कांग्रेस सभापतिकाे मतदान : राति १० बजेदेखि गणना सुरु हुने, मध्यरातिसम्म नतिजा घोषणा गर्ने तयारी

 मंसिर २८, २०७८ मंगलबार २०:०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको गणना आज मङ्गलवार राति नै हुने भएको छ । अहिलेसम्म तीन हजार जनाभन्दा धेरैले मतदान गरेका छन् ।

मतदान सकिएपछि मतगणना सुरु गरेर मध्यरातिसम्म मत परिणाम सार्वजनिक गर्ने कांग्रेस चौधौँ राष्ट्रिय महाधिवेशन मिडिया सेन्टर संयोजक डाक्टर सुरेश आचार्यले जानकारी दिनुभयो ।

कांग्रेसको १४ औँ महाधिवेशनमा चार हजार सात सय ४३ जना प्रतिनिधि रहेकामा हिजो साेमवार पहिलो चरणमा चार हजार ६ सय ७९ मत खसेको थियो । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याएका उम्मेदवारहरू शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भइरहेकाे हाे । बाँकी तीनै जना उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई समर्थन गरेका छन् ।

पहिलो चरणमा देउवाले सबैभन्दा धेरै दुई हजार दुई सय ५८ मत प्राप्त गर्नुभएको थियो । यस्तै कोइरालाले एक हजार सात सय दुई, निधिले दुई सय ४९, सिंहले तीन सय ७१ र गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो ।

उम्मेदवारहरूको समर्थनअनुसार प्रतिनिधिहरूले मत हालेमा सभापति पदमा देउवाको जित निश्चित जस्तै छ ।

यसैबीच सभापतिबाहेकका अरू पदको मतगणना भने पर्सि बिहीवारदेखि मात्र सुरु गर्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ । अरू पदमा भने उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत ल्याउनैपर्ने बाध्यता छैन । बढी मत ल्याउने उम्मेदवार विजयी हुन्छन् । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया