एकैदिन झन्डै साढे सात करोडको विद्युत् भारत निर्यात

 जेठ २६, २०७९ बिहीबार ७:२८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालले मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् पनि भारत निर्यात गर्न थालेको छ । गएरातिदेखि मध्य मर्स्याङ्दीसहित पाँच वटा आयोजनाको ३ सय १२ मेगावाट विद्युत् भारत निर्यात गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

त्रिशूली, देवीघाट, कालीगण्डकी र मर्स्याङ्दी जलविद्युत् आयोजनाले यसअघि नै भारतमा विद्युत् बेच्न थालिसकेका थिए । नेपाली विद्युतले भारतीय बजारमा भाउ पनि राम्रो पाइरहेको छ। गएराति १२ बजेदेखि भरे राति १२ बजेसम्मको लागि प्रतियुनिट औसत भारतीय छ रुपैयाँ ८८ पैसा अर्थात नेपाली ११ रुपैयाँमा बिक्री भइरहेको छ ।

आज निर्यात भइरहेको परिमाण र मूल्य अनुसार एकैदिन झन्डै साढे सात करोड रुपैयाँको विद्युत् भारत निर्यात हुने प्राधिकरणले जनाएको छ । इन्डियन इनर्जी एक्सचेन्ज (आईआईएक्स) मा प्रत्येक १५ मिनेटका स्लटहरूमा विद्युत् बिक्री हुन्छ ।

डे अहेड मार्केट स्वरूपमा हुने आईआईएक्सको विद्युत् कारोबारमा प्रत्येक २४ घण्टाका लागि मात्र बोलकबोल हुने गर्छ । भारतमा नेपाली बिजुलीले रातिको समयमा अधिकतम मूल्य १९ रुपैयाँ २० पैसासम्म र न्यूनतम छ रुपैयाँ २० पैसासम्म मूल्य प्राप्त गर्दै आएको छ ।

लिखु–४ जलविद्युत् आयोजनाको ५२ मेगावाट विद्युत् पनि निर्यातका लागि प्रक्रिया सुरु भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताउनुभयो । पानी पर्ने क्रम बढेकोले नदीनालामा पानी बहाव बढ्दा चाहिनेभन्दा धेरै विद्युत् उत्पादन हुन थालेपछि भारत निर्यात थालिएको हो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया