च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
लमजुङ मर्स्याङ्दीका चन्द्रमणि गुरुङ काठमाण्डौ महाराजगञ्जको शिक्षण अस्पतालमा श्रीमतीको उपचार गर्न आएको ७ दिन भयो ।
पालो कुरेर बस्ने ठाउँ नजिकै शौचालय छ । शौचालयबाट निस्केको दुर्गन्धले आफैँ बिरामी भइन्छ कि जस्तो गराउँछ । तीन वर्ष पहिले त अलि राम्रो र सफा थियो । अहिले धेरै नै फाेहर भएछ । विभिन्न विभागको भवनभित्र रहेका शौचालय सजिलै नदेखिने ठाउँमा भएकाले कम फाेहर छन् । तर जुन ठाउँमा मानिसको भिड लाग्छ, त्यो ठाउँका शौचालय पसि सक्नु छैन ।
महाराजगञ्ज शिक्षण अस्पतालकाे शाैचालय
शौचालयकै अगाडि बाल रोग विशेषज्ञ विभाग छ । हिँड्न र बिरामी ओहोरदोहोर गराउन शौचालय अगाडिकै बाटो प्रयोग गर्नु पर्छ । आफू पनि बाध्य भएर त्यही शौचालय प्रयोग गर्नु पर्छ । भित्र छिरेपछि त झन् बिजोग छ । ढोका राम्रो छैन, भित्र पसेको र बसेको बाहिरैबाट देखिन्छ । पिसाब बग्ने पाइप थुनिएको छ । भित्तामा खैनी, पान, गुट्का थुकेर दागै दाग छ । हात धुने ठाउँमा साबुन त परै जाओस्, पानी पनि छैन । शौचालय प्रयोग गर्नेहरु पनि उस्तै, दिसा पिसाब गरेपछि कसैले पानी हाल्दैनन् ।
अरुलाई सफासुग्घरमा ध्यान दिनुपर्छ भन्ने डाक्टर दिनमा सय चोटी शौचालय अगाडिकै बाटो हिँड्छन् । तर उनीहरु यति व्यस्त हुन्छन् कि शैचालयको अवस्था बुझ्ने उनीहरुलाई फुर्सद नै हुँदैन । सफा गर्नेहरुहरुले पनि त्यति ध्यान दिँदैनन् ।
‘यहाँ न अस्पताल आउनेले ध्यान दिन्छन्, न प्रशासनलाई कुनै वास्ता छ । अस्पतालको शौचालय राम्रो भए त सबै यहीँ उपचार गर्न आउँथे । अस्पताल, डाक्टर र अन्य कर्मचारीको शोभा बढ्थ्यो । अन्तर्राष्ट्रिय स्तरमै चर्चा कमाउँथ्यो । सरसफाइको कसैलाई कुनै मतलब छैन’ चन्द्रमणि गुरुङले दुखेसो पोख्नुभयो ।
सिन्धुपाल्चोक ठोकर्पाकी कृष्ण कुमारी भण्डारी पनि स्वास्थ्य परीक्षण गर्न वीर अस्पताल आउनुभएको छ । उहाँ अस्पताल धाउन थालेको दुई दिन भयो । श्रीमान् पनि सँगै हुनुहुन्छ । यसै त अस्पतालको सेवा सुस्त छ, शौचालय गइसक्नु छैन । कुनै शौचालयमा त आधाभन्दा बढी त भित्तो नै छैन । हेर्दा अँध्यारो, बीचमा पाइप र अलि पछाडि पानी रसाइरहेको अर्को भित्तो ।
वीर अस्पतालकाे शाैचालय
वीरका शौचालय बाल तथा अपाङ्ग मैत्री छैनन् । कुनै ठाउँमा त महिला पुरुषको शौचालय छुट्याइएको पनि छैन । भित्र पानी थाप्ने भाँडो नै छैन । भुइँभरी लेउ लागेको छ । सफा गर्नु पर्यो भन्दा कर्मचारीले उल्टै गाली गर्छन् । कृष्ण कुमारीलाई पनि सफा शौचालय चाहिने भए अरु अस्पताल गए भइहाल्यो नि भनेर एउटी महिला कर्मचारिले गाली गरिन् ।
‘सबैको साझा अस्पताल, सबैले एकैसरह कर तिरेर बनाएको आफ्नै अस्पताल सम्झेर उपचार गर्न आएकी हुँ । तर यहाँ आउँदा आफैँ हेपिनु पर्छ । अन्त कहाँ जानु म ?’ उहाँले भन्नुभयो ।
ललितपुरको पाटन अस्पतालभित्र रहेका शौचालयको अवस्था अलि सामान्य भए पनि मूलढोका नजिकै रहेको शौचालयको समस्या चाहिँ उस्तै छ । शौचालयभित्र एक जना युवाले चुरोटको सर्को तान्दै थिए । भुइँभरी पानी नै पानी जम्मा भएको छ । चिप्लेर लडिन्छ कि भन्ने डर लाग्छ । हात धुने बेसिन पनि तारले अड्याएर राखिएको छ ।
पाटन अस्पतालकाे शाैचालय
‘चुरोटको टुक्रा र खैनीको कागज जताततै देखिन्छ । कसलाई गुनासो गरौँ ? बिरामी भेट्न आएको मान्छे यहाँ लडेर घाइते भएर आफैँ अस्पताल भर्ना हुनु परे के गर्ने ? पानी हो कि पिसाब हो कुन्नि ? खोला तरे जसरी हिँड्नु पर्छ । भारत जाँदा देखेको रेलको डिब्बा जस्तै फाेहर रै'छ’ भन्नुभयाे पाटन अस्पतालमा बिरामी भेट्न पुग्नुभएका अर्घाखाँची सन्धिखर्कका रमेश भुषालले भन्नुभयो ।
धेरै सरकारी अस्पतालका शौचालयको हालत पहिलेदेखि नै यस्तै छ । मानिसको भिडभाड हुने ठाउँका शौचालय अलि बढी फाेहर छन् । शौचालय सफा बनाउन केही प्रयास पनि भएका छन् । तर सफल हुन सकेको छैन । अस्पतालमा काम परेर आउने भन्दा पनि बाहिरबाट आएर प्रयोग गर्नेहरु धेरै छन् । बाहिरबाट शौचालय प्रयोग गर्न आउनेलाई नियन्त्रण गर्न सके पनि आधा समस्या कम हुन्थ्यो । शौचालय प्रयोग गर्नेहरुले पनि फाेहर गरेर त्यसै छाडिदिन्छन् । भित्र राखिएका सामान हराउने, भाँचिदिने र मनपरि ढङ्गले फालिदिने समस्या पनि उस्तै छ ।
बिरामीको उपचार हुने ठाउँ अस्पताल सफा र स्वच्छ हुनुपर्छ । बिरामीको जाँच गर्ने कोठादेखि शौचालयसम्म फाेहर हुनु हुँदैन । तर धेरैजसो सरकारी अस्पतालका शौचालय फाेहर र अव्यवस्थित छन् । अस्पताल सञ्चालकले पनि प्रभावकारी रुपमा सफाइ अभियान चलाउन सकेका छैनन् ।
अस्पतालले पनि पटकपटक सफा गर्ने र सम्भव भएसम्म प्रत्येक शौचालय अगाडि एकजना गार्ड राख्ने योजना बनाएको छ । ‘आफूहरुले सरसफाइमा ध्यान दिने र यसका लागि शौचालय प्रयोग गर्नेले पनि साथ दिनुपर्छ’ कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल वीरअस्पतालका उपनिर्देशक प्राध्यापक डाक्टर अनुपमा कार्कीले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ ।
Toshal Kumar Dahal
June 9, 2022, 11:10 a.m.कुरा सही छ , झापाको मेची अंचल अस्पतालको हालत टिचिंग र पाटन अस्पतालको भन्दा २०० प्रतिशत गएगुज्रेको छ /आफ्नो सम्वाददातालाई हेर्न लगाएर यथार्थ कुरा प्रकाशित गरिदिनुहुन अनुरोध गर्दछु /