महिला भलिबल टोलीसहित प्रिन्स दाहाल र प्रशिक्षक अलमुताइरी पनि सम्मानित

 माघ २१, २०७८ शुक्रबार १५:३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले बङ्गबन्धु एसिएन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिपका विजेता राष्ट्रिय महिला भलिबल टोलीलाई आज शुक्रवार सम्मान र पुरस्कार प्रदान गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गर्नुभएको हो । याे प्रतियोगिता बङ्गलादेशको राजधानी ढाकामा गएकाे पुस ६ देखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

भलिबल टोलीले राष्ट्रको गौरव बढाएको भन्दै सरकारले कदर गर्दै पुरस्कार र सम्मान प्रदान गरेको हो । कार्यक्रमा प्रधानमन्त्री देउवाले खेलकुद देशको नाम र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने महत्त्वपूर्ण र प्रभावकारी माध्यम भएको भन्दै खेलाडीको सुविधा विस्तारको विषयमा आवश्यक व्यवस्था मिलाउन सरकारले पहल गर्ने बताउनुभयो । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले विश्व ब्याडमिन्टन महासङ्घको पुरुष जुनियर एकलतर्फ विश्व वरीयताको शीर्ष स्थानमा पर्न सफल भएका प्रिन्स दाहाललाई पनि बधाई दिनुभयो । फुटबलको क्षेत्रमा नेपाली खेलाडीलाई निरन्तर कुशल प्रशिक्षण दिइरहेका प्रशिक्षक अबदुल्लाह अलमुताइरीलाई पनि उहाँले धन्यवाद दिनुभयो । 

सरकारले एसिएन सेन्ट्रल जोन महिला भलिबलका टोलीका १२ खेलाडीलाई जनही पाँच लाख, प्रमुख प्रशिक्षक र प्रशिक्षकलाई तीन–तीन लाख तथा टोली व्यवस्थापकलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ । सम्मानित हुने खेलाडीमा अरुणा शाही (कप्तान), मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु छन् । त्यस्तै सम्मानित हुने अन्यमा टोलीको मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसी छन् । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया