संसदमा अवराेध गरेर एमालेले संविधानलाई नै चुनौती दिइरहेकाे छ : अध्यक्ष नेपाल

 पुष ४, २०७८ आइतबार १९:३८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) ले सर्वोच्च अदालतको फैसला विपरीत संसदमा अवराेध गरिरहेकाे बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुअघि दलको ह्विप नलाग्ने सर्वोच्च अदालतको फैसला विपरीत गएर एमालेले संसद् अवराेध पार्ने काम गरिरहेको आरोप लगाउनुभएको हो ।

आज आइतवार काठमाण्डाैमा आयोजित पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा बोल्दै उहाँले केपी ओली अदालतको त्याे फैसलालाई मान्ने पक्षमा नरहेको पनि बताउनुभयाे । उहाँले सर्वोच्च अदालतको त्याे फैसलालाई अस्वीकार गर्दै संसदमा अवराेध गरेर एमालेले संविधानलाई नै चुनौती दिने काम गरेको तर्कसमेत गर्नुभयो । अध्यक्ष नेपालले अदालतको फैसलालाई स्वीकार नगर्नेले संविधानको ढाडस दिँदै संसदमा अवराेध गर्नुको कुनै अर्थ नहुने दोहोर्‍याउनुभयाे । 

उहाँले भन्नुभयो, ‘जुन व्यक्तिले विधि, विधानलाई मान्दैन । संविधानको प्रावधानलाई स्वीकार गर्दैन । कानुनी शासनको मान्यतालाई अङ्गीकार गर्दैन । अदालतको आदेशलाई स्वीकार गर्दैन । अदालतमा विचाराधीन मुद्दामाथि बहस गर्न पाइँदैन । छलफल गर्न पाइदैन संसदमा । ती विषय संसदमा ल्याउन पाइँदैन भन्ने मान्यतालाई कुल्चिन खोज्दछ । त्यही ठूल्ठूला स्वरले कराइरहेको, चिच्याइरहेको सुनिन्छ । नेपालीमा एउटा उखान छ– जो चोर उसैको ठूलो स्वर । त्यसो हुनाले तपाईँलाई थाहा छ– हाम्रो पार्टीको निर्माण हुनुभन्दा पहिले नै सर्वोच्च अदालतमा हामीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेका थियौँ । त्यतिखेर जब हामीले उहाँको नाम अगाडि सारेका थियौँ, सारिसकेपछि अदालतले फैसला गर्‍याे । अदालतले संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत गठन हुने नयाँ सरकार यस प्रक्रियामा कसैले सहभागी भयो भन्दैमा, विरोधको कुरा उठायो भन्दैमा वा फरक मत राख्यो भन्दैमा ह्विप उल्लङ्घन लाग्दैन । कानुनी राज्यको मान्यतालाई स्वीकार गर्नेले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्नुपर्ने हुन्छ । तर केपी ओलीको यो गुट कसैले फैसलालाई मान्ने पक्षमा छैन । जनताको जनादेशलाई पनि स्वीकार गर्दैन । जनताका निर्णयलाई पनि अङ्गीकार गर्दैन । जनतालाई उसले टेर्दैन । कानुनलाई वास्ता गर्दैन । संविधानलाई उसले चुनौती दिने काम गर्छ । संविधानलाई चुनौती दिएरै संविधान विपरीतको कदम चालेको तपाईँलाई थाहा छ ।’

अध्यक्ष नेपालले एमालेले अदालतमा विचाराधीन मुद्दालाई उठान गरेर संसदमा अवराेध पार्न नपाउने पनि बताउनुभयो । आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेको दाबी गर्दै उहाँले विरोधीहरूमा छटपटाहट आएको बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया