प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता चल्दै

 असोज २३, २०७९ आइतबार ११:२८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भइरहेको छ । प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० निर्वाचन क्षेत्रका लागि उम्मेदवारी दर्ता भइरहेको हो ।

सबै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

दाङमा मनाेनयन दर्ता गरिँदै

आयोगले तोकिएको समयभित्रै उम्मेदवारी दर्ता गर्न दल तथा उम्मेदवारलाई आग्रह पनि गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ता सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट मात्रै हुने स्पष्ट पारेको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ र प्रादेशिक कार्यालयहरुबाट मनोनयन दर्तामा आवश्यक सहजीकरण मात्रै हुने स्पष्ट पार्नुभएको हो ।

केही दिनयता अविरल वर्षा, बाढीपहिरो लगायत विपद्का कारण कतिपय ठाउँमा आवतजावतमा कठिनाइ हुने भएकाले दलहरुलाई मनोनयन दर्तामा आयोगले सहजीकरण गर्न लागेको हो । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले मनोनयन दर्ताको लागि चाहिने औपचारिक पत्र लगायतका अत्यावश्यक कागजात सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय पठाइदिने काम मात्रै गर्न सक्ने उज्यालाेलाई बताउनु भएकाे हाे ।

निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि २५ जनाभन्दा धेरै निर्वाचन अधिकृतको कार्यालयमा नजान पनि राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेको छ । ७७ वटै जिल्लामा निर्वाचन कार्यालय स्थापना गरेर सबै सामग्रीसहित निर्वाचन अधिकृत र कर्मचारी तयारी अवस्थामा रहेको आयोगले जनाएको छ । आयोगले मनोनयन पत्रका साथ विभिन्न कागजात पेस गर्नुपर्ने व्यवस्था गरेको छ । 

यस्तै, आयोगले आजै समानुपातिक निर्वाचनतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीको लागि दलहरुले बुझाएको सूचीको अध्ययन गरेर आयोगले  उम्मेदवारकाे अन्तिम सूची सार्वजनिक गरेको हो ।

बन्दसूचीमा प्रदेश र सङ्घका गरी ६ हजार ४ सय ९३ जना उम्मेदवारको नामावली रहेको छ । अब यो सूचीमा रहेका उम्मेदवारले आज प्रत्यक्षतर्फ उम्मेदवारी दिन नपाउने प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो ।

आयोगले प्रतिनिधि सभातर्फ प्रदेश एकमा ६ सय ६१ जना, मधेस प्रदेशमा ९ सय ४८, वाग्मतीमा ८ सय २५, गण्डकी प्रदेशमा ३ सय ६८, लुम्बिनीमा ६ सय ५७, कर्णालीमा २ सय २२ र सुदूरपश्चिम प्रदेशमा ३ सय ७६ जनाको नाम बन्दसूचीमा रहेको जनाएको छ ।

प्रदेश सभासहित बन्दसूचीमा रहने उम्मेदवारको सङ्ख्या ६ हजार ४ सय ९३ जना  रहेको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया