गभर्नरलाई ‘दिमाग’ मा जे लाग्याे त्यही माैद्रिक नीति आउँदैन : अधिकारी

 असार २६, २०७९ आइतबार १९:१२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले देशकाे अर्थतन्त्रको माग र समयअनुसार मौद्रिक नीति आउने दाबी गर्नुभएको छ । 

आज आइतवार काठमाण्डाैमा नेपाल उद्योग वाणिज्य महासङ्घले आउँदाे आर्थिक वर्षकाे मौद्रिक नीतिका विषयमा आयाेजना गरेकाे कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्ताे बताउनुभएको हो । उहाँले देशकाे अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले चुनौतीपूर्ण अर्थतन्त्र र बाह्य क्षेत्र व्यवस्थापन गर्ने गरी नीति आउने बताउनुभयो । 

गभर्नर वा निजी क्षेत्रको मागभन्दा पनि देशकाे अर्थतन्त्रको मागलाई सम्बोधन गरी मौद्रिक नीति ल्याउनुपर्ने उहाँले बताउनुभयो । उहाँले अर्थतन्त्रलाई स्थिर बनाउनुपर्ने अवस्था रहेको भन्दै अर्थतन्त्र अस्थिर भए समस्या आउने भएकाले अर्थतन्त्रलाई सुधार गर्ने गरी मौद्रिक नीति आउने स्पष्ट पार्नुभयो । 

गभर्नर अधिकारीले अहिलेको अर्थतन्त्रको मागअनुसार मौद्रिक नीति ल्याउने विषयमा राष्ट्र बैंकको टिमले तथ्याङ्क विश्लेषण गरिरहेको बताउनुभयो । उहाँले निजी क्षेत्रले व्यवसाय सहज हुने गरी नीतिको अपेक्षा गर्नु राष्ट्र बैंकले स्वाभाविक रूपमा लिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अहिलेको अर्थतन्त्रको अवस्था सुहाउने मौद्रिक नीति ल्याउँदा हामी सबैले केही सहनुपर्ने हुन सक्छ । सहँदा अर्थतन्त्र ठिक ठाउँमा जान सक्छ भने सहन गाह्रो मान्नु हुँदैन । समय र अर्थतन्त्रको माग के हो ? त्योअनुसारको नीति आउने हो । गभर्नर महाप्रसाद अधिकारलाई दिमागमा जे लाग्छ त्यही माैद्रिक नीति आउने होइन । निजी क्षेत्रले के माग गर्नुहुन्छ, त्यो आउने होइन । नीतिमा राष्ट्र बैंक स्पष्ट छ । अर्थतन्त्रको मागअनुसार मौद्रिक नीति ल्याउँदा कुनै पनि क्षेत्रलाई सम्बोधन गर्नुपर्ने हुन्छ ।’

गभर्नर अधिकारीले अर्थतन्त्र सुधार गर्दा सरकारको लक्ष्यअनुसार राजस्व सङ्कलन नहुने, व्यवसायीहरू केही मर्कामा पर्ने सङ्केत गर्नुभयो । उहाँले महासङ्घले दिएका सुझावलाई मौद्रिक नीतिमा समेट्ने प्रतिबद्धता जनाउनुभयो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया