धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
साझा बसको उही लोगो, ब्रान्ड र हरियो रङ्ग । तर डिजेलबाट होइन बिजुलीबाट चल्ने बस । बिहीवार बिजुली बसको उद्घाटन कार्यक्रम भइरहँदा साझा यातायातको कार्यालय पुल्चोकमा पत्रकारको घुइँचो थियो ।
९५ वर्षको उमेरमा पनि साझाका संस्थापक अध्यक्ष तथा वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाको मुहारमा बेग्लै चमक देखिन्थ्यो । उहाँ भने लट्ठी टेक्दै बसको अगाडिको ढोकाबाट चढ्नु भयो । बसको सीटमा बसेर साझाको इतिहासबारे जानकारी दिनुभयो । त्यसपछि साझाका तीन वटा बिजुली बस गुडे ।
बखुण्डोलबाट शिक्षण अस्पताल जान भनेर बस चढ्नु भएकी सिर्जना कपालीलाई सुरुमा यो बिजुली बस हो भनेर थाहा थिएन । बस चढिसकेपछि उहाँलाई नौलो लाग्यो । ‘अरु २ वटा बस गएको देखेँ । नयाँ रहेछ भन्ने लाग्यो । चढिसकेपछि भने एकदमै सजिलो लाग्यो । आवाज पनि छैन । एकदमै रमाइलो लाग्यो ।’
बसको झ्यालबाट बाहिर हेर्दै रमाइ रहनु भएका अर्का यात्रु अस्मित बजगाईँले बिजुली बसमा एकदमै आनन्द भएको अनुभव सुनाउनुभयो । उहाँ साझाले किनेको बस उपलब्ध गराउने दीगो कम्पनीसँग सम्बद्ध हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘एक वर्ष अगाडि टेण्डर गरे पनि बस कस्तो हुन्छ भन्ने अनुभव गर्न पाइएको थिएन । हामीले गरेको कामको परिणाम अहिले आएर बाटोमा कुदेको देख्न पाउँदा एकदमै खुशी लागेको छ ।’
अबको केही समयपछि नेपालमा विद्युतीय ऊर्जा खपतभन्दा बढी हुने र नेपालको अर्थतन्त्रमा सुधार गर्न तथा वातावरण स्वच्छ राख्न पनि बिजुली गाडीहरु चाहिने उहाँको तर्क छ । उहाँ भन्नुहुन्छ, ‘अर्थतन्त्र, वातावरण अनि सडकमा हुने जाम हटाउन पनि साझाको बिजुली बसको सुरुआतलाई क्रान्तिकारी नै भन्नुपर्छ ।’
नेपालमा बिजुली गाडी चाहिन्छ भनेर अभियान चलाउनेमध्ये एक हुनुहुन्छ, विजयमान शेरचन । पेसाले मेकानिकल इञ्जिनियर शेरचनको नेतृत्वमा करिब २९ वर्ष अगाडि नेपालमा बिजुलीबाट चल्ने सफा टेम्पाको सुरुआत भएको थियो ।
साझाको बिजुली बसको उद्घाटनमा पुग्नुभएका उहाँले भन्नुभयो, ‘साझाको यो कदम एकदमै राम्रो छ । गर्नुपर्ने थियो । ठिक छ । तर, हामी यतिमा सीमित हुनुहुन्न ।’
अपाङ्ग मैत्री समेत रहेको साझाको बिजुली बसमा शारीरिक रुपमा अशक्त हिरामणि खनाल पनि पुल्चोकबाट चढ्नुभयो । बिजुली बस चढिसकेपछि उहाँले भन्नुभयो, ‘पहिले पहिले बूढानीलकण्ठ जाँदा अप्ठ्यारो महसुस हुन्थ्यो । तर, आज भने आनन्द भएको छ । रेल चढे जस्तो लागिरहेको छ ।’
पहिले पनि साझाले अपाङ्ग मैत्री बस सञ्चालन गरेको थियो । तर, अपाङ्ग मैत्री भने पनि त्यसमा चढ्न र ओर्लन झन्झट थियो । अन्य गाडीले अपाङ्ग देख्ने बित्तिकै नरोक्ने, नचढाउने गरेको गुनासो गर्दै खनाल भन्नुहुन्छ, ‘अरु गाडीले अपाङ्ग भनेपछि गाडी चढाउँदैनन् । साझाले चढाउने गरेको थियो । अब त अपाङ्गमैत्री बिजुली बस भएपछि एकदम सजिलो भएको छ ।’
महिला चालक तथा परिचालक
साझाको बिजुली बस महिला चालकले गुडाउँछन् । बसको परिचालक पनि महिला नै राखेको छ साझाले । चालकमध्येकी एक हुनुहुन्छ हर्मिता श्रेष्ठ । उहाँ पहिला नयाँ बसपार्क लगनखेल रुटमा साझाको डिजेल गाडी चलाउनुहुन्थ्यो। बिजुली बस चलाउन उहाँले ७ दिनको तालिम पनि लिनुभयो ।
बिजुली बसको चालक हुन पाएकोमा एकदमै खुशी देखिनु भएकी श्रेष्ठ भन्नुहुन्छ, ‘अर्को गाडीभन्दा यो धेरै फरक छ । चलाउन पनि एकदमै सजिलो छ ।’ लगनखेल–बूढानीलकण्ठ रुटकै परिचालक मिना ओलीलाई पनि डिजेल गाडीभन्दा बिजुली बस नै ठिक लागेको छ । पहिले साझाको डिजेल गाडीमा सहचालकको काम गर्ने उहाँ भन्नुहुन्छ, ‘एकदम रमाइलो लागेको छ । टेष्ट ड्राइभमा थिएँ । अर्को गाडीमा आवाज धेरै आउँछ यसमा भने आवाज आउँदैन । बस्न पनि सजिलो र आरामदायी छ । यसमा प्यासेन्जर बोलाउन माइक छ । मुखले कराउनु पर्दैन ।’
साझाले ३ वर्ष अगाडि नै बिजुली बस चलाउन भनेर लुम्बिनी विकास कोषसँग ४ वटा बस ल्याएको थियो । भैरहवा विमानस्थलको लागि भनेर ल्याइएका यी बस विमानस्थल नबनेका कारण साझाले ल्याएको हो । ठूलो समारोह गरेर साझाले उद्घाटन समेत गर्यो । तर, कोषले सरकारसँग कागजात पास गर्न नसकेका कारण साझाले बस चलाउन पाएन । ३ वर्षअघिको साझाको यो रहर सरकारले ३ अर्ब रुपैयाँ दिएपछि बल्ल पूरा भएको छ ।
साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित भन्नुहुन्छ, ‘मोटरसाइकल र गाडीबाट मानिस बसमा आउन् भन्ने हाम्रो उद्देश्य हो । त्यसैले हामीले परीक्षणको रुपमा बिजुली बस ल्याएका हौँ ।’ बिजुलीबाट चल्ने साना निजी गाडीहरु काठमाण्डौमा प्रशस्तै देखिन्छन् । सार्वजनिक ठूला बिजुली गाडीहरु चलाउनुपर्छ भन्ने बहस र आवश्यक्ता महसुस भइरहँदा साझाले यसको सुरुआत गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।