नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले आज उच्चस्तरीय राजनीतिक भेटघाट गर्दै

 भदौ २८, २०७९ मंगलबार ७:२५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय राजनीतिक भेटघाट गर्दै हुनुहुन्छ । उहाँले आज प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

नयाँ बानेश्वरमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेनासँग बिहान ९ बजे भेटवार्ताको तालिका छ । यस्तै, उहाँले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई पनि सङ्घीय संसद् भवनमै भेट्ने तयारी छ । त्यसपछि परराष्ट्रमन्त्री नारायण खड्कासँग सोल्टी होटलमा भेटवार्ता हुनेछ भने त्यसपछि प्रधानमन्त्री देउवालाई भेट्न उहाँ बालुवाटार जाने तयारी छ । उहाँले भोलि दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा भेट्ने कार्यक्रम छ भने त्यसअघि बिहान भक्तपुरको भ्रमण गर्ने तालिका छ ।

ली पर्सि बिहीवार फर्किनु हुनेछ । उहाँको सुरक्षाका लागि भन्दै काठमाण्डौमा सुरक्षा व्यवस्था कडा पारिएको छ । ६७ जनाको टोलीको नेतृत्व गर्दै हिजो नेपाल आइपुगेका जनकंग्रेस स्थायी समितिका अध्यक्ष लीले हिजै सभामुख अग्निप्रसाद सापकोटासित भेटवार्ता गर्नुभएको थियो ।

भेटका क्रममा नेपाल र चीनबीच संसदीय सहकार्य गर्ने अन्तरसंसदीय सहयोग सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । संसद् भवन नयाँ बानेश्वरमा आयोजित विशेष समारोहमा ६ बुँदे समझदारीपत्रमा सभामुख सापकोटा र अध्यक्ष लीले हस्ताक्षर गर्नु भएको थियो ।

भेटमा सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनु भएको थियो भने ली ले दशैँअघि नै नेपालसँग जोडिएका नाकालाई सहज बनाउने बताउनु भएको थियो । यस्तै, भेटमा केरुङ– काठमाण्डौ रेलमार्ग निर्माणलाई अघि बढाउनेलगायत विषयमा पनि छलफल भएको छ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया