काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
धोबीखोला करिडोरमा प्रमिलाले गाडामा खाजा पसल गरेको दुई वर्ष भयो । लकडाउनले जीवन कष्टकर भएपछि उहाँले गाडामा खाजा पसल सुरु गर्नु भएको हो । स्थायी घर धनगढी बताउने प्रमिलाको यसअघि खासै त्यस्तो काम थिएन । तर, काठमाण्डौको महँगो बसाइमा जीवन यापन गर्न गाह्रो भएपछि भने उहाँले ललितपुर तथा कमलपोखरीमा मःम बनाउने तालिम समेत लिनुभयो । अनि त्यसपछि सुरु भएको हो उहाँको गाडाको खाजा पसल ।
व्यापारका हकमा भने उहाँको गाडा पसलबाट कहिले ४/५ हजार रुपैयाँ तथा कहिले १/२ हजार रुपैयाँ हुन्छ । नाफा भने सालाखाला दैनिक ६/७ सय रुपैयाँ हुन्छ ।
सबै चिजको मूल्य बढेको छ । एक सिलिण्डर ग्याँसको १५ सय ७५ पर्छ जसले मुश्किलले १० दिन भ्याउँछ । यसरी झण्डै दिनको १ सय ६० को ग्याँस खर्च हुन्छ । प्याज पनि किलोको ८० रुपैयाँ छ । आलु पनि सस्तो कहाँ छ र १ सय २० रुपैयाँ छ धार्नीको । प्याज र आलु भने दिनको यति नै जान्छ भन्ने छैन । ग्राहक धेरै आए छिटै सकिन्छ नआए बाँकी रहन्छ ।
यी सबै महँगो सामानको खाजा बेच्ने दर भने यस्तो छ प्रमिलाको, भेज मःम ९० रुपैयाँ, चिकेन १ सय रुपैयाँ, भेज चाउमिन ८० रुपैयाँ, ननभेज १ सय रुपैयाँ, आलु चप १० रुपैयाँ यस्तै छ यहाँको मेनु । तिमल्सिनाको गाडामा कुखुराको फिला, पखेटा आदि पनि पाइन्छ ।
‘अरुको भाडा तिनुपर्ने हुँदा महँगो छ । हाम्रो भने भाडा तिर्नु पर्दैन त्यसैले अन्त भन्दा सस्तो छ’ मःम प्लेटमा हाल्दै प्रमिलाले भन्नुभयो, ‘सामान महँगो भएकोले पहिले जस्तो कमाइ छैन ।
कोभिडले गरेर ग्राहक भनेजत्ति आउँदैनन् नत्र केही फाइदा हुन्थ्यो कि ! उहाँको पसलमा ज्याला मजदुरी गर्ने, ट्याक्सी चालक, स्थानीय र यसो बाटो परेका बेला ल चाखिहालौँ न त भन्नेहरु आउँछन् । खानेले मिठै भन्ने गरेका छन् ।
कमाइ थोरै भए पनि उहाँको ४ जनाको परिवार राम्रै चलेको छ । एक छोरा, छोरी अनि उहाँको बुढाबुढी । घरभाडा ८ हजार तथा बच्चाको स्कुलमा ४ हजार तिर्नुपर्छ । अन्य खर्च छँदैछ । गाडाले सबै खर्च नधाने पनि आधा जसो भरथेग गरेको छ । खानलाई पुगेको छ प्रमिलालाई ।
‘केटाकेटी पढाउन पर्यो । घरभाडा तिर्नुपर्यो’ भन्नुहुन्छ प्रमिला, ‘घरबेटीले भाडा माग्छन् कहाँबाट ल्याएर तिर्नु । एक, दुई दिन त पर्खिन्छन् । पछि त भनेकै दिनमा दिनुपर्छ । ऋण पनि तिर्नै पर्यो ।’
उहाँ बस्ने चोकमा जसरी गाडी र मोटरसाइकलवालालाई आफ्नो गन्तव्यमा पुग्ने हतारो देखिन्छ । उहाँलाई पनि दिउँसो एक बजे हतार हुन्छ चोकमा आइपुग्न । हतार गर्दा खाजा बनाउने सामान तयार नहोला र छुट्ला भन्ने चिन्ता पनि छ ।
ग्राहक छुट्ला भन्ने अर्को चिन्ता छँदैछ । कोही ग्राहक कुरिरहेका हुनसक्छन् वा कोही आफूले पसल ल्याउन ढिलो भयो भनेर आफ्नो पेटको अग्नी समन गर्न अन्तै लाग्न सक्छन् । हुँदा खाँदाका आफ्ना ग्राहक र यसो हुने दुई चार पैसाकै कमाइ भए पनि किन छोड्नु भन्ने लाग्छ उहाँलाई । काठमाण्डौमा उसै त बाँच्नै गाह्रो छ ।
कतिपय उहाँका आफन्तले के गाडामा पसल राखेर बसेको भनेर हतोत्साही नबनाएको पनि होइन । तर, काम गरेर खान लाज लाग्दैन उहाँलाई । ‘चोरेर, ढाँटेर खान पो लाज ! काम गरेर खान के लाज । भन्नेले मेरो कोठा भाडा पनि तिर्दिँदैनन्, बच्चाको फी पनि तिर्दिंदैनन्, रासन, ग्याँस केही पनि दिँदैनन्’ तिमल्सिना भन्नुहुन्छ ।
मःम लगायतका खानेकुराका लागि आवश्यक सामान कोठामा तयार ल्याउनुहुन्छ तिमल्सिना । खाजा भने ग्राहकले अर्डर गरेपछि ग्राहकको आँखा अगाडि नै तयार हुन्छ । कसैले फोन गरेर खाजा अर्डर गर्यो भने पनि पन्ध्र, बीस मिनेटमा तयार हुन्छ । ‘नजरको अगाडि नै बनाउँदा सामान बासी छैन, बिग्रेको छैन भन्ने थाहा हुन्छ’ प्रमिला भन्नुहुन्छ ।
उहाँ स्वास्थ्यप्रति सचेत देखिनुहुन्छ । खाजा बनाउन सनफ्लावर तेल नै प्रयोग हुन्छ भने खाजा बनाउँदा पनि पञ्जा लगाउने गर्नु भएको छ । एक लिटर तेलले एक दिन पुग्छ । खाजा दिँदा तेलमा नै तताएर दिनुपर्ने हुँदा तेल खासै बढी हुँदैन पनि । बढी भएको तेल अर्को दिन प्रयोग गर्ने गर्नु भएको छैन ।
खाजा खान आउने ग्राहकलाई जारकै पानीको व्यवस्था छ । ‘अरु पानी ख्वायो भने त्यसकोमा पानी त नराम्रो दिन्छ भनेर ग्राहक आउँदैनन्’, उहाँ भन्नुहुन्छ, ‘तेलका कारण कुनै समस्या आएको छैन । कसैले आजसम्म बिरामी भएँ भनेको छैन ।’
ग्राहकलाई आकर्षित गर्न उहाँले गाडाको पनि राम्रो सजावट गर्नु भएको छ । निरख खाजा घर लेखिएको रातो फ्लेक्स झुण्डिएको छ गाडाको तलपट्टि । साथै खाजाको परिकारका जस्तै मःम, चाउमिन, आलुचप आदिका फ्लेक्सका साना–साना चित्र झुण्डिएका छन् गाडाको माथिल्लो भागमा ।
गाडा बनाउन उहाँलाई २५ हजार रुपैयाँ लाग्यो । ऋण केही बाँकी नै छ । केही दिन अगाडि गाडीले हानेर गाडा कामै नलाग्ने भयो । गाडीवाला भाग्यो । बनाउन अर्को १० हजार लाग्यो । चिया त्यति बिक्री नहुने तथा ग्याँस पनि धेरै लाग्ने कारणले चिया भने राख्नु भएको छैन । गाडाले दैनिक जीवन धेरै नै सजिलो बनाएको अनुभव छ तिमल्सिनाको ।
अनामनगर चोकबाट पूर्वपट्टी लागेपछि धोबीखोलामा एउटा पक्की पुल आउँछ । पुल तर्ने बित्तिकै आउँछ उहाँको पसल । जहाँबाट बानेश्वर सहजै जान सकिन्छ भने धोबीखोला करिडोर बनेपछि मुख्य सडकमा हुने जाम कम भएको छ । साथै पाटनदेखि चाबहिल तथा सहरका धेरैजसो भित्री भागमा जान पनि सजिलो भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।