न्यूयोर्क टाइम्सले लुम्बिनीलाई सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्...
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताउनुभएको छ ।
नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिवार (आज) काठमाण्डौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष भट्टराईले नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबीच तानातान भइरहेको बताउनुभयो । उहाँले भूराजनीतिक संकटका कारण देशमा संघीयतालाई कमजोर पार्ने, अर्थतन्त्रलाई कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको बताउनुभयो । अध्यक्ष भट्टराईले संकटलाई ध्यान दिँदै देशलाई नयाँ दिशा दिलाउनको निम्ति अहिलेदेखि नै तयारी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले केही समय यता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएको दाबी गर्नुभयो ।
अध्यक्ष भट्टराईले भन्नुभयो, ‘यो निर्वाचनपछि नयाँ राजनीतिक ध्रुवीकरण हुँदै अग्रगमनतर्फको दिशामा अघि बढ्नेछ । किनकी पुराना शक्तिहरुले यो देशलाई झन बर्बादीतिर लिएर जाँदैछन् । जुन भूराजनीतिक संकट चीन अमेरिकाबीचको तानातान बढ्दैछ । यसले देशमा फेरि नयाँ ढंगले अराजकता ल्याउने र संघीयतालाई झनै कमजोर पार्ने, अर्थतन्त्रलाई झनै कमजोर बनाउने काम गर्दैछन्, ठूलो संकट आउँदैछ । त्यो संकटलाई थामेर देशलाई नयाँ दिशा दिलाउनको निम्ति हामीले अहिलेदेखि नै तयारी गर्न आवश्यक छ । त्यसैले यो निर्वाचनलाई सामान्य नठानीकन अग्रगामी, प्रगतिशील, समाजवादी शक्तिहरुलाई बलियो बनाउने गरेर हामी अघि बढौं । केही समय यता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएकै हो ।’
अध्यक्ष भट्टराईले तत्कालीन केपी शर्मा ओलीको सरकारले संघीयताको सबलीकरण गर्नुको सट्टा कमजोर बनाउने प्रयास गरेको आरोप लगाउनु भयो । उहाँले हालै मात्र पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर पूर्ण असंवैधानिक कदम चालेको आरोप लगाउनु भयो । अध्यक्ष भट्टराईले राज्यका सबै अंगहरुमा बेथिति भित्रिएको र यस्ता बेथितिले संघीय लोकतान्त्रिक गणतन्त्र नै गम्भीर खतरामा परेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि जारी भएको दोस्रो संविधान सभाबाट जुन सरकार बन्यो, जुन नेतृत्व बन्यो, तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीजी, र उहाँको टिमले यो उपलब्धिहरुको रक्षा गर्नुको साटो, सबलीकरण गर्नुको साटो धमिराले झैँ भित्रभित्रै ती संस्थाहरुलाई कमजोर पार्ने, जुन प्रयत्न गर्नुभयो, त्यो प्रक्रिया अहिले पनि रोकिएको छैन । अस्ति भर्खर राष्ट्रपतिबाट चालिएको पूर्ण असंवैधानिक कदमदेखि लिएर हाम्रो न्यायालय भित्रका विकृति, विसंगतिको जुन खालको उद्घाटन भएको छ, र प्रायः सबै अंगहरु, राज्यका सबै अंगहरु बेथितिपूर्ण ढंगले अत्यन्त अराजक ढंगले जसरी चलिरहेका छन्, त्यसले हामीले यत्रो सिंगो पुस्ताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र गम्भीर प्रकृतिको खतरामा छ । त्यसैबिरुद्ध लड्न नै हामीले यो गठबन्धन बनाएर यहाँसम्म आइपुगेका छौँ । हामी अत्यन्त गम्भीर अवस्थामा छौँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।