सक्ने अध्यादेशको अभाव । किसानका लागि एउटा यस्तो अध्यादेश चाहियो कि अन्त पानी परे पनि तरकारीबालीमा पर्न नपाउने, परे पनि तरकारी बिगार्न नपाइने । सरकारले समयमै दिन नसक्ने मल, बीउ अध्यादेशले दिन्छ । अध्यादेशबाटै तरकारी फल्छ र किसानको खल्ती भर्छ । किसानले सोचेजस्तो प्रतिफल पाएपछि अध्यादेश फिर्ता गर्न मिल्छ ।
किसानलाई जस्तै चिन्ता व्यापारी व्यवसायीलाई पनि छ । कोरोनाले व्यापार ठप्प भयो । मालवस्तु बिकेनन् । मालवस्तु नबिके पनि आम्दानी र नाफा भइरहने, ग्राहकले नकिने पनि ढुकुटी भर्न मिल्ने अध्यादेशको खाँचो व्यापारीहरुलाई छ ।
कोरोनाकै कारण कतिको रोजगारी गुम्यो । बेरोजगारलाई जागिर मिलाइदिने या जागिर नमिले पनि तलब आउन मिल्ने अध्यादेश चाहिएको छ । सरकारले त रोजगारी दिँदैन । संविधानमा लेखिएको भए पनि पाइएको हैन । सरकार र संविधानले दिन नसकेको रोजगारी अध्यादेशले दिन्छ । बेरोजगार र कम आय भएकाहरुलाई अब यही अध्यादेशको मात्र आश लागेको छ ।
कोरोना र अरु रोग आउनै नदिने, आए पनि बाटैमा छेक्ने अध्यादेश भए अझ कति राम्रो हुन्थ्यो ! अध्यादेश ल्याएर आफू अघिल्तिरका सबै बाधा अड्काउ फुकाउन सक्ने सरकारले यता पनि पक्कै ध्यान दिएको होला ।
योभन्दा पहिले दशैँ मनाइदिने अध्यादेश चाहिएको छ । पैसा नभए पनि लुगाफाटा, खसीबोका, मरमसला घरमै ल्याइदिने अध्यादेश । खसी ल्याएर मासु पकाउने अनि त्यही खसी फिर्ता गर्ने, कपडा ल्याएर लगाउने मैलो भएपछि पसलमै फिर्ता गर्ने, मासुमा मरमसला हालेपछि त्यही मरमसला फिर्ता गर्न मिल्ने अध्यादेश !
जनादेशवाला सरकारले रेल गुडाउँछु भनेर पनि गुडाउन सकेन । पानीजहाज चलाउँछु भनेर पनि चलाउन सकेन । विकास र समृद्धिको कुरा एकादेशको कथा जस्तो भयो । यी सबै अध्यादेश नभएर हुन नसकेको हो । अब अध्यादेशले रेल पनि गुडाउँछ, पानीजहाज पनि चलाउँछ । देशमा विकास पनि गर्छ, समृद्धि पनि ल्याउँछ ।
यति भएपछि संविधान, नियम, कानुन पनि चाहिँदैन । भएर पनि नभएजस्तो नियम कानुन हुनुभन्दा त हुँदै नभएको राम्रो । प्रधानमन्त्री, मन्त्री र नेताहरु पनि चाहिँदैन । सबै कुरा अध्यादेशबाट हुन्छ । यतै अध्यादेश, उतै अध्यादेश ! नाम अध्यादेश भाषा गद्यादेश । हुँदा हुँदा अब अध्यादेशले नै सिध्यादेश!
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।