एमसीसीबारे देउवा र प्रचण्डमा एक जनाले झुट बाेले : केपी ओली

 कात्तिक २२, २०७८ सोमबार १८:१४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

माेरङ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिनुभएको छ ।

एमसीसी पास गर्ने भनेर पत्राचार गरिएको प्रधानमन्त्री देउवाको भनाइ र त्यस्तो पत्र नपठाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिमध्ये एक झुट भएको उल्लेख गर्दै अध्यक्ष ओलीले झुट बोल्ने काम नगर्न सचेत गराउनुभएको हो । 

आज सोमवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, ‘शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नु हुन्छ । प्रचण्ड दिएको छैन भन्नुहुन्छ । दुइ जनामध्ये एक जनाले झुट बोल्याजस्तो देखिएन ? त्यस्तो झुट बोल्नु हुँदैन ।’

केही दिनअघि प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने भनेर आफू र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्राचार गरिसकेकाे बताउनुभएकाे थियाे । तर देउवाकाे याे भनाइकाे खण्डन गर्दै प्रचण्डले थप समयका लागि मात्र पत्राकार गरिएकाे बताउनुभएकाे थियाे । 

अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने अडान दोहोर्‍याउनुभयो । उहाँले प्रधानन्यायाधीश जबरासहित सबै न्यायाधीशले संविधानको पालना नगरेको आरोपसमेत लगाउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘सबै जना राजीनामा दिनुपर्ने खालको हुनुहुन्छ । उहाँहरू कसैले पनि अदालतको मर्यादा बचाउनुभएको छैन । संविधानको पालना कसैले गर्नुभएको छैन । संविधानको व्याख्यातासम्म हो अदालत । संविधान परिवर्तन गर्ने, संविधान हेरफेर गर्ने होइन । उसले संविधानको व्याख्या गरेन बरु आफैँ संविधानको अनेक धारा सृजना गर्‍याे ।’

अध्यक्ष ओलीले संविधान परिवर्तन गर्ने र हेरफेर गर्ने काम अदालतको नभएको स्मरण गराउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया