न्यूयोर्क टाइम्सले लुम्बिनीलाई सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्...
पुस २८, २०८१ आइतबार
काठमाण्डाै - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुँदैछ । प्रतिनिधि सभाका एक सय ६५ र प्रदेश सभाका तीन सय ३० निर्वाचन क्षेत्रको लागि उम्मेदवारी दर्ता हुन लागेको हो ।
सबै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले तोकिएको समयभित्रै उम्मेदवारी दर्ता गर्न दल तथा उम्मेदवारलाई आग्रह पनि गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार मनोनयनका लागि उम्मेदवारहरुको भौतिक उपस्थिति अनिवार्य हुने छैन ।
दलको आधिकारिक पत्र, वारेशनामा र मतदाता परिचय पत्रको निस्सा भए मनोनयन गर्न सकिने व्यवस्था निर्वाचन अधिकृतको कार्यालयमा गरिएको उहाँले बताउनुभएको छ । आयोगले योग्यता पुगेका सबै उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी मनोनयनका लागि आवश्यक सहजीकरण गर्ने बताएको छ ।
निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि २५ जनाभन्दा धेरै निर्वाचन अधिकृतको कार्यालयमा नजान पनि राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेको छ । ७७ वटै जिल्लामा निर्वाचन कार्यालय स्थापना गरेर सबै सामग्रीसहित निर्वाचन अधिकृत र कर्मचारी तयारी अवस्थामा रहेको आयोगले जनाएको छ ।
कागजात के-के चाहिन्छ ?
आयोगले मनोनयन पत्रका साथ विभिन्न कागजात पेस गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगका अनुसार, मनोनयन पत्रका साथ उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचय पत्रको प्रतिलिपि, प्रतिनिधि सभाको सदस्य उम्मेदवारको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य उम्मेदवारको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ ।
उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सासमेत संलग्न हुनुपर्ने आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवारका लागि १० हजार र प्रदेश सभा सदस्य उम्मेदवार हुनका लागि पाँच हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर, तर महिला र दलित वा अल्पङ्ख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा त्यस धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ ।
यस्तै आफ्नो चल, अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, शेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको समेत सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा पेस गरेको सम्पत्ति विवरण पेस गर्नुपर्ने आयोगले जनाएको छ । आफू प्रचलित नियम कानुनअनुसार उम्मेदवार हुन योग्य भनी भरिएको वैयक्तिक विवरण फारमसमेत संलग्न हुनुपर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।