पढाइ कृषि, कृषि विकास बैंकमा जागिरे, अवकाशपछि पनि कृषिमै

 असार २६, २०७९ आइतबार १६:२६:११ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – २९ वर्षसम्म कृषि विकास बैंकमा जागिर खानुभयो लमजुङ भोटेओडारका प्रमोद कुँवरले । जागिरकै क्रममा उहाँले लमजुङका साथै मनाङमा पनि बैंकको प्रमुख भएर पनि भूमिका निर्वाह गर्नुभयो ।पारिवारिक पृष्ठभूमि कृषि । पढाइ पनि कृषि । कृषि विकास बैंकमै जागिर । पहिलेदेखि नै कृषिमै केही गर्नुपर्छ भन्ने उहाँको सोच । त्यसैले अवकाशपछि नै उहाँ कृषि उद्यममा लाग्नुभयाे । पहिले दुई/चार वटा टनेलमा गोलभेँडा फलाउँदै आउनुभएका कुवँरले अहिले भने नयाँ 'बायो फ्लोक' प्रविधिमा माछापालन गर्नुभएको छ । 'बायोफ्लोक' (ब्याक्टेरियाको झुन्डमा आधारित) माछापालन हो ।

सुन्दरबजार नगरपालिका ८ भोटेओडारमा टनेल बनाइ टनेलभित्र दुई वटा प्लास्टिक पोखरी बनाइ माछापालन गर्नुभएको छ प्रमोदले  । टनेलभित्र १०/१० घनमिटरको प्लास्टिक पोखरी बनाइ उहाँले माछापालन सुरु गर्नुभएको हो ।

'बायो–फ्लोक' प्रविधि : थोरै जग्गा, पानीमा माछा पाल्न सकिने 

संरचना निर्माणपछि गएको जेठ २१ गते उहाँले चितवनबाट ‘पंगास’ जातको माछाको भुरा ल्याइ माछापालन गर्नुभएको हो । नयाँ प्रविधिमा माछा पाल्दा किसानलाई फाइदैफाइदा हुन्छ । तुलनात्मक रूपमा कम श्रम र लगानीमा धेरै प्रतिफल लिन सकिने भएकाले नयाँ प्रविधि अपनाइ माछापालनमा लागेको उहाँ बताउनुहुन्छ । 

‘नयाँ ढङ्गले व्यावसायिक कृषि गरौँ भन्ने थियो । युट्युब हेर्दै जाँदा 'बायो फ्लोक' प्रविधिमा माछापालन गरेको देखेँ । यसमा चासो लाग्यो’, उहाँले भन्नुभयो, ‘त्यसैले परीक्षणको रूपमा यो प्रविधिमा माछापालन सुरु गरेको हुँ । राम्रै भइरहेको छ ।’ 

पुरानो ढङ्गबाट माछा पाल्दा रोग नियन्त्रणमा सकस हुनुका साथै धेरै जग्गा र पानी चाहिन्छ । तर थोरै जग्गा, थोरै पानीमा पनि ‘बायो–फ्लोक’ प्रविधिबाट माछापालन गरी मनग्य आम्दानी लिन सकिने सम्भावना उहाँ देख्नुहुन्छ ।     

‘सुरुमा केही खर्चिलो त छ । तर पनि थोरै जग्गा, पानीमा पनि माछापालन गर्न सकिन्छ । यो प्रविधि अपनाएर घर–आँगन, करेसाबारीमै  माछापालन गर्न सकिन्छ । राम्रो आम्दानी हुन्छ’, टनेलभित्र प्लास्टिक पोखरीमा पालिएका माछालाई दाना हाल्दै प्रमोदले भन्नुभयो ।

प्लास्टिक टनेल, दुई वटा प्लास्टिकको माछापोखरी निर्माण, माछाका भुरा किन्दा, पोखरीमा अक्सिजन प्रवाहका लागि मोटर किन्दा तीन लाख रुपैयाँ हाराहारीमा खर्च भएको छ । 

उहाँले प्रति पोखरी पाँच सय माछाका भुरा पाल्नुभएको छ । पोखरीमा एक हजार माछाका भुरा पालिएका छन् । पाक्षिक रूपमा माछाको तौल लिने गरिएको छ । ‘तौलकै आधारमा दाना खुवाउनुपर्छ । हरेक १५÷१५ दिनमा माछाको तौल लिइन्छ । त्यहीअनुसार दाना हालिन्छ’, उहाँले भन्नुभयो । 

पोखरीमा पालिएका माछालाई मोटरको सहायताले पाइपबाट अक्सिजन दिने व्यवस्था गरिएको छ । उहाँको दुई वटा पोखरीमा दुई हजार माछाका भुरा पाल्न सक्ने क्षमताका छन् । 

उत्पादन स्थानीयस्तरमै खपत हुने

‘परीक्षणकै क्रममा रहेकाले सुरुमा थोरै सङ्ख्यामा माछाको भुरा राखेको छु । आउँदो कात्त्किमा उत्पादन सुरु हुन्छ । उत्पादन बिक्रीबाट पाँच लाखको कारोबार हुने र दुई लाख रुपैयाँसम्म कमाइ हुने आशा छ,’ टनेलभित्रै बोटमा पाकेको गोलभेँडा टिप्दै उहाँले भन्नुभयो । 

उत्पादन सुरु भएपछि स्थानीयस्तरमै माछा खपत हुने प्रमोद बताउनुहुन्छ । ‘बजारमा माछाको माग बढ्दो छ । पैसा तिरेर पनि उपभोक्ताले स्वस्थ ताजा, माछा खान नपाएको अवस्था छ । उत्पादन यहीँ खपत हुनेमा ढुक्क छु’, प्रसिद्ध कृषि तथा पशु फर्मका सञ्चालकसमेत रहनुभएका कुवँरले भन्नुभयो । 

उहाँका अनुसार पंगास जातको माछा ‘बायो फ्लोक’ प्रविधिमा सुहाउँदो छ । माछाका परिकार पारखीका लागि पनि यो रोजाइँ बन्ने गरेकाले यसको माग उच्च छ । यो प्रविधमा लमजुङको बेसीसहर नगरपालिकामा माछापालन गरिएको छ । सुन्दरबजार नगरपालिकामा भने सम्भवतः आफ्नै पहिलो प्रयास रहेको उहाँ बताउनुहुन्छ ।

‘कृषि उद्यम गरे पर्दैन विदेशिन’ 

‘नयाँ प्रविधिमा माछापालन गरेको छु । फर्ममा धेरै आउनुहुन्छ । यसबारे जिज्ञासा राख्न्ुहुन्छ’, उहाँले भन्नुभयो, ‘यसै प्रविधिबाट घर–गाउँमै माछापालन गरे राम्रो हुन्छ ।’ उहाँले माछापालनको साथमा कागती खेती, गोलभेँडा खेती गर्नुभएको छ । एभोकाडो, ड्रागन फ्रुट पनि केही सङ्ख्यामा लगाउनुभएको छ । 

बिहानदेखि साँझसम्म उहाँ कृषि कर्ममै रम्नुहुन्छ । जाँगर, उत्साह भएमा देशमै कृषि उद्यम गरी राम्रो आर्जन गरी जीवन चलाउन सकिने उहाँले बताउनुभयो । ६४ वर्षका प्रमोद सुझाउनुहुन्छ, ‘यहीँ आर्थिक उपार्जनका अथाह सम्भावना छन् । युवाहरूले जाँगर, उत्साह र प्रतिबद्धता लिएर देशमै बसी केही न केही कृषि उद्यम गर्न सके पैसाका लागि विदेशिनु पर्दैन ।’ 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया