भारतमा मजदुरी गर्ने नेपालीकाे गुनासाे – ‘नेपालकाे राेजगारी भाषणमै सीमित’

 मंसिर ३, २०७८ शुक्रबार १५:४१:५२ | रासस
unn.prixa.net

भारतको उत्तराखण्डमा पर्ने पर्यटकीय नगरी नैनितालमा भारी बोक्दै गरेकाे अवस्थामा भेटिनुभएका कालिकोटका ३८ वर्षीय नवीन रावतले नैनीताल क्षेत्रमा मजदुरी गर्न थालेको आठ वर्ष भयो । आर्थिकरुपले घरायसी अवस्था नाजुक भएपछि परिवारको पालनपोषण गर्न भन्दै मजदुरीका लागि नैनिताल पुग्नुभएका रावलको कमाइले अहिले कालिकोटमा परिवारको खर्च टरेको बताउनुहुन्छ । 

“गाउँघरमा केही रोजगारी वा आयमूलक काम पाएको भए अर्काको देशमा भारी बोक्ने रहर थिएन्”, उहाँले भन्नुभयो, “युवालाई रोजगारी दिने विषयमा चर्चा बढी भयो तर प्राथमिकतामा परेन् ।”​

नैनीताल क्षेत्र र आसपासमा प्रायः नेपाली नै भारी बोक्ने र सडक लगायत पूर्वाधार निर्माणको काममा मजदुरी गरिरहेका प्रशस्तै भेटिन्छन् । “हाम्रो जस्तो दुःखको काम यहाँ भारतीयले गर्न आँटसम्म गर्दैनन्”, रावलले भन्नुभयो, “यहाँ युवादेखि वृद्धसम्म मजदुरीमा सक्रिय छन् ।”

उहाँले देशमा व्यवस्था परिर्वतन भए पनि बेरोजगार युवाको व्यथा बुझ्ने अवस्था नआएको बताउनुभयो । “युवा शक्ति श्रम गर्न भारतलगायत तेस्रो देशमा छन्”, उहाँले भन्नुभयो, “नेताहरुले सपना देखेको समृद्धिको बाटोमा जान युवा शक्तिलाई देशभित्रै राख्नसके मात्रै सम्भव होला ।”

सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश नागरिकको रोजगारीको गन्तव्य अझै भारत नै हो । सुदूरपश्चिमको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक सयौँ नागरिक रोजगारीका लागि भारत जानेक्रम दैनिकजसो चलिरहेको छ ।

त्यसैगरी नैनीतालमा होटलमा गार्डका रुपमा कार्यरत सुर्खेतका वीरबहादुर बुढाले रोजगारीका लागि बाध्यताले आफू यहाँ आएको बताउनुभयो । “नैनीतालको हावा पानी राम्रो भएकाले यहाँ १० वर्षदेखि कार्यरत छु”, ६१ वर्षीय बुढाले भन्नुभयो, “गाउँघरमा त्यसै बस्नुभन्दा यहाँ साहुले नौ हजार तलब दिएको छ ।”

उहाँले पनि देशभित्र परिर्वतन आए पनि विपन्न र युवाका लागि परिर्वतनको कुनै आभास नभएको बताउनुभयो । “नैनीतालमा दिनभरि भारी बोकेर साँझको छाक टार्ने मजदुरलाई केको परिर्वतन ?”, उहाँले भन्नुभयो, “युवाशक्तिलाई देशको हितमा प्रयोग गर्न नसक्दा बाहिरिनुको विकल्प छैन ।”

त्यसैगरी जुम्लाका कविन्द्र शाहीले आफू भारतमा मजदुरी गर्न आउन थालेको २३ वर्ष भएको बताउनुभयो । “नेपाली श्रमिकलाई भारतले प्रयोग गरेर विकासको फड्को मारिसक्यो”, शाहीले भन्नुभयो, “हाम्रो नेपालमा विकासका नाउँमा गफै बढी भयो ।”

शाहीले भारतबाट कमाएको रकमले छोराछोरीको पढाई, घरखर्च चलाउनुका साथै घडेरीसम्म खरिद गरेको बताउनुभयो । “अर्काको देशमा हप्कीदप्की सहेर काम गर्नुपर्छ तर हामीकहाँ काम पाउने ठेगान नै हुँदैन”, उहाँले भन्नुभयो, “नैनीतालमा होटल, भारी बोक्ने, सडकमा ज्यालादारी गर्ने प्रायः नेपाली नै छन् ।”

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया