कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले क्यासिनो सञ्चालन गरेबापत राजस्व नतिरी भाग्न लागेका माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाएकाे हाे ।
नेपाल सरकारलाई १३ करोड रुपैयाँ राजस्व तिर्नु पर्ने देखिए पनि अहिलेसम्म नतिरी गएराति भाग्न लागेकाले मन्त्री आलेको निर्देशनमा उनलाई नेपाल छोड्न रोक लगाइएको मन्त्रालयले जनाएको छ ।
बोल्सोभरले ओसीपी एसियाको लगानीमा साङ्ग्रिला होटल लाजिम्पाट र भैरहवामा रहेकाे टाइगर प्यालेसमा सञ्चालित दुई वटा क्यासिनोको राजस्व नतिरेर गएराति भाग्न लागेका थिए ।
मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा गएराति १० बजे साउथ अमेरिका उड्न लागेका क्यासिनोका निमित्त सीईओ बोल्सोभरलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको बताइएको छ ।
बोल्सोभरले सञ्चालन गरेका दुई वटा क्यासिनोले प्रति क्यासिनो ६ करोड ५० लाख रुपैयाँका दरले दुई क्यासिनोको १३ करोड रुपैयाँ पुस मसान्तभित्र दाखिला गर्नुपर्नेमा अटेर गरी भाग्न लागेको थाहा पाएपछि नेपाल छोड्न रोक लगाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
मन्त्री आलेको निर्देशनमा नेपालमा सञ्चालनमा रहेका ८ वटा क्यासिनो कम्पनीले कम्तीमा पनि ४० करोड रुपैयाँ सरकारको खातामा राजस्व दाखिला गरेका छन् भने एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले भने १३ करोड रुपैयाँ राजस्व नबुझाएको बताइएको छ।
एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले तिलोत्तमा नगरपालिका–६ भैरहवामा २३ कठ्ठा सरकारी जग्गामा पाँच तारे होटल गैर कानुनी ढङ्गले सञ्चालन गरेको आरोप छ । सर्वोच्च अदालतले समेत यस कम्पनीलाई कुनै कारोबार नगर्न आदेश दिएको थियो।
सर्वोच्च अदालतको आदेश विपरीत क्यासिनो र होटल सञ्चालन गर्दै आएका त्यस कम्पनीका सीईओ राजस्व नबुझाएर मध्यरातमा नेपाल छाड्दै गर्दा विमानस्थलमै राेकिएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।