४ करोडभन्दा धेरै सम्पत्तिको स्रोत नखुलेपछि सिँचाइ विभागका तत्क...
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपामा हुँदा आफूलाई नै भस्म पार्ने षड्यन्त्र गरेको आरोप लगाउनुभएको छ ।
बिहीवार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आफूले पार्टी एकता गर्न बलियो साथ र समर्थन दिए पनि आफूलाई छुरी रोपेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयाे, ‘मैले प्रचण्डलाई आउनुस् मित्र एकीकृत पार्टी बनाऔँ, बलियो वामपन्थी आन्दोलन बनाऔँ, बलियो कम्युनिस्ट पार्टी बनाऔँ, समाजवादतर्फ अघि बढाऔँ, एकताबद्ध भएर अघि बढाऔँ भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ । मैले अँगालो हालेको थिएँ प्रचण्डलाई हात मिलाएको मात्रै होइन । तर प्रचण्ड हात लुकाइलुकाइ हिँड्थे । म अलि होसियार त थिएँ, नभन्दै मैले अँगालो मार्ने प्रचण्डले ग्वाम्म छुरी रोपे । म पार्टी एकता जोगाऔँ भन्ने प्रचण्ड मलाई साधारण सदस्यबाट नै निकाल्ने कस्तो विषालु दाँत पालेर बसेको रहेछु । कस्तोसँग मैले एकता गरेको रहेछु । एकता अभियानका लागि मैले दिएको बहुमत, मैले दिएको वरदान मेरै टाउकोमा हात राखेर मलाई नै भस्मपार्न खोज्ने ? कत्रो धोका, कत्रो बेइमानी ।’
अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र पहिल्यै नेकपा एमालेसँग मिलिसकेको भन्दै अहिले प्रचण्ड गुटले मात्रै पार्टी छोडेर गएको बताउनु भयो । उहाँले आन्दोलन धोकाबाट कहिल्यै सफल नहुने बताउनुभयो ।
अध्यक्ष ओलीले गठबन्धन शब्दबाट अहिले नागरिक आजित भएको जिकिर गर्नुभयाे । उहाँले गठबन्धनलाई देश बिगार्ने, लोकतन्त्र सिध्याउने, भ्रष्टाचार गर्ने र भ्रष्टाचारलाई प्रश्रय दिने, नातावादी, आफन्तवादी, परिवारवादी र आफ्ना स्वार्थमा कुदेको समूहकाे संज्ञा दिनुभयो । उहाँले अहिलेको गठबन्धनको हैसियत एमालेसँग सिधा हेर्न सक्ने नरहेको दाबी गर्नै आउँदाे चुनावमा ५० लाख मत ल्याउने गरी तयारी थाल्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपाली भन्ने आँट नेकपा एमालेबाहेक नेपालका कुनै राजनीतिक दल र नेता कार्यकर्तामा नभएको बताउनुभयो । उहाँले बाहिरबाट भ्रष्टाचार हुन नहुने भन्ने तर भित्रभित्रै भ्रष्टाचार गर्ने नीति अन्य दलको नीति भएको तर नेकपा एमालेको नीति नरहेको जिकिर गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।