पहिलाे दिनको मनोनयन दर्ता सकिँदा धेरै ठाउँमा साना दल र स्वतन्त्र उम्मेदवारी दर्ता

 वैशाख ११, २०७९ आइतबार २०:२८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदो वैशाख ३० गते हुने पालिका चुनावका लागि उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ । देशका सात सय ५३ वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले भोलि साेमवार पनि बिहान १० देखि बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न सक्ने कार्यतालिका बनाएको छ । एकै दिन मनोनय दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालयसमेतले कामकाे चाप धान्न कठिन भएकोले यस पटक दुई दिन समय दिएको आयोगले जनाएको छ । भोलि बेलुकी मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

आज दलका प्रतिनिधि तथा स्वतन्त्र उम्मेदवारहरूले नारा, जुलस तथा कतिपय ठाउँमा बाजागाजा र सांस्कृतिक टोलीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताको पहिलो दिन आज मनोनयन दर्ता गराउनेहरूमा धेरैजसो साना दल तथा स्वतन्त्र उम्मेदवारहरू रहेका छन् । ठूला दलहरूबीच तालमेलमा सहमति नहुनु तथा उम्मेदवार छनाेटमा विवाद भएका कारण आज कमैले मात्र मनोनयन दर्ता गराएका छन् ।

आज काठमाण्डौ महानगरपालिकामा मेयरमा पदमा साना दल र स्वतन्त्र गरी १६ जनाको उम्मेदवारी परेको छ । काठमाण्डाैकाे मेयरका लागि गायक बालेन्द्र (बालेन) शाहले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । ललितपुर महानगरपालिकामा मेयरमा आठ जना र उपमेयरमा तीन जनाको मनोनयन दर्ता भएको छ ।

यस्तै भरतपुर महानगरपालिको मेयर पदका लागि चार जना स्वतन्त्र उम्मेदवारसहित ११ र उपमेयर पदका लागि तीन जनाले मनोनयन दर्ता गराएका छन् । पोखरा महानगरपालिकामा मेयरमा ६ स्वतन्त्रसहित ११ जना र उपमेयरमा दुई जनाको नाम मनोनयन दर्ता भएको छ । पोखरा महानगरपालिकामा गठबन्धनको विरोध गर्दै कांग्रेसका विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ भने अटेरी अभियान चलाइ रहनुभएका गनेश पौडेलले पनि मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

वीरगञ्ज महानगरपालिकाको मेयर पदमा नौ जना स्वतन्त्रसहित ११ जनाको मनोयन दर्ता भएको छ । विराटनगर महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र दुई र जनमत पार्टीका एक जना गरी तीन जनाको उम्मेदवारी दर्ता भएको छ । हिजो शनिवार जसपा छाडेको घोषणा गर्नुभएका उमेश यादवले विराटनगरको मेयरमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।  

यसैबीच मधेस प्रदेशको कानुन, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोद यादवले सिरहा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन मन्त्री तथा सांसद पदबाट राजीनामा दिए पनि मेयरको टिकट नपाएपछि राजीनामा फिर्ता लिनुभएको हो । 

आयोगले वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरीमाथि जाँच/बुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेकाे छ । यस्तै वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने तालिका छ । 

तस्बिर : रासस

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया