गठबन्धनभित्रका दलले अहङ्कार राख्नु हुँदैन : अध्यक्ष नेपाल

 वैशाख १६, २०७९ शुक्रबार १६:६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आबद्ध दलहरू सामूहिक रूपमा अगाडि बढ्नुपर्ने बताउनुभएकाे छ । आज शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

अध्यक्ष नेपालले गठबन्धनभित्रका दलले अहङ्कार राख्नु नहुने र वस्तुनिष्ठ भएर चल्नुपर्ने बताउनुभयो । पालिका चुनावकाे उम्मेदवारीमा कतिपय ठाउँमा तल–माथि भएको सन्दर्भमा गठबन्धनभित्र समीक्षा हुने पनि अध्यक्ष नेपालले बताउनुभयो । उहाँले भन्नुभयो – ‘उम्मेदवारीको बारेमा तल–माथि भएको होला कतिपय ठाउँमा । हाम्रा दुखेसाहरू होलान् । आलोचना पनि होलान् हाम्रा गठबन्धनका अन्य पार्टीहरूप्रति । त्यो आफ्नो ठाउँमा हामी विवेचना गरौँला । त्यस्तो गर्न हुँदैन पनि भनाैँला ।’

अध्यक्ष नेपालले वैशाख ३० गते हुने पालिका चुनावका लागि मनोनयन दर्ताकै क्रममा आफ्नाे पार्टीबाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको बताउनुभयाे । उहाँले एकल उम्मेदवारी परेसँगै पार्टीको तर्फबाट दुई जना गाउँपालिका अध्यक्ष, एक जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाध्यक्ष र २६ जना सदस्य निर्विरोध निर्वाचित हुनुभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘पालिका चुनावका लागि हाम्राे पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विराेध निर्वाचित भइसकेका छन् । कलम चिह्न बाेक्नेसँग प्रतिस्पर्धा गर्न कसैले आँट गरेन ।’

अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीकै निरन्तरता भएकाले जनतामा परीक्षण भइसकेको पार्टी भएको बताउनुभयो । अध्यक्ष नेपालले पार्टीको सङ्गठनलाई टोल–टोलसम्म विस्तार गर्न पनि नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया