ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना पुगेको छ । लामो समयको सङ्घर्षबाट जनताले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सुशासन र विकासका जनआकाङ्क्षालाई सम्बोधन गर्नु सरकारका लागि चुनौतीको विषय रहिआएको छ । यिनै चुनौतीका बीच प्रधानमन्त्री ओलीको सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यका साथ अघि बढिरहेको छ । प्रस्तुत छ प्रधानमन्त्री ओलीसँंगको विशेष अन्तर्वार्ताको सम्पादित अंश :
यस संविधान दिवसका उपलक्ष्यमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु । हामीले संविधान जारी भएपछिका तीन गतिशील वर्ष पार गरेका छौँ । यसबीच हामी संविधानको कार्यान्वयनका लागि संवैधानिक प्रावधानमा रहेका कानूनी र परिकल्पना गरेका संरचनालाई पूर्णता दिइरहेका छौं र जनताका सेवा, सुविधा र सहुलियतसम्बन्धी आकाङ्क्षाहरूको सम्बोधन गर्ने क्रममा छौँ ।
हामी संविधानमा उल्लिखित जनताको सार्वभौमसत्तालाई व्यवस्थित, समुचित र उन्नत रूपमा प्रयोग गर्ने क्रममा जनताको अधिकारसम्म पहुँच पु¥याउनका लागि अहोरात्र काम गरिरहेका छौँ । खासगरी जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो । अब भने हामी समृद्धिमा पुग्ने संरचनात्मक पक्षहरूमा काम गरेर कसरी सहज रूपमा जनताका अधिकार स्थापना गर्न सकिन्छ भन्ने सुस्पष्ट दृष्टिकोण लिएर अघि बढेका छौँ ।
हामीले यसअघि राजनीतिक क्षेत्रको अधिकार प्राप्त गर्नु थियो, त्यो गर्यौँ । द्वन्द्व व्यवस्थापन गर्याैँ। भूकम्पको सामना ग¥यौँ । अब हामी समृद्धिको योजना कार्यान्वयनका लागि सुशासन, आर्थिक उन्नति र सामाजिक विकासमा लागेका छौँ ।
यस संविधानसँगै हामीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ । यसका लागि भएको सङ्घर्षमा जनताको सुझबुझपूर्ण सहभागिता थियो । संविधानले त्यस जनभावनालाई समेटेको छ र जनताबाट निर्वाचित जनप्रतिनिधि संस्थाले नै यसको विधिवत् निर्माण गरेको हो । संविधानसभाभन्दा बाहिर पनि व्यापक जनताको सहभागितामा संविधान बनेको हो । यसमा नेपाली जनताको संयम र सुझबुझलाई बिर्सन मिल्दैन । यो असाधारण उपलब्धि हो । अब उपलब्धिको दोस्रो उद्देश्य र आकाङ्क्षाको चरणमा सुशासन र विकासका सम्पूर्ण क्षेत्रमा बहुआयामिक प्रयास गरेर ’समृद्ध नेपाल र सुखी नेपाली’ नै हाम्रो लक्ष्य हो ।
हाम्रा पुर्खाहरूको गौरवपूर्ण, खोज, अनुसन्धान र अध्ययनको इतिहास छ । हाम्रो इतिहास पुर्खाहरूको विद्वता र निरन्तर स्वाधीनताको इतिहास हो । हाम्रो भूभाग प्राकृतिक हिसाबले अत्यन्त सुन्दर, उर्वर र समृद्ध छ । हामीसँग खानी, वनस्पति, जल, जमीन, जीवजन्तु, जडिबुटी सबै छन् । हामीले यसै विन्दुबाट समृद्धिको यात्रा तय गरेका छौँ ।
मानिस अन्तत्वोगत्वा सुख चाहन्छ । सुखका लागि जैविक र मानवीय आवश्यकताको परिपूर्तिका कुरा मात्र पर्दैनन् । मानिस सचेत प्राणी भएकाले चिन्तामुक्त सुरक्षा, निर्बाध–सीमारहित समानता र सम्मान चाहन्छ । सुरक्षित र सम्मानपूर्ण जीवनविना मानिस खुशी हुँदैन । वस्तुगत आवश्यकताको परिपूर्तिले मात्र मानिसको चेतनालाई सम्मानित ढङ्गले परिपूर्ति गर्न सक्दैन भनने हामीलाई थाहा छ । यस लक्ष्यमा पुग्न हामीले ‘समृद्ध नेपाल र सुखी नेपाल’को लक्ष्यका लागि विभिन्न प्रयास शुरु गरेका छौँ । यसका लागि हाम्रो आफ्नै प्रयासले मात्र विकासको गति ढिलो हुन सक्छ ।
हाम्रो आर्थिक र प्राविधिक क्षमताले मात्र नभ्याउन सक्छ । त्यसैले हामीले राष्ट्रिय हित, प्रतिष्ठा र सरोकारलाई ध्यानमा राखेर छिमेकी र मित्रराष्ट्र तथा संस्थाहरूसँगको बिग्रिएको वा असमझदारीमा रहेको सम्बन्ध सुधार्दै, सन्तुलित बनाउँदै सहकार्य र सहयोगको नयाँ उचाइको सम्बन्ध विकास गरेका छौँ । संविधान जारी हँुदाको समयको छिमेक सम्बन्धलाई सुधारेर नयाँ सम्बन्ध विकास गरेका छौँ । नेपाल भौगोलिक बनावटका दृष्टिले भूपरिवेष्टित भनिनु एउटा कुरा हो तर अब भौगोलिक बनावटका हिसाबले मात्रै भूपरिवेष्ठित भनिरहनुपर्ने र कुण्ठित मानसिकता राख्नुपर्ने अवस्था छैन । त्यसबाट हामीले मुलुकलाई माथि उठाउन सकेका छौँ । राष्ट्रिय हित, प्रतिष्ठा र सरोकारमा सम्झौता नगरी हामी छिमेकी र मित्रराष्ट्रको सहयोग लिन चाहन्छौँ ।
संविधानले सुनिश्चित गरेका अधिकारहरूको स्थापनाका लागि हामीले तोकिएको समयभित्र मौलिक हकहरूसँग सम्बन्धित कानून तयार गरेका छौँ । हामीले संविधान कार्यान्वनका लागि कानूनी र संरचनाका क्षेत्रमा संविधानले सुम्पेका कार्यभारहरू पूरा गरेका छौँ । यो सन्तोषको कुरा हो । अघिल्ला समयमा पर्याप्त काम नगरेका हुनाले हामीलाई समयमा कानून ल्याउन सकस प¥यो । अब हामी सुशासन र विकासको बाटोमा जान सक्छौँ । यसमा आश्वस्त हुन म सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गर्छु ।
संविधानले नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न बनाएको छ । यसको मुहान, प्रस्थानविन्दु र गन्तव्य यही हो । संविधानले यसको व्याख्या, अर्थ, कार्यान्वयन प्रणाली र त्यसको विस्तृतीकरण पनि दिएको छ । यो संविधान जनताबाट बन्यो, त्यसमा विवाद छैन । संविधानले जनतालाई सम्पूर्ण शक्तिको स्रोत र केन्द्रविन्दु मानेको छ । संविधानले राष्ट्रलाई समग्रतामा परिभाषा गरेको छ । यसले नयाँ परिकल्पना गरेको छ ।
मैले भन्दै आएको छु, म मुलुकको सरदर प्रतिव्यक्ति आय वा कुल गार्हस्थ्य उत्पादनको प्रतिशतमा सन्तोष मानेर बस्दिन । सरदर विकासको मापनभन्दा माथि पुगेर कोही पनि नागरिक खान, लाउन, बस्न र छोराछोरी पढ्न नपाउने अवस्था हुनुहुँदैन । संविधानको मर्म पनि यही हो । नेपालमा जनताको सरकार बनेको छ । कोही पनि नेपाली भोकै मर्न हुँदैन र मर्न दिइँदैन भनेर मैले अघिल्लो कार्यकालमै घोषणा गरेको हुँ । समतामूलक समाजको निर्माण हाम्रो गन्तव्य हो । अहिले नै सबैको सम्पत्ति बराबर हुने भनेको होइन तर कोही पनि भोकै बस्न नपरोस् भनेर राज्यले ध्यान दिनुपर्छ ।
हामीले यसै वर्ष विशेष विद्यार्थी भर्ना अभियान चलाएर विद्यालय नगएका र नजाने करीब तीन लाख बालबालिकालाई विद्यालयमा भर्ना गराएका छौँ । फेरि हामी अर्काे अभियान चलाएर बाँकी बालबालिका भर्ना गराउनेछौँ । भर्ना भएका विद्यार्थीलाई टिकाउने छौँ । यो संविधानले सुनिश्चित गरेको शिक्षाको अधिकार हो । तल जगदेखि उठाउने र माथि पनि उन्नत शिक्षामा जाने जस्ता कुराहरूबाट समृद्धिको यात्रा तय गर्ने संविधानको लक्ष्य हो । त्यसरी हेर्दा यो संविधान स्तरीय, अनुकूल र उत्तम छ । यसले नेपालको, भौगोलिक, भाषिक, संस्कृतिक जातीय र विविधतालाई समे्टने नीति र बाटो लिएकोे छ । यसले राष्ट्रिय एकताबाट मुलुकलाई अघि बढाउने लक्ष्य लिएको छ, त्यो सही छ ।
कहिले कहिले केही खास समस्याहरू आउँछन्, त्यस्ता समस्या समाधान हुन्छन् । कुनै कुनै समस्या समाधान गरेर पनि समाधान हुँदैनन् । कहिलेकाहीँ राजनीतिका लागि मुद्दा (माग) बनाइन्छ, मुद्दा बाँकी राख्नका लागि उठाइन्छ । ती मुद्दा कसैले सम्झाएर वा सम्बोधन गरेर हुँदैन । कुनै मानिस भोकै छ भने खान्छ तर भोक नलागे पनि भोक लागेको छ भन्छ तर खाँदैन । भोकै छु भन्ने नाममा ऊ भोकको मुद्दा कायम राख्न चाहन्छ । उसलाई भोकै छु भन्ने देखाउनु छ । त्यसैले भोक नलागी भोकै छु भन्न खोज्नेहरूलाई खासै महत्व दिनुपर्छ जस्तो मलाई लाग्दैन ।
यहाँ कहीँ कतैको स्वार्थ र घुसपैठमा लाग्ने केही पृथकतावादी तत्वहरू हुन सक्छन् । त्यस्ता तत्वहरूलाई नेपाली जनताले एक्ल्याउने र अस्वीकार गर्नेछन् । नेपालीले पृथकतावाद सहिरहँदैनन् । त्यसैले त्यस्ता पक्षहरूमा त्यति ध्यान दिइरहनु पर्दैन । कसैको स्वार्थका लागि ती तत्वहरू, नेपालको पानी खाएर नेपाल टुक्र्याउन चाहनेहरूको आपराधिक सोच नेपाली जनताले राख्न पनि सक्दैनन् ।
संविधानलाई पूर्णता दिने सन्दर्भमा बसेर छलफल गरेर मिलाउन सकिन्छ । संविधान त्यस्तो असंशोधनीय धर्मग्रन्थ वा पाठ गरेर बसिने स्तुतिश्लोक होइन । यो गतिशील दस्तावेज हो । यो लोक सपार्ने मार्गदर्शक हो । यसलाई संशोधन गर्ने पक्षमा बहस गर्न हामी तयार छौँ ।
निर्वाचनमा भाग लिएका वा नलिएका दलहरूले छिटपुट रूपमा संविधानबारे केही कुरा राख्न सक्छन् तर उनीहरूले संविधान नमान्ने नाममा बिखण्डनतिर लाने कोशिश गर्ने मनसायको गठबन्धनमा देखिने गरी तिनको साथ दिन्छन् जस्तो मलाई लाग्दैन ।
हामीले प्रदेशलाई प्रदेश हो भन्ने बुझ्नुपर्छ, ती अलग राष्ट्र होइनन् । हामीले केन्द्रमा दुई सदनको सङ्घीय संसद्, प्रदेशमा सात प्रदेशसभा, ७५३ स्थानीय तह र ७७ वटा जिल्ला समन्वय समिति बनाएका छौँ । ती क्रियाशील छन् । विभिन्न तहमा ७६१ सरकार छन् । ती छुट्टै र स्वतन्त्र सरकार होइनन् । सबै नेपाल सरकारका स्वाभाविक अङ्ग हुन् । सरकार नभनिएको समन्वय समिति पनि जनप्रतिनिधि संस्था हो । यी सबैका आफ्ना कामकर्तव्य छन् । प्रदेश सरकारसँग प्रदेश प्रहरी हुन्छ । नगरपालिकासँग नगर प्रहरी हुन्छ तर बन्न नपाइकन कहाँ सबै कुरा हुन्छ ? प्रदेश सभा र सरकार गठन भयो, तिनलाई राख्ने ठाउँ अझै छैन । विभिन्न कार्यालय खाली गरेर प्रदेशसभा र सरकारका कार्यालय खडा गरिएका छन् । तीन वर्ष अगाडि विभिन्न निर्वाचन र प्रदेश संरचनाको तयारी गरेको थिएँ, त्यसबेला सरकार ढाल्ने कुरामा साथीहरू आँगनमा निस्किएर नाच्दानाच्दै बित्यो । वास्तवमा केही पनि गरिएको थिएन ।
यसबीचमा यी सबै गरिए । यस बीचमा यो सरकार आएपछि यति धेरै कानूनहरूको निर्माण भयो । सभाहरू, सरकारहरू सञ्चालन भए । स्थानीय तहमा कानून बनाउने, न्यायाधीश हुने, कर लगाउने भनिएको छ, कसरी गर्ने ? कोही अभ्यस्त थिएन ! कतिपय कुराहरू नमिलेका छन् तर यसो भन्दैमा यो विषय कुनै बाबुले छोराछोरीलाई अंश दिएन भनेर लडाइँ झगडा गरेजस्तो होइन । कुन कुन तहमा कहाँ कहाँ कसरी कसलाई जिम्मेवारी लिएर जनताको सेवा, सुविधा र विकास दिन सकिन्छ, त्यो हामीले मिलेर सल्लाह गरेर गर्ने हो । हामीकहाँ अलि बढी उछाल्ने र उत्तेजक कुरा गर्ने एक प्रकारको प्रवृत्ति पनि छ ।
शान्ति सुरक्षाका सन्दर्भमा म भन्न चाहन्छु, नेपाली समाज सामाजिक नैतिक मूल्यमान्यताका हिसाबले उच्च मूल्यमान्यता र आदर्शमा बाँचेको समाज हो । आर्थिक रूपमा सम्पन्न नभए पनि हामी उच्च मूल्य र आदर्शमा बाँचेका मानिस हौँ । अहिले पनि थारु जातिमा सयभन्दा बढी सदस्यको परिवार मिलेर बसेको छ । एउटै भान्छामा खाएर बसेको छ । यो सहिष्णुता यो दुनियाँमा नेपालबाहेक अरु कसैले कल्पना गर्नै सक्दैन । यस्तो ठाउँमा हामी हाम्रा मूल्यमान्यता र सामाजिक, धार्मिक मूल्य र बन्धनहरूमा बाँधिएका छौँ । यो संस्कारमा हुर्किएका कतैबाट हामीलाई कमजोर पार्ने कोशिश भएका छन् । नैतिक मूल्यमा आएको ह्रास सामाजिक अपराधमा परिणत भएको छ । जाँगरिलाहरू कपट, जालझेल र अपराध कर्म गर्दैनन् । मान्छे सचेत प्राणी हो । सचेतनतालाई फरक ढङ्गले प्रयोग गर्दा अपराध हुन्छ । पशुमा चेतना छैन, उसमा नैतिक मूल्यमान्यताको कुरा हुँदैन । अहिले समाजमा नैतिक मूल्यमान्यतामा खलल आउन खोजेको देखिन्छ । यसमा हामी सबै सजग भएर लाग्नुपर्छ ।
संविधान निर्माण चुनौतीपूर्ण थियो । त्यो चुनौती हामीले पूरा गर्याैँ । अरु कसैले नचाहेको तर नेपाली जनताले चाहेको दिशामा हाम्रो संविधान बनेको छ । लोकतन्त्रका संवाहकमा परिपक्वता आउनु जरुरी छ । नेपाली जनता सार्वभौमसत्तासम्पन्न छ । तर जनता आफैँले आफ्नो सार्वभौमसत्ता प्रयोग गरेको लामो अनुभव र इतिहास भने हामीकहाँ छैन । लोकतन्त्रको मुख्य पक्ष जनताको अभिमतलाई स्वीकार्नु हो । जुनसुकै बहानामा लोकतन्त्रलाई अस्वीकार गर्नु तानाशाहीपन हो । जनताको भावनालाई तानाशाहले अनेक बहानामा अस्वीकार गर्ने प्रवृत्तिहरू हुन सक्छन् तर नेपालमा त्यस्ता प्रवृत्तिको कुनै भविष्य छैन । नेपाली जनताले यो संविधान लङ्गुरबुर्जा खेल्दा आफूलाई दाउ परेको जस्तो गरेर ल्याएको होइन । यसमा जनता सजग छ ।
समृद्ध नेपाल र सुखी नेपालीको नारा हाम्रा पुर्खाहरूको ज्ञान र निष्कर्ष सर्वे भवन्तु सुखिनः (सबै सुखी रहुन्) को मर्ममा आधारित छ । सुख समृद्धिबाट हुन्छ तर समृद्धिबाट मात्र सुख प्राप्त हुँदैन । समाजमा भय र अपमान छ भने मान्छेलाई निद्रा लाग्दैन । चैन हुँदैन । हाम्रा पुर्खाहरूको ज्ञान र ऋषिमुनिहरूका साधनाका निष्कर्ष, पछिल्ला ऋषिमुनि कार्ल माक्र्सको दुःखको व्याख्या मात्र नगर दुःखलाई सुखमा बदल्नुपर्छ भन्ने विचार, पुष्पलाल–मदन भण्डारी आदिले भनेको निष्कर्ष जनताको प्रतिस्पर्धात्मक, लोकतान्त्रिक गणतन्त्रको समष्टि प्रतिफल नै सुख हो । राजनीतिक परिवर्तन त आइसक्यो । हामी जनताका आकाङ्क्षाहरू सुन्थ्यौँ । अब हामीले त्यसलाई प्रत्यक्ष अनुभव गर्नुपर्छ । यी सबै कुराको निष्कर्ष सुशासन र विकासको बाटो हुँदै समृद्धितर्फको यात्रा हो ।
एउटा बिरुवा रोपेपछि हुर्कन्छ, फल्छ अनि स्वादिष्ट फल दिन्छ । हामी सुशासन र विकासको बाटोबाट समृद्धि र सुखको गन्तव्यमा पुग्न चाहन्छौँ ।
–श्यामल, श्याम रिमाल, तीर्थ भट्टराई र प्रकाश सिलवाल (रासस)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।