खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
पञ्चायतकालदेखि गणतन्त्रसम्म आउँदा बागबजारका विजय कार्कीलाई चुनावको मुखमा सधैँ चटारो हुन्छ । न्यू एभरेष्ट आर्ट मार्फत उहाँले चुनावको समयमा झण्डा, टोपी, ब्याज, ब्यानर बनाउन थालेको करिब ४० वर्ष भयो ।
पञ्चायतकालीन चुनाव सम्झँदै उहाँ भन्नुहुन्छ, ‘चुनावमा त्यस बेला बागबजारमा मेला नै लाग्थ्यो । १०/१२ मिटरको तुल लेखिन्थ्यो । पिके क्याम्पसको पारिपट्टि जुन पर्खाल थियो त्यसमा फलानो उम्मेदवारलाई विजय गराउँ भन्ने तुल लेख्ने चलन थियो । तुलै तुलको मेला नै लाग्थ्यो । अहिले भने झण्डाको प्रयोग धेरै हुन्छ ।’
त्यसबेला तुल लेख्दा सबै सन्देशहरू एउटै तुलमा अटाउने चलन थियो । जसका कारण तुलहरू १०/१२ मिटरसम्मको हुने गर्थ्याे । ‘त्यसबेला ब्यानरहरूमा नै सबै कुरा हुन्थ्यो’, उहाँ सम्झनुहुन्छ, ‘उम्मेदवारलाई विजयी गराउँ भन्नेदेखि चुनावको नारा अनि वडामा गर्ने काम र सन्देश सबै ब्यानरमा हुन्थ्यो ।’
पहिले काम प्रशस्तै हुनाले कलाकारहरूको कमाइ पनि राम्रै हुन्थ्यो । त्यस समयमा अन्य प्रविधिको विकास नभइसकेको हुनाले कलाकारहरू पनि प्रशस्तै थिए । तर, अहिले डिजिटल प्रविधिको प्रयोग हुन थालेपछि धेरै कलाकार पलायन भएर वैदेशिक रोजगारीमा गएका छन् । यहाँ भएकाहरू धेरै आफैँ काम गर्छन् । आफैँ मालिक अनि आफैँ कामदार हुनेको वर्चश्व छ अहिले बागबजारमा ।
कार्कीको अनुभवले भन्छ, ‘अहिले अन्य कुरामा धेरै खर्च हुन्छ भने पहिले प्रचारमा धेरै खर्च हुन्थ्यो । अहिले कार्यकर्ताका लागि धेरै खर्च हुन्छ पहिले त्यस्तो हुँदैनथ्यो ।’
एमालेको सूर्य, कांग्रेसको रुख तथा माओवादीको हँसिया हथौडा तथा अन्य पार्टीको चुनाव चिह्न सेतो कपडामा छापिने हुनाले सेतो कपडाको माग बढी हुन्छ । तर, अहिले व्यापारीले सेतो कपडा मात्रै दिँदैनन् । सेतो कपडासँगै रातो कपडा पनि लिनुपर्ने बाध्यता छ ।
‘अहिले झण्डा बनाउनका लागि कपडा पर्याप्त मात्रामा उपलब्ध छैन’ यो समयमा झण्डा बनाउने सेतो कपडाको माग धेरै हुनाले व्यापारीले कपडा लुकाउने तथा रातो पनि भिडाउने गरेको गुनासो छ कार्कीको । उहाँ भन्नुहुन्छ, ‘पहिले त आफूले भनेको जति कपडा पाइँदैन । त्यसमा पनि सेतो मात्र दिँदैनन् । रातो पनि लिनुपर्ने हुन्छ । तर, अलिकति पैसा बढी दियो भने चाहिँ पाइन्छ ।’
चुनावका लागि प्रयोग हुने रातो–सेतो कपडा मिटरमा आउँदैन, गजमा आउँछ । पहिले ४०/४५ रुपैयाँ गजमा पाइने कपडा अहिले महँगो भएर ७५/८० रुपैयाँ पुगेको छ । अहिले निर्वाचन आयोगले तोकेको आचारसंहिता अन्तर्गतको १२/१८ को झण्डाको १५/२० रुपैयाँ पर्छ ।
व्यापारी पनि बढी तथा व्यवसायभन्दा बाहिरका मान्छेले स्टकमा राख्ने गरेका कारण पनि झण्डामा केवल एक/दुई रुपैयाँ मात्र नाफा हुने बताउनुहुन्छ कार्की । भन्नुहुन्छ, ‘कपडाको नै दश रुपैयाँ पर्छ, सिलाइ अनि छाप्ने काम गर्दा खासै बच्दैन ।’
एउटा टोपीमा पार्टीको झण्डा छाप्नका लागि ५० रुपैयाँ पर्छ । यो केवल छपाइ शुल्क मात्र हो । त्यस्तै टिसर्टको पनि ५० रुपैयाँ नै पर्छ । यसमा पनि फाइदा भनेको एक/दुई रुपैयाँ मात्र रहेको कार्की बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अलि ठूलो भोलुममा काम हुँदा मात्र फाइदा हुने हो नत्र खासै फाइदा छैन । पहिलेदेखि गरेको काम छोड्ने कुरा पनि भएन । त्यसकारण मात्र यसलाई निरन्तरता दिइरहेको हो ।’
पञ्चायतकालको चुनावमा एउटै आर्टिस्टले ५० हजार देखि एक लाख रुपैयाँसम्म कमाउने गरेकोमा अहिले भने डिजिटल प्रविधिका कारण आर्टिस्टले खासै नकमाउने कार्की बताउनुहुन्छ । ‘बहुदल आएको बीस वर्षसम्म चुनाव नभएर २०७४ सालमा स्थानीय चुनाव हुँदा भने केही राम्रो कमाइ भएको थियो । अहिले खासै छैन’, उहाँ भन्नुहुन्छ ।
‘प्रदेश तथा सङ्घीय चुनावमा भने आचारसंहिता लगाएका कारण व्यापार भएन’, कार्कीकाे गुनासाे गर्नुभयाे, ‘अहिले पनि भर्खरै आचारसंहिता लागू भएको छ । झण्डामा पनि बन्देज लगाउने सङ्केत आएको छ । यसले पनि व्यापारमा असर गर्छ ।’
यसभन्दा अघि चुनावमा बनाएको झण्डा तथा टिर्सटको पैसा नउठ्ने गरेका कारण व्यवसायिक हक हितका लागि भनेर ‘नेपाल व्यवसायिक कलाकार’ भन्ने संस्था पनि खडा गरिएको छ । तर, संस्था नै खडा गरे पनि अर्डर गर्ने एउटा अनि लिन आउने अर्को हुने हुनाले पनि पहिलेको चुनावमा धेरै पैसा नउठ्ने गरेको अनुभव छ कार्कीको ।
‘चुनावमा कार्यकर्ता धेरै हुने कारणले एउटा समूहले आएर अर्डर दिन्छन् । केही अग्रिम भुक्तानी पनि हुन्छ । तर, लिन आउने बेलामा फोनबाट मेरो मान्छे आउँदै छ दिएर पठाउनु भन्छन् । यसले गर्दा पैसा बाँकी भएका धेरै उदाहरण छन्’, कार्की भन्नुहुन्छ, ‘लिन आउने बेला अर्कैलाई पठाउँछन् । म पछि आएर दिन्छु अरू पनि बनाउनु छ भन्छन् । उनीहरूले नेताबाट पैसा लिइसकेका हुन्छन् । तर बीचमा त्यो पैसा हराउँछ । यसरी पनि धेरै पैसा बाँकी भएको छ ।’
‘जित्नेसँग भन्दा पनि हार्नेसँग पैसा उठाउन सकिएको छैन । कोहीको दुई लाख, कोहीको पाँच लाख डुबेको छ’, कार्की भन्नुहुन्छ, ‘फोन गर्दा फोन नउठाउने । स्विच अफ गर्ने तथा धम्कीसमेत दिने गरेका कारण हत्तु भएर उठाउनै छोडेका छन् ।’
एमाले, कांग्रेस, माओवादी, समाजवादीलगायत पार्टीको झण्डाको धेरै अर्डर छ अहिले कार्कीकहाँ । कसैको चार सय, कसैको पाँच सय, कसैको दुई सय यस्तै छन् अर्डर । अहिले इकाइ कमिटिहरू मात्र भर्खर गठन भएका कारण झण्डाको धेरै अर्डर भएको छैन । अबका केही दिनमा भने राम्रो माग हुने र अर्डर बढ्नेमा आशावादी हुनुहुन्छ कार्की ।
‘अहिले क्यापको भने खासै अर्डर आएको छैन’, कार्की क्यापतिर हेर्दै भन्नुहुन्छ, ‘अस्ति संसद् विघटनको बेलामा जुलुस तथा विरोधको मुभमेन्टमा भने राम्रै अर्डर आएको थियो, अहिले खासै छैन ।’
टोपी (क्याप), गञ्जी, ब्याज तथा टिसर्टको प्रयोगमा खर्चका कारण निर्वाचन आयोगले आचारसंहिता लगाएपछि यस्ता चिजको भने अर्डर कम हुने गरेको छ । तर पनि छिटफुट भने अर्डर ह'न्छ ।
करिब ४० वर्ष लामो चुनावी छपाइको काम गरेका अनुभवी कार्कीलाई भने पुरानै चुनावी शैली राम्रो लाग्छ । भन्नुहुन्छ, ‘अहिले हरेक चिज महँगो छ । त्यसकारण चुनाव खर्च पनि महँगो हुने गरेको छ । ओल्ड इज गोल्ड ।’ यसमा उहाँको आफ्नै तर्क छ, ‘पहिले ब्यानर लेख्दा नेपालको हेटौँडा कपडा उद्योगको कपडा प्रयोग हुन्थ्यो । रङ पनि थोरै पैसाका हुन्थे । त्यसले गर्दा खर्च पनि कम हुन्थ्यो । एउटा ब्यानर राख्दा पनि गेट जस्तो बन्थ्यो । भोटरलाई स्वागत गरेको जस्तो हुन्थ्यो ।’
अहिले टिकटको टुङ्गो लागि नसकेको हुँदा उम्मेदवारले खासै खर्च गर्दैनन् । टिकटको टुङ्गो लागिसकेपछि उम्मेदवार तथा पार्टीले पनि खर्च गर्ने हुनाले अबका केही दिनमा व्यापार बढ्नेमा कार्की आशावादी देखिनुहुन्छ । भन्नुहुन्छ, ‘अहिले त दश जनाको नाम सिफारिस भएको हुन्छ । नाम टुङ्गो नलागी कसले खर्च गर्ने ! नाम टुङ्गो लागेपछि बल्ल कामको परिमाण बढ्छ ।’
पहिले बागबजारबाटै देशका अन्यत्र भागमा पेन्टरहरू जाने गरेकोमा अहिले कम्प्युटर तथा फ्लेक्स प्रिन्टका कारण हातले लेख्ने कलाकार बागबजारमा नै २५/३० जना मात्र रहेका छन् । चुनाव नहुने समयमा भने उहाँ बोर्ड, ब्यानर, ग्लो साइन, स्टिल अक्षर, प्लास्टिक बोर्ड लगायतका काममा लाग्नुहुन्छ ।
तीन सन्तानसहित उहाँको दाइ तथा परिवार पनि यसै व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘भूकम्प, कोभिड आदि कारणले व्यवसाय धराशायी भएको छ । अहिले यसमा कमाउने भन्दा पनि टिक्ने बाटो मात्रै हो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।