एमसीसी नलिँदा नेपालकाे अर्थतन्त्रमा सङ्कट आउन सक्छ : सुरेन्द्र पाण्डे

 फागुन १३, २०७८ शुक्रबार १७:१२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसी सम्झाैतालाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा सङ्कट आउन सक्ने बताउनुभएको छ । 

आज शुक्रवार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरुको खोजी’ विषयक अन्तरक्रियामा बोल्दै उपाध्यक्ष पाण्डेले नेपालले एमसीसी अस्वीकार गर्दा आर्थिक सङ्कट आइपर्न सक्ने बताउनुभएको हो । 

एमसीसी सम्झौतालाई नेपालले अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक रूपमा जोखिम र सङ्कट पैदा हुन सक्ने उहाँले बताउनुभयो । अमेरिकाको सहयोग अस्वीकार गर्दा अन्य शक्ति राष्ट्रहरूले पनि नेपाललाई आर्थिक सहयोग गर्न हिचकिचाउने उपाध्यक्ष पाण्डेले बताउनुभयो । नेपालमा धेरै रेमिट्यान्स भित्रिने देशहरूसँग अमेरिकाको निकट सम्बन्ध रहेको भन्दै उहाँले ती देशहरूसँग अमेरिकाले नेपालबारे असहमति राखेको खण्डमा सङ्कटमा फस्न सकिने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले विश्व बैंक, दक्षिण एसियाली बैंकले नेपालले निश्चित सहयोग दिने गर्दछ । अन्तर्राष्ट्रिय मुद्रा काेषले पनि केही दिन अगाडि ४० करोड डलर हामीलाई कर्जा दिएको छ । यसले हामीलाई विदेशी मुद्रामा आइपर्ने चापलाई केही न केही सन्तुलन गर्ने मद्दत गरिरहेको छ । यो सम्बन्ध ५५ अर्ब रुपैयाँकाे एमसीसी नलिने कुरासँग केही छैन । तर अमेरिकाले तिमीले लिएनौ, मैले दिन्नँ, अन्त बाँडिदिन्छु भनेर सहज रूपमा लिएर गयो भने प्रश्न छैन । तर नेपालजस्तो देशले मेरो पैसा नलिने भनेर अप्ठ्याराेमा पार्‍याे भने हामी जोखिम र सङ्कटतर्फ प्रवेश गर्छाैँ । एमसीसीको कारण हेरेर अमेरिका हिँड्दैन । त्यसलाई आउनै पर्‍याे भने कारण नै हेर्दैन । अफगानस्थान आउँदा पनि कारण हेरेको होइन, इराकमा जाँदा पनि कारण हेरेको थिएन । उसलाई जे लाग्छ, त्यो हेर्छ । हामीले अमेरिकाबाट झन्डै २५ अर्ब रुपैयाँ प्राप्त गर्छाैँ । राेजगारीकै कुरा गर्दा कतारबाट सबैभन्दा धेरै रेमिट्यान्स आउँछ । दोस्रो मलेसियाबाट, तेस्रो साउदीबाट, चौथो अमेरिकाबाट र पाँचौँ यूएईबाट आउँछ । यसरी झन्डै १५ देशबाट हामीले मुख्य रूपमा रेमिट्यान्स प्राप्त गर्छाैँ । यी सबै शक्तिहरू कुनै न कुनै रूपले 'ग्लोबल पावर एक्सिस' मा अमेरिकासँग निकट अवस्थामा छन् । यसमा अरू देशलाई अमेरिकाले अलिकित पनि नेपालतर्फ निरुत्साहित गरिदियाे भने हामी सङ्कटमा फस्छाैँ । याे कुरामा हामी गम्भीर हुनुपर्छ । समय छ । समयमा नै हामीले परसम्म नेतृत्व क्षमता देखाउन सक्यौँ भने देशलाई लिएर जान सक्छौँ ।’

उपाध्यक्ष पाण्डेले देशको अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थतन्त्रको सम्बन्धमा गम्भीर हुनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया