कानुनकाे व्यवस्थाअनुरुप नै सिंहलाई महानिरीक्षकमा बढुवा गरिएकाे हाे : गृहसचिव पाण्डे

 वैशाख १९, २०७९ सोमबार १२:२४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गृह सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको बताउनुभएको छ। 

आज गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गर्दै सचिव पाण्डेले यस्तो बताउनुभएको हो ।

उहाँले प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भए पनि प्रचलित कानुन प्रहरी नियमावलीमा भएको व्यवस्थाअनुरुप नै सिंहलाई महानिरीक्षकमा बढुवा गरिएको बताउनु भयो ।

सचिव पाण्डेले एआईजीहरुमा सिंहमा सबै कार्यकुशलता देखेर नै निर्णय गरेको बताउनु भयो । उहाँले सबै एआईजीहरु २०४९ साल चैत्र १२ गतेको नियुक्ति भएकोले उनीहरुबाट नै कार्यकुशलता र नेतृत्व प्रदान गर्न सक्ने क्षमताका आधारमा सरकारले सिंहलाई महानिरीक्षक बनाएको स्पष्ट पार्नुभयो ।

सचिव पाण्डेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको अहिलेको जनशक्तिले आवश्यकतालाई धान्न नसक्ने बताउनु भयो । उहाँले अहिलेको आवश्यकता धान्न १ लाख नेपाल प्रहरी र न्यूनतम ५० हजार सशस्त्र प्रहरीको आवश्यकता रहेको बताउनु भयो ।

गृहसचिव पाण्डेले आन्तरिक रुपमा रहेका विकृति र विसङ्गतिलाई हटाउनु दुवै प्रहरी बलका लागि चुनौती रहेको बताउनु भयो । उहाँले विगतमा भोगेका भन्दा नविन ढाँचाका अपराधका प्रकृतिहरु विकास भइरहेकोले नियन्त्रण र त्यस्ता चुनौतीहरुको सामना गर्न सक्षम प्रहरी सङ्गठनको निर्माण गर्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया