हेर्दाहेर्दै फेरिएको ‘जगमदु पुखु’ अर्थात् जग नभएको पोखरी

 चैत २, २०७८ बुधबार १२:०:८ | वैद्यनाथ पाैडेल
unn.prixa.net

ललितपुर – पाटनढोका नजिकै रहेको ‘जगमदु पुखु’ अर्थात जग नभएको पोखरी अहिले युवायुवती, केटोकटी तथा ज्येष्ठ नागरिकका लागि आकर्षणको थलो बनेको छ । चारैतिर पर्खाल बीचमा मन्दिर अनि पाटी । मन्दिर तथा पाटीमा जानका लागि पोखरीको बीचमा तेलिया इँटा छापिएको आकर्षक बाटो । बाटोमा वरपर हरियालीसहित गमला । 

पोखरीमा आनन्दले पौडिरहेका हाँस । हाँसलाई जिस्क्याउँदै डुंगामा रमाइरहेका मानिस । कोही माछा तथा हाँसलाई चारो हाल्दैछन् भने कोही फोटो खिच्नमा मस्त । युवायुवती गफिन तथा ‘फोटो सेसन’मा रमाएका छन् । साना केटाकेटी पनि बुवाआमासँग पानी हेर्दै रमाएका देखिन्छन् । 

ललितपुर महानगरको वडा नं २० पिम्बहालमा पर्ने जग मदु पुखु संरक्षण समितिले पोखरी संरक्षण गर्दै आएको छ । पोखरीलाई आजको सुधारिएको तथा आकर्षणको केन्द्र भने त्यहीँका स्थानीयले संरक्षण समिति बनाएपछि सुरु भएको हो । यसमा अरु सहयोगी हात र मन पनि जोडिएपछि भने यो संरक्षण तथा आकर्षणको अर्को नमूना बनेको छ ।

पोखरीको प्रवेशद्वारमा रहेको फल्चा (पाटी) मा शितल ताप्दै बसिरहनु भएका स्थानीय आशामरु महर्जनका अनुसार पहिले जगमदु पोखरी अहिलेको जस्तो थिएन । पोखरी सबै जलकुम्भीले ढाकिएको थियो । पाँच/छ फीट थिए जलकुम्भी । बच्चाहरु यसो खेल्न आउँथे । फोहोर थियो । मौका मिले नजिकैकाले पनि फोहोर फाल्थे । 

‘पहिले पोखरी यति राम्रो सफा र आकर्षक थिएन । मन्दिर भित्रको बाटोमा पनि झारहरु उम्रेका हुन्थे । वरिपरिको बाटो पनि अहिले जस्तो राम्रो सफा थिएन’ महर्जन भन्नुहुन्छ, ‘पहिले यहाँ बस्ने ठाउँ पनि थिएन । पोखरीमा पनि झार थियो । वरिपरि फोहोर थियो ।’

महर्जनलाई यहाँ पानी यति राम्रोसँग जमेको त्यति याद छैन । हिउँदमा पानी सुक्थ्यो अनि पानी राम्रोसँग जम्दैन थियो । पहिले मन्दिर पनि त्यति आकर्षक थिएन । पाटी पनि खास राम्रो थिएन । ‘यो पोखरीको स्वरुप यसरी फेरिएला भन्ने लागेकै थिएन’ महर्जन भन्नुहुन्छ, ‘तर, अहिले हेर्दा हेर्दै हाम्रै आँखा अगाडि यो पोखरीको मुहार फेरिएको छ ।’

डुँगा, माछा तथा हाँस

पोखरीमा खुट्टाले चलाउने डुँगा पनि राखिएको छ । डुँगामा एकपटक पोखरी घुम्न एक जनाको ५० रुपैयाँ लाग्छ । भर्खरै डुँगा शयर गरेर आउनु भएकी सम्झना विकले साथीसँग यसो टहलिन पोखरीमा आएको बताउनुभयो । एभरेष्ट कलेजमा पढ्दै गर्नुभएको विकलाई यहाँको डुँगा तथा माछाले निकै आकर्षण गर्ने गरेको छ । 

‘सफा छ । हेर्दा पनि राम्रो र आकर्षक छ । एकछिन बसेर पानी हेरिरहँदा पनि मनै आनन्द हुन्छ’ विक भन्नुहुन्छ, ‘साथीभाइसँग वरपर बसेर चिया पिउँदा त झनै रमाइलो लाग्छ ।’ अहिले पोखरी संरक्षण गरेर आकर्षक भएपछि पोखरी वरपर नयाँ नयाँ बेकरी, क्याफे तथा कफी पसल खुलेका छन् । चिया पसल पनि छँदैछ । 

मंगलबजारका मदन ताम्राकारले यस जग मदु पोखरीमा डुँगा सञ्चालन गरिरहनु भएको छ । उहाँले जाउलाखेलको चिडियाखानामा १८ वर्ष यस्तै डुँगा चलाउने जागिर खानुभयो । कति अरुको जागिर खानु भनेर उहाँले अहिले भने छोडेर यस पोखरीमा आफ्नै तीन वटा डुँगा राख्नु भएको हो । 

 

अहिले पोखरी चक्कर लगाएको एक जनाको ५० रुपैयाँ लिने गर्नुभएको छ ताम्राकारले । पोखरी एक फन्को लगाउन करिब २५/३० मिनेट लाग्छ । उहाँले भने समितिलाई महिनाको १० हजार रुपैयाँ तिर्नुहुन्छ । 

डुँगा चलाउने कि नचलाउने, मान्छे कति आउँछन् भनेर उहाँले करिब १५ दिन अवलोकन गर्नुभयो । त्यसपछि ठीकै हुन्छ जस्तो लागेर उहाँले डुँगा चलाउन थाल्नुभएको हो । ‘आफ्नै ठाउँमा महिनाको १५/२० हजार भए पुग्छ भनेर डुँगा हालेको हो’ ताम्राकार भन्नुहुन्छ, ‘कति अरुको जागिर खानु भनेर सुरु गरेको हो मैले ।’

उहाँले यहाँ डुँगा चलाउन थाल्नुभएको भएको दुई वर्ष भयो । ‘दुई वर्षमा डेढ वर्ष त लकडाउन नै भयो । अहिले छ महिनामा पनि मान्छे राम्रै आएका छन्’ ताम्राकार पोखरीमा चलिरहेको आफ्नो डुँगा हेर्दै भन्नुहुन्छ, ‘दैनिक हजार, पन्ध्र सय मान्छे आउँछन् अहिले ।’

उहाँको अनुभवमा विदेशी पर्यटकले पनि यहाँको डुँगा कस्तो हुँदो रहेछ भनेर चढ्ने गरेका छन् । ‘कोरोना नभएको भए चहलपहल अझै बढ्थ्यो । तर, यो छ महिनामा पनि मान्छेको चहलपहल हेर्दा लाग्छ अब यो भिड घट्नेवाला छैन’ ताम्राकार भन्नुहुन्छ । 

विकास समितिकाे अनुकरणीय काम

पोखरी संरक्षण भएपछि व्यापार राम्रो भएको पोखरी नजिकै कफी पसल चलाउनु भएका राजेश शाक्यको अनुभव छ । ‘पहिले दिनमा १५/२० कप कफी बेच्न पनि मुश्किल पथ्र्यो । अहिले ८०/९० कप त सजिलै जान्छ । अरु बेकरी आइटम पनि छँदैछ’ भन्नुहुन्छ शाक्य । 

जथाभावी मोटरसाइकल पार्किङ नगर्न आग्रह गरिरहेको अवस्थामा भेटिनुभयो जग मदु पुखु क्षेत्र विकास समितिका सदस्य नविन महर्जन । ‘हामीले पार्किङका लागि ठाउँ उपलब्ध गराएका छौँ । तर, पनि बाटो छेकेर बाइक राखिदिनु त भएन नि’ उहाँको जायज गुनासो थियो, ‘हिँड्ने मान्छेलाई ठाउँ नभएर अहिले कराउन थाल्छन् ।’

ललितपुर महानगरपालिका वडा नं २० पिमबहालमा पर्ने यस पोखरीलाई पञ्चायतकालमा पुरेर बजार बसाउन खोजिएको थियो । तर, स्थानीयवासीको विरोधका कारण बजार बस्न सकेन र एउटा संरक्षणको नमूनाका रुपमा देखा परेको छ जग मदु पुखु । स्थानीयले अपनत्व लिँदा कसरी एउटा फोहोर तथा भत्किएर, मासिएर जाने अवस्थामा रहेको पोखरी आज सबैको आकर्षणको केन्द्र बनेको छ भन्ने यो राम्रो उदाहरण पनि हो । 

जग मदु पुखु क्षेत्र विकास समितिमा अध्यक्ष तथा अन्य पदाधिकारी रहे पनि सदस्यका रुपमा यसको दैनिक हेरचाह र पोखरी भित्रका संरचनाको जिम्मेवारी लिएर काम गर्दै हुनुहुन्छ नविन । 

पोखरीमा रहेको हाँस तथा माछाको अवस्था कस्तो छ, तिनले दाना पाए कि पाएनन् केही भयो कि भनेर उहाँ पोखरीमा नियाल्ने गर्नुहुन्छ । समितिले पोखरीमा आउने कोही कसैले केही उपद्रव नमचाओस भनेर वरपर गरेर १६ वटा सिसि क्यामरा पनि जडान गरेको छ । 

विश्व बैंक तथा महानगरकाे सहयाेग

पोखरी पुनर्निर्माण भएको सात वर्ष भयो । पुनर्निर्माणमा करिब २ करोड रुपैया खर्च भएको छ । विश्व बैंक तथा महानगरपालिकाले झण्डै झण्डै आधा जस्तो खर्च ब्यहोरेको ललितपुर महानगरपालिका वडा नं २० का वडा अध्यक्ष चन्द्रलाल महर्जनले बताउनु भयो । जग नभएका कारण नै यसलाई जग मदु पुखु भनिएको पनि महर्जनले प्रष्ट्याउनु भयो ।  

वडा नं २० मा रहेको तीन वटा पोखरीमध्ये जग मदु तथा पूर्णचण्डी पोखरी तयार भइसकेकोले अब पल्साँ पोखरी बनाउन लागिएको पनि महर्जनले जानकारी दिनुभयो । ललितपुर महानगर पालिकामा सबैभन्दा धेरै पोखरी वडा नं २० मा रहेको र पर्यटकीय क्षेत्र तथा स्थानीय आकर्षणको हिसाबले पनि पोखरीहरु पुनर्निर्माणको काम थालिएको बताउनुहुन्छ वडा अध्यक्ष महर्जन । 

२०७२ सालको भूकम्पमा पोखरीको बीचको पाटी र प्रवेशद्वारमा रहेको पाटी भत्किएको थियो । त्यसको पुनर्निर्माणमा भने महानगरपालिका, २० नं वडा तथा स्थानीय स्तरबाट समेत सहयोग उपलब्ध भएको थियो । 

समितिले वर्षको दुई पटक माछा मार्ने व्यवस्था पनि गरेको छ । तर, जाडोमा भने माछाहरु हिलोमा गएर लुक्ने हुँदा समितिले चैतको बीचतिरको समयलाई छानेको छ । माछा मारेको एक हप्तामा फेरि माछाका भूरा छाड्ने गरिएको छ । पहिले सिल्भर कार्प र कमन कार्प जातका माछाहरु धेरै थिए । तर, अहिले भने काँडा नभएको धेरैले मन पराउने रघु जातको माछा छोड्ने गरिएको छ । 

छैन अतिरिक्त आम्दानी

पोखरीमा डुँगा चलाउन दिएवापत मासिक दश हजार रुपैयाँ प्राप्त हुन्छ । अन्य त्यस्तो आम्दानी छैन । सफाइ कर्मचारी तथा अन्य काममा यो सबै खर्च हुन्छ । सांसद विकास कोषबाट प्राप्त दश लाखलाई समितिले बिऊ पूँजीको रुपमा राखेको छ । त्यसबाट प्राप्त ब्याजले पोखरीको खर्च चलाउने गरिएको छ । 

कहिलेकाहीँ हुने चलचित्र तथा गीत छायाँकनमा स्वेच्छाले दिने बाहेक अरु आम्दानी छैन पोखरीको । तर, अब भने यस्ता छायाँकनमा निश्चित शुल्क लिने सोच बनाएको छ कोषले । अन्य स्रोत भन्दा पनि टोलवासी कसैले आर्थिक सहयोग तथा माछा साथै हाँसको चारोको लागि खाद्यान्न सहयोग गर्ने गरेका छन् । पोखरीको हालको संरचना यसरी बनाउने भनेर टोलवासी, संरक्षणकर्मी सबै मिलेर बनाइएको हो । 

समितिले पोखरीमा रात्रि प्रकाशको व्यवस्था पनि गर्न लागेको बताउनुहन्छ नविन । ‘तर आफ्नो बजेट नभएको र अरुको भर पर्नु पर्ने हुनाले कहिले हुन्छ भन्न सकिँदैन’ उहाँले अनभिज्ञता प्रकट गर्नुभयो । 

स्थानीयकाे अपनत्व

‘हामीले यहाँ दैनिक पानी हालेर सफा गर्छौँ । संरचनामा केही टुटफुट देखिए तुरुन्तै बनाउँछौँ । त्यसैले सफा र राम्रो छ’ नविन भन्नुहुन्छ, ‘ललितपुरको शान भनेकै यही जग मदु पुखु हो । यत्तिको पोखरी अन्त कतै छैन ।’ 

यहाँ पोखरी सफा गर्दा धेरै नै कालो माटो भेटिएको थियो । जाडो महिनामा समेत पानी तीन इन्च पनि घटेन । त्यसैले होला यहाँको पानी अडिनुमा कालो माटो हो भन्ने नविनको धारणा छ । 

आकाशे पानी कहाँ कहाँ र कसरी संकलन गरेर पोखरीमा पठाउने भन्ने व्यवस्था विश्व बैंकको प्राविधिक टोलीले नै गरेको हो यस पोखरीमा । पोखरी नजिकै मदनस्मारक स्कुलमा रहेको तीन सय मिटरको डिप बोरिङ पानीको अर्को विकल्प हुने सक्ने बारेमा पनि कुरा भइरहेको पनि महर्जनले बताउनुभयो । 

आफ्नो वरपर संरक्षणको अभावमा खेर गइरहेका यस्ता पोखरी, मठ, मन्दिर, पाटी संरक्षण तथा पुनर्निर्माण गर्दा यसले वातावरण मात्र नभइ आम्दानी समेत हुने गरेको ज्वलन्त उदाहरण बनेको छ जग मदु पुखु । 

अन्तिम अपडेट: मंसिर २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया