धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो राजनीतिक प्रस्ताव पेस गरेपछि नेताहरूलाई त्यसमाथि छलफल गर्ने हतारो छ ।
त्यहीँ रहनुभएका जुम्लाका नन्दराम विश्वकर्मालाई भने अर्कै हतारो छ । उहाँ नेता/कार्यकर्ता जमघट हुने ठाउँमा अल्लोको इस्टकाेट बेच्ने काम गर्नुहुन्छ । माओवादीको महाधिवेशन उद्घाटन सत्रमा पाँच वटा इस्टकाेट बेचेपछि उत्साहित विश्वकर्मा बन्द सत्रमा पनि यसैगरी बेच्न प्रज्ञा प्रतिष्ठान गेटमा पुग्नुभएको हो । तर उहाँ भित्र छिर्न पाउनुभएन ।
‘खोइ किन हो छिर्न दिएनन्’ हिजो बेचेको इस्टकोटको उत्साहमा खुसी मिसाउने उहाँको चाहना एकाध घण्टा पर धकेलियो । ‘पछि भने छिर्न दिए’, उहाँले भन्नुभयो ।
जुम्लाको सिंजा, लाहर्जा, कनकासुन्दरी गाउँपालिकादेखि जहान, बच्चा पाल्नकै लागि काठमाण्डौ आएर इस्टकोट बेच्न थाल्नुभएको हो नन्दरामले ।
अल्लोको कपडाको माग बिस्तारै बढ्न थालेपछि र अझ छिमेकी राष्ट्र भारतका नरेन्द्र मोदीको लोकप्रियतासँगै मोदी कोटको पनि चर्चा चुलिएपछि इस्टकोटले बजारमा राम्रो कमाइ गरिरहेको छ ।
नेपालीहरूको रोजाइमा परेको इस्टकोट पछि पश्चिमाहरूबाट नक्कल भएर वेस्टकोट अनि जवाहरलाल नेहरुपछि ज्वारीकोट हुँदै अहिले मोदी कोट भएको छ ।
कांग्रेसको महाधिवेशनमा राम्रै बिक्री भएपछि हौसिएको बताउँदै उहाँले भन्नुभयो, ‘कांग्रेस महाधिवेशनमा दश–बाह्र वटा बेचेको थिएँ । अहिले पनि पाँच वटा बेचेँ ।’
पहिले–पहिले विदेश जाने गरे पनि कोरोनाका कारण लकडाउन भएर विदेश पठाउन नसकिएकोले व्यापार त्यति हुन नसकेको विश्वकर्माले बताउनुभयो ।
कपडा जुम्लामै हाते तानमा बनाउने र त्यसपछि इस्टकोट भने बौद्धमा ल्याएर सिउने गरिएको बताउँदै नन्दराम ठट्यौली पारामा भन्नुहुन्छ, ‘जुम्लामा दुब्ला मान्छे हुन्छन् । मोटा मान्छे हुन्नन् । काठमाण्डौमा मोटा–मोटा मान्छे हुन्छन्, त्यही भएर यहाँ साइज–साइजका सिएर ल्याउनुपर्छ भनेर मोदीले भनेका छन् ।’
एउटा इस्टकोट भन्नलाई १५ सय भने पनि एक हजारसम्म बेच्ने गरेको उहाँले बताउनुभयो । ‘मिला–मिला भाइ भन्छन् अनि मिलाएपछि हजारभन्दा कममा चाहिँ बेच्ने गरेको छैन । तर त्यसमा पनि त्यति धेरै फाइदा छैन’, उहाँले इस्टकोट मिलाउँदै भन्नुभयो, ‘हजारभन्दा कममा बेचेर कसरी बालबच्चा पाल्नु ।’
यो उमेरमा अब विदेश जान पनि नसकिने बताउँदै नन्दराम भन्नुहुन्छ, ‘भर्खरका त विदेश गएर पनि कमाउँछन् । थोरैमा बेचेर हामीले कसरी ज्यान पाल्नु अनि बालबच्चा पाल्नु ।’
अहिले कपडाको भन्दा पनि ज्याला महँगो भएका कारण इस्टकोट महँगो पर्न गएको भनाइ छ उहाँको । एउटा इस्टकोट हजारमा बेच्दा तीन/चार सय फाइदा हुने पनि उहाँले बताउनुभयो ।
गर्मीमा इस्टकोट धेरै बिक्री नहुने हुँदा पछिल्लो पटक चर्चामा रहेको मार्सी चामल, स्याउ तथा ओखर खेती गर्न उहाँ जुम्ला जाने गर्नुहुन्छ ।
दुई छोरा तथा एक छोरीका साथ उहाँ बौद्धमा बस्नुहुन्छ । छोराछोरी सबै समता निकेतनमा पढ्छन् । ‘यस्तरी कमाइ खाइकन ठूलो बोर्डिङमा पढाउन सकिन्न । समतामा नपढाएर के गर्नु’, नन्दरामले गुनासो गर्नुभयो ।
उहाँका अनुसार अहिले अल्लोको कोटको कपडाको तीन हजार, ३५ सय पर्छ । र कपडाले नै उहाँको खर्च चलेको छ । ‘कोटको कपडा भन्दा इस्टकोट अलि धेरै बिक्छ’, उहाँ भन्नुहुन्छ, ‘इस्टकोटको व्यापार नभएको बेला अरू कुनै व्यापार/व्यवसाय छैन ।’
लकडाउनको समय भने उहाँको गाउँमै बित्यो । गाउँमा लकडाउन नभएका कारण खेतीपाती पनि धेरै भए । ‘त्यस बेला मकै धान, सिमी लगाइयो । जुम्लामा पनि सबै खेती हुन्छ’, उहाँले भन्नुभयो ।
उहाँको अहिलेसम्म धेरै व्यापार भएको भनेको एकै दिनमा ६/७ हजार रुपैयाँ हो । थोरैमा चार/पाँच सय रुपैयाँको व्यापार हुन्छ । ‘कहिलेकाहीँ भने नभएर भोकै पनि परिन्छ’, उहाँ भन्नुहुन्छ, ‘गरिबको जिन्दगी हालत थाहै छ त ।’
कांग्रेसको महाधिवेशनमा चार दिनमा उहाँका ३०/३५ हजारको इस्टकोट बिकेका थिए । त्यस कारण पनि उहाँले माओवादीको महाधिवेशन ताक्नुभएको थियो इस्टकोट बेच्न । ‘यहाँ पनि त्यही भएर आएको तर धेरै बिकेन । भित्रै जान पनि दिएनन् के बिक्नु’, नन्दरामकाे गुनासो थियो ।
महाधिवेशन राजनीतिक पार्टीका लागि नीति निर्माण र भावी दिनका लागि एउटा कार्यदिशा त छँदैछ तर महाधिवेशन यस्ता साना, खुद्रा व्यापारीका लागि व्यापार गर्ने एउटा अवसर पनि बनेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।