देशभर उत्साहजनकरूपमा मनोनयन दर्ता, उम्मेदवारको सूची आजै सार्वजनिक हुने (तस्बिरसहित)

 असोज २३, २०७९ आइतबार १७:२५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि प्रत्यक्षतर्फ देशभर उत्साहजनकरूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधि सभा र तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता शान्तिपूर्ण र उत्साहजनकरूपमा भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । 

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज आइतवार बेलुका ५ बजेसम्मको समय तोकेको थियो । सबै ७७ वटा जिल्लामा स्थापना भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने व्यवस्था थियो । त्यसैअनुसार उम्मेदवारले मनोनयनपत्र दर्ता गरेका छन् । 

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनोनयन दर्ता गर्नुभएको छ । उहाँको वारिसनामामार्फत डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा मनोनयन दर्ता गरिएको हो । प्रधानमन्त्री पत्नी एवम् कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले आज दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा मनोनयन दर्ता गर्नुभएको छ । पार्टीका जिल्ला सचिव हेमराज चटौत प्रस्तावक र पार्टी उपसभापति डिल्लीराज जोशी समर्थक रहनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । 

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा पुगेर प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ । उहाँ आफैँ उपस्थित भएर आज दिउँसो झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराउनुभएको हो । ओली २०७४ सालमा पनि झापा–५ बाट निर्वाचित हुनुभएको थियो । 

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँ गोरखा पुगेर मनोनयन दर्ता गर्नुभएको हो । उहाँको प्रस्तावक नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र समर्थकमा नेपाली कांग्रेस गोरखाका सचिव किशोरजङ थापा रहनुभएको छ । उम्मेदवारी दर्ताको क्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो । भट्टराई र श्रेष्ठ दुवैको निर्वाचन क्षेत्र गोरखा–२ हो । तर यो निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले प्रचण्डलाई उम्मेदवार बनाएको छ । 

यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्यमा रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट मनोनयन दर्ता गराउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले रौतहट–१ बाट सत्तारूढ गठबन्धनको साथमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर नगरपालिका पुगेर मनोनयन दर्ता गर्नुभयो ।

यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा सदस्य पदका लागि सूर्य चिह्नबाट चुनाव लड्ने गरी उम्मेदवारी दिनुभएको छ । उहाँले मकवानपुर क्षेत्र नम्बर–१ मा सूर्य चिह्नबाट उम्मेदवारी दिनुभएको हो । 

यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य पदका लागि तनहुँ–१ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले पूर्वी नवलपरासी वडा नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । दाङ क्षेत्र नम्बर–१ प्रतिनिधि सभाका लागि नेकपा एमाले केन्द्रीय सदस्य गंगा थारु सत्गौवाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

धेरैजसो मुख्य शीर्ष नेताहरू काठमाण्डौ उपत्यकाबाहिरबाट उम्मेदवार बनेका भए पनि केही चर्चित नेताहरू उपत्यकाबाट उम्मेदवार बनेका छन् । काठमाण्डौ क्षेत्र नम्बर ४ बाट कांग्रेस महामन्त्री गगन थापा उम्मेदवार बन्नुभएको छ । उहाँसँग एमालेका डा. राजन भटराईले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । काठमाण्डौ क्षेत्र नम्बर ५ मा भने एमालेका ईश्वर पोखरेल र नेपाली कांग्रेसका प्रदीप पौडेल उम्मेदवार बन्नुभएको छ । यही क्षेत्रमा रञ्जु दर्शनाले पनि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । काठमाण्डौ क्षेत्र नम्बर १ मा भर्खरै विवेकशील साझा त्यागेर राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्रले उम्मेदवारी दिनुभएको छ । त्यही क्षेत्रबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह र पूर्वप्रहरी अधिकृत रमेश खरेल पनि चुनावी मैदानमा हुनुुहुन्छ । 

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले काठमाण्डौ क्षेत्र नम्बर ७ बाट नेकपा माओवादी केन्द्रको समर्थनमा उम्मेदवारी दिनुभएको छ । माओवादी केन्द्रकी नेत्री पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनुभएको छ । यस्तै एमाले नेता महेश बस्नेतले भक्तपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएको छ । 

आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाअनुसार मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची आज बेलुका नै प्रकाशन हुनेछ । उम्मेदवारको विरोधमा उजुरी दिने समय भाेलि साेमवार बिहान १० देखि दिउँसो ३ बजेसम्म, मनोनयपत्र र उजुरीमाथि जाँच–बुझ गरी निर्णय गर्ने समय भोलि ३ बजेदेखि पर्सि मङ्गलवार बेलुकी ५ बजेसम्म रहेको छ ।

यसैगरी उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते बेलुका ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न २६ गते दिउँसो ४ देखि बेलुका ७ बजेसम्म र मतदान आउँदो मङ्सिर ४ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुनेछ । यसपालिको चुनावमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जना मतदाता छन् ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया