बाजुराको स्वामीकार्तिकमा एमालेकी भण्डारी विजयी
मंसिर १७, २०८१ सोमबार
रसुवा – चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइनको मल्टी सर्किट टावरको डिजाइन प्रक्रिया अघि बढेको छ । थ्रिबी हबदेखि रातमाटेसम्म मल्टी सर्किट टावर निर्माण गर्नुपर्ने भएकाले यसको प्रक्रिया अघि बढेको हो । यसअघि चीनबाट नेपाल आउने र नेपालबाट चीन जाने हिसाबले मात्र टावर डिजाइन गर्न लागिएको थियो ।
अहिले रसुवामा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् पनि जडान गर्ने हिसाबले प्रक्रिया अघि बढाइएको रातमाटे–रसुवागढी–केरुङ चार सय केभी प्रसारण लाइन आयोजनाले जनाएको छ । आयोजना प्रमुख कोमलनाथ आत्रेयका अनुसार २८ किलोमिटर क्षेत्रमा टावर निर्माण गरिने छ । माथि चार सय केभी डबल सर्किट र तल दुई सय २० सिङ्गल सर्किट लाइन निर्माण हुने छ । दुई सय २० केभी सिङ्गल वा डबल के गर्ने भनेर निश्चित हुन बाँकी छ ।
नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले रुट परिवर्तनका लागि सर्वेक्षणको काम सकाएका छन् । सुरुमा वन क्षेत्रबाट निर्माण गर्ने गरी सर्भ गरिएकोमा लागत बढी लाग्ने र सामग्री ढुवानीमा पनि समस्या हुने भएपछि लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रबाट निर्माण गर्नका लागि सर्वेक्षण गरिएको छ ।
दुई महिना लगाएर निकुञ्ज क्षेत्रमा सर्वेक्षण गरिएको आयोजना प्रमुख आत्रेयले जानकारी दिनुभयो । १० किमी घना जङ्गल र मध्यवर्ती क्षेत्रसमेत गरेर निकुञ्जभित्रको कुल २६ किमी बाटो भएर प्रसारण लाइन निर्माण गर्ने गरी सर्वेक्षण गरिएको आयोजना प्रमुख आत्रेयले बताउनुभयो । आयोजनाले गरेको अध्ययनअनुसार निकुञ्ज क्षेत्रबाट प्रसारण लाइन बनेमा झन्डै एक अर्ब रुपैयाँ लागत घट्ने छ ।
निकुञ्ज क्षेत्रबाट प्रसारण लाइन निर्माण भएमा आयोजनाको लागत, दुरी र टावरको सङ्ख्या समेत घट्ने उहाँले बताउनुभयो । ६ वर्षमा निर्माण सम्पन्न हुने गरी अघि बढाइएको आयोजनामा झन्डै १० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
आयोजनाले सम्भाव्यता अध्ययनको काम सकाएर दुई देशबीच विद्युत् आदानप्रदान गर्नका लागि नेपालतर्फ यसअघि नै लोड फ्लो टेस्टको काम पनि सकेको छ । आयोजनाले प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सकिने गरी काम अगाडि बढाएको छ । प्रसारण लाइनको चीनतर्फ तिब्बतमा रहेकाे जिलोङ काउन्टी र नेपालतर्फ नुवाकोटको त्रिशूलीमा सबस्टेशन राखिने आयोजनाले जनाएको छ । नेपालतर्फ चार सय केभी डबल सर्किट र चीनतर्फ पाँच सय केभी डबल सर्किट लाइन हुने आयोजनाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।