न्यूयोर्क टाइम्सले लुम्बिनीलाई सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्...
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उच्चतम तहमा बस्ने व्यक्तिहरूले नै संविधानलाई मिच्ने गरेको बताउनुभएको छ ।
आइतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै उच्चतम तहमा बस्ने व्यक्तिहरूले समेत संविधानलाई मिच्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको डुङ्गामा प्वाल पार्ने काम गरेको आरोप लगाउनुभयो । उहाँले सङ्घीयतालाई मिच्नेहरूलाई रोक्नका लागि उन्नत प्रकारको लोकतन्त्रको विकास गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उच्चतम तहमा बस्ने व्यक्तिहरूले समेत संविधानलाई मिचिदिने काम भइरहेको छ, कोही पनि जिम्मेवारी देखिँदैन । भेटेसम्म यो शक्ति र सङ्घीय लोकतान्त्रिक गणतन्त्रकाे डुङ्गामा प्वाल पार्दिने प्रवृत्ति देखिएको छ, त्यसलाई रोक्नका निम्ति पनि लोकतन्त्रको सदृढीकरणको विषय महत्त्वपूर्ण छ । उन्नत प्रकारको लोकतन्त्रको विकास गर्न जरुरी छ । अमेरिकालगायतका देशका थोत्रा प्रकारको लोकतन्त्र ल्याएर बसिरहने ? हाम्रोजस्तो विविधताको देशमा सङ्घीयता नभइ हुँदैन । हामीले कसैलाई दोष दिने होइन, सङ्घीयता राम्रोसँग बुझेनौँ र त्यस ढङ्गले काम गरेनौँ भन्ने कुरा सत्य हो ।’
अध्यक्ष भट्टराईले ज्ञान विज्ञानलाई विकसित गर्ने संस्थालाई बेवास्ता गरेर देशले प्रगति गर्न नसक्ने जिकिर गर्नुभयो । उहाँले छिपछिपे र टिपटिपे गफ दिने नेता, आफ्नो एकाङ्की विज्ञता र प्रशासनिक र नीति निर्माणका ठेक्का लिने कर्मचारीतन्त्र, तीन वर्षमा तीन सय दिन ताला लगाएर तलब–भत्ता खाइरहने विश्वविद्यालयका अगुवा, नियुक्तिको खोजीमा दल र नेताका ढोका चार्ने बुद्धिजीवी रहेसम्म देशमा ज्ञान उत्पादनको खडेरी हुने दाबी गर्नुभयो ।
अध्यक्ष भट्टराईले ज्ञान र नीति उत्पादन गर्ने संस्थाहरू नोकरसाही नियन्त्रण र हस्तक्षेपबाट मुक्त हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयलाई 'सेन्टर फर एक्सलेन्स' को रूपमा विकास गर्ने अवधारणा, नीति अनुसन्धान प्रतिष्ठानको परिकल्पना आफूले गरेको दाबी गर्नुभयो । अध्यक्ष भट्टराईले आफूले असोज १ गतेलाई विज्ञान दिवस मनाउने सुरुवात गरे पनि अहिले नागपञ्चमी भन्दै सर्प पूजा गर्न लाग्ने तर विज्ञान दिवस मनाउन छोडेको बताउनु भयो ।
अध्यक्ष भट्टराईले नेपालमा राष्ट्रिय अनुसन्धान कोष छुट्टै स्थापना गर्न आवश्यक रहेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।